सूचना र प्रविधि सेवा निर्यातमार्फत नेपालमा राम्रो आम्दानी 


 सूचना प्रविधि सेवा निर्यात गरेर दुई महिनामा नेपालले ३ अर्ब रुपैयाँ प्राप्त गरेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । राष्ट्र बैंकको गत भदौको मासिक प्रतिवेदनले गत साउन र भदौमा ३ अर्ब ७ करोड रुपैयाँ बराबरको सूचना प्रविधिसम्बन्धी वस्तु तथा सेवा निर्यात भएको छ ।

चालु आर्थिक वर्षको दुई महिनामा यो शीर्षकमा नेपाल भित्रिएको रकम गत वर्षको सोही अवधिको भन्दा ५६ करोड ८४ लाख रुपैयाँ बढी हो । गत आर्थिक वर्षको पहिलो दुई महिनामा सूचना प्रविधिसम्बन्धी वस्तु तथा सेवा निर्यातमार्फत २ अर्ब ५० करोड ४३ लाख रुपैयाँ नेपाल भित्रिएको थियो । पछिल्ला वर्षहरूमा सूचना प्रविधि क्षेत्रले नेपाललाई राम्रो लाभ दिइरहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । खासगरी विभिन्न प्रकारका सफ्टवेयरको विकासमा नेपाली जनशक्ति अब्बल रहेको र उनीहरूको काम (प्रडक्ट) अन्य देशहरूमा निकै रुचाइएको अध्ययन प्रतिवेदनहरूले औंल्याएका छन् ।

यही कारण सूचना प्रविधि, कम्प्युटरलगायत सूचना र सञ्चारसम्बन्धी सेवा निर्यातमार्फत नेपालले राम्रो आम्दानी प्राप्त गरिरहेको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले पनि पुष्टि गरेको छ । प्रतिवेदनका अनुसार गत साउनमा मात्र सूचना प्रविधि, कम्प्युटरलगायत सूचना र सञ्चारसम्बन्धी सेवा निर्यातबाट १ अर्ब १४ करोड रुपैयाँ नेपालले प्राप्त गरेको थियो । इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) ले गत वर्ष गरेको एक अध्ययनले नेपालमा आईटी क्षेत्रले वार्षिक ६७ अर्ब ४६ करोड ५० लाख रुपैयाँ (५१५ मिलियन डलर) आम्दानी गरिरहेको देखाएको छ ।

नेपालमै बसेर विदेशीलाई सूचना प्रविधि सेवा निर्यात गरिरहेका करिब साढे ६६ हजार आईटी जनशक्तिमार्फत वार्षिक ६७ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरिरहेको प्रतिवेदनले देखाएको हो । यसरी नेपाल भित्रिएकोमध्ये धेरै रकम अनौपचारिक स्रोतबाट आएको देखिन्छ । ती कारोबारलाई औपचारिक प्रणालीमा समेट्न सके नेपाललाई धेरै लाभ हुने जानकारहरू बताउँछन् ।

उक्त अध्ययनका आधारमा सन् २०२२ मा सूचना प्रविधि सेवा निर्यातबाट देशको कुल गार्हस्थ्य उत्पादनमा १.४ र वैदेशिक मुद्रा सञ्चितिमा ५.५ प्रतिशत योगदान देखिएको छ । पर्यटन, जलविद्युत्, विप्रेषणसँगै आईटी सेवा निर्यातले पनि नेपालको जीडीपी, विदेशी मुद्रा सञ्चिति र समग्र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको आईआईडीएस अध्ययनको निष्कर्ष थियो ।

नेपालबाट सूचना प्रविधि सेवा निर्यातमार्फत ठूलो आम्दानीको सम्भावना रहेकाले त्यो अवसरबाट लाभ लिनका लागि राज्यस्तरबाट प्रोत्साहनका कार्यक्रम आउनुपर्ने आईआईडीएसकी कन्सल्टेन्ट अमृता शर्माले बताइन् । ‘यो क्षेत्रको विकास र विस्तारका लागि अहिले प्रभावकारी रूपमा काम गरेनौं भने नेपालले फेरि ठूलो अवसर गुमाउने सम्भावना देखिन्छ,’ उनले भने, ‘यो क्षेत्रको विकास र विस्तारका लागि हिजो नै काम गर्नुपर्थ्यो भएन, अब आज ढिलो गर्नु भएन ।’

उक्त प्रतिवेदनले सन् २०२२ सम्म नेपालमा ७ हजार ६ सय ३७ वटा आईटी कम्पनीमध्ये १ सय ६ वटाले सेवा निर्यात गर्ने र यसमा १४ हजार ७ सय २८ फ्रिलान्सरसहित ६६ हजार ५ सय ९ जना आईटीसम्बन्धी काम गर्ने जनशक्ति रहेको जनाएको छ । ‘आईटी क्षेत्रमा भइरहेको तीव्र आम्दानीले अन्तर्राष्ट्रिय बजारमा उच्च गुणस्तरको सेवा प्रदान गर्न नेपाली जनशक्ति सक्षम रहेको पुष्टि गर्छ,’ प्रतिवेदनमा भनिएको छ । नेपालबाट निर्यात हुने आईटी सेवाहरूमा प्रोग्रामिङ, कोडिङ, डिजाइनिङ, सफ्टवेयर डेभलपमेन्ट र टेस्टिङ मुख्य छन् । नेपाली कम्पनीमध्ये ७८ प्रतिशतले प्रोजेक्टमा आधारित काम पाउने गरेका छन् । ७७.८ प्रतिशत नेपाली कम्पनीले अमेरिकाबाट काम लिइरहेको अध्ययनले देखाएको छ । हाल जापान, संयुक्त अरब इमिरेट्स र दक्षिण कोरियाबाट पनि नेपाली आईटी कम्पनी तथा फ्रिलान्सरलाई कामको अवसर आउने गरेको शर्माले जानकारी दिइन् ।

नेपालमा आईटी जनशक्तिको सीप, योग्यता बढाउँदै उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेटलगायत पूर्वाधारमा लगानी गरेर आउटसोर्सिङ र फ्रिलान्सरको उत्पादकत्व वृद्धि गर्न सक्ने प्रतिवेदनले औंल्याएको छ । आईटी क्षेत्रको बढोत्तरीका लागि यस उद्योगको आवश्यकतासँग मिल्ने गरी नीति तर्जुमा गर्न, आईटी स्टार्टअपमाथिको लगानी बढाउन र गुणस्तरीय शिक्षामा जोड दिँदै आईटी क्षेत्रको ब्रान्डिङमा समेत नेपालले पहल गर्न प्रतिवेदनको सुझाव छ ।

उच्च सम्भावना देखिएकै कारण पछिल्ला वर्षहरूमा सरकारले कृषि, ऊर्जा र पर्यटनसँगै सूचना प्रविधि क्षेत्रलाई पनि प्राथमिकतामा राख्दै आएको छ । सरकारका नीति तथा कार्यक्रमहरूमा पनि सूचना प्रविधिले राम्रौ स्थान पाउन थालेको छ । सोही क्रममा सरकारले ‘राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने’ भन्दै कृषि, सूचना प्रविधि र आधुनिक पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र वार्षिक बजेट ल्याएको छ । यी दस्ताबेजमा अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादकत्व वृद्धि, रोजगारीका लागि भन्दै ‘डिजिटलाइजेसन र कृषिमा लगानी दशक’ घोषणा गरिएको छ ।

सरकारका कामकारबाही प्रभावकारी बनाउन र रोजगारी सिर्जना गर्न सूचना प्रविधिलाई उपयोग गर्ने नीति पनि सरकारले लिएको छ । ‘सूचना प्रविधिलाई डिजिटल रूपान्तरणका आधारका रूपमा लिई सामाजिक–आर्थिक रूपान्तरण एवं समृद्धि हासिल गर्न आगामी दशकलाई सूचना प्रविधि दशकका रूपमा अगाडि बढाइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘काठमाडौं उपत्यका र प्रत्येक प्रदेशका उपयुक्त स्थानमा सूचना प्रविधि वर्क स्टेसन सञ्चालन गरी कम्तीमा ५ हजारलाई रोजगारी सिर्जना गर्ने लक्ष्य सरकारको छ ।’

यस्तै, आर्थिक वर्ष २०८१/८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गर्ने योजना पनि सरकारको छ । यसका कृषि उत्पादनमा आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहित गरिनेछ । आगामी दस वर्षमा सूचना प्रविधि क्षेत्रबाट ३० खर्ब रुपैयाँ बराबरको निर्यात गर्ने र ५ लाखलाई प्रत्यक्ष रोजगारी दिने सरकारको योजना छ । नेपाललाई सूचना प्रविधि हबका रूपमा विकास गरिनेछ । अबको दस वर्षमा यो क्षेत्रमा ३० खर्बको निर्यात गर्ने र ५ लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षका रूपमा अघि बढाइनेछ,’ चालु वर्षको बजेटमा भनिएको छ ।

सूचना प्रविधिलाई अर्थतन्त्रको संवाहक क्षेत्रका रूपमा स्थापित गर्दै नवीनतम प्रविधि अवलम्बन गर्न कानुनी आधार तयार गर्ने कार्यक्रम पनि सरकारले अघि सारेको छ । सूचना प्रविधि क्षेत्रमा नीतिगत स्थायित्वसहित उच्च गतिको भरपर्दो र किफायती इन्टरनेट सेवा, डाटा सुरक्षा र बौद्धिक सम्पत्ति संरक्षण प्रदान गर्न गरिनेछ,’ बजेटमा उल्लेख छ, ‘डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरी सोको कार्यान्वयन र अनुगमन गर्न संस्थागत व्यवस्था गरिनेछ ।’ यस आयोजनाका लागि सरकारले ५९ करोड विनियोजन गरेको छ ।

छुटाउनुभयो कि ?

सीमामा कडाइ: १सय नाघेपछि भन्सार, उपभोक्ता असन्तुष्ट

सीमामा कडाइ: १सय नाघेपछि भन्सार, उपभोक्ता असन्तुष्ट

रुपन्देही भारतमा किनमेल गर्न जानेहरु अहिले आक्रोशित भएका छन् । बालेन सरकारले स्थानिय उपभोक्ता लक्षित नियम ल्याएको भन्दै स्...
बुटवलमा एकैदिन ४८ ईरिक्सा ,प्रहरीको कारबाहिमा

बुटवलमा एकैदिन ४८ ईरिक्सा ,प्रहरीको कारबाहिमा

बुटवलबुटवलमा शुक्रबार एकै दिन ४८ जना ईरिक्सा चालक कारबाहीमा परेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलले सवारी दुर्घटना न्यूनिकर...
विकास बजेटमा टुक्रे योजना हटाइने, ‘अबन्डा’ बजेट खारेज गर्ने सरकारको तयारी

विकास बजेटमा टुक्रे योजना हटाइने, ‘अबन्डा’ बजेट खारेज गर्ने सरकारको तयारी

काठमाडौंसरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विकास आयोजनामा थ्रेस होल्डको व्यवस्था गर्ने भएको छ । अर्थ मन्त्रालयले...
टी-२० को दिपेन्द्र र एकदिवसीय क्रिकेटको कप्तानी रोहितले गर्ने

टी-२० को दिपेन्द्र र एकदिवसीय क्रिकेटको कप्तानी रोहितले गर्ने

काठमाडौँनेपाल क्रिकेट संघ (क्यान) ले टी-२० र एकदिवसीय खेलका लागि अलग अलग कप्तान बनाएको छ । दिपेन्द्र सिंह ऐरीलाई टी-२० को कप्...