
जनकपुर । आज बिहान सर्लाहीको मियाखोरमा पोखरीमा डुबेको कारबाट दुई जनाको शव निकालिएको छ।
ईश्वरपुर नगरपालिका वडा नम्बर २ मियाखोर स्थित पोखरीमा बयलबासबाट महोत्तरीको गौशालातर्फ जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार बिहान पोखरीमा डुबेको थियो।
त्यसमा सवार तीन जनामध्ये महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर २ बस्ने अन्दाजी ३१ वर्षीय जनक यादव सकुशल निस्किएका थिए।
गौशाला नगरपालिका–१० का अन्दाजी ३७–३८ वर्षीय कार चालक सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
उनीहरूको खोजीका लागि महोत्तरीमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ताबाट गोताखोर परिचालन गरिएको थियो।
उद्धार र खोजी कार्यका लागि सुरक्षा बेस सागरनाथबाट र इलाका प्रहरी कार्यालयबाट केशरजंगबाटसमेत सुरक्षा फौज खटिएको थियो।
कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा गएर डुबेको स्थानीयले बताएका थिए।
पोखरीमा डुबेको कार भने निकाल्ने प्रयास भइरहेको छ।