
राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई नियुक्त गरेका छन् । न्यायपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका उनीहरूलाई राष्ट्रपतिले आइतबार न्यायाधीशमा नियुक्त गरेका हुन् ।
उनीहरूलाई प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सोमबार पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले बताए । अब सर्वोच्चमा न्यायाधीशको संख्या प्रधानन्यायाधीशसहित १७ पुगेको छ । सर्वोच्चमा अझै चार न्यायाधीशको दरबन्दी रिक्त छ ।
सर्वोच्चका नयाँ सदस्य निरौला र पाण्डेय दुवै उच्च अदालतका न्यायाधीश हुन् । २५ वर्षसम्म न्याय सेवाका विभिन्न भूमिकामा रही काम गरेका निरौला २०७७ माघ १२ मा उच्च अदालतमा न्यायाधीश नियुक्त हुनुअघि सर्वोच्चको मुख्य रजिस्ट्रार थिए । पछिल्लो समय उनी पाटन उच्च अदालतको मुख्य न्यायाधीश थिए । सात मुख्य न्यायाधीशमध्ये वरिष्ठताक्रममा उनी एक नम्बरमा थिए ।
मौजुदा रोलक्रमअनुसार सर्वोच्चमा टेकप्रसाद ढुंगानाले प्रधानन्यायाधीशबाट २०९३ पुस ५ मा अवकाश पाएपछि निरौलाले त्यसै वर्षको माघ २४ सम्मका लागि १ महिना १९ दिनसम्म न्यायालयको नेतृत्व गर्नेछन् ।
कानुन व्यवसायी पृष्ठभूमिका पाण्डेय २०७० जेठ २७ मा पुनरावेदन अदालतको न्यायाधीश र गत मंसिर ६ मा तुलसीपुर उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त भएका थिए । पाण्डेय ६ वर्ष ५ महिनाका लागि सर्वोच्चमा न्यायाधीश रही २०८७ मा अवकाशमा जानेछन् ।