चार पाङ्ग्रे ईभीको बिक्री तीव्र गतिमा, दुई पाङ्ग्रेको धिमा


नेपालमा चार पाङ्ग्रे  विद्युतीय सवारीसाधन (ईभी) बजार आकाशिँदा दुई पाङ्ग्रेकाे गति भने अत्यन्तै सुस्त छ । चार पाङ्ग्रे प्यासेन्जर गाडीको बिक्रीमा ईभीले ७५ देखि ८० प्रतिशत हिस्सा लिँदा स्कुटर तथा मोटरसाइकलको क्षेत्रमा भने ६ प्रतिशत बजारमा मात्रै विद्युतीय सवारीसाधनले लिन सकेको छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा २९ अर्ब ४७ करोड मूल्यका ११ हजार ७ सय युनिट चार पाङ्ग्रे ईभी नेपाल भित्रिएको देखिन्छ । नेपालमा प्रिमियम ईभी ‘स्काइवेल’ भित्र्याएको जी मोटर्सका प्रबन्ध निर्देशक तथा नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका सदस्य कैलाशबाबु गेलाल नेपालमा नयाँ सवारी आयात हुँदा करिब ७५ देखि ८० प्रतिशत सवारी ईभी भएको बताउँछन् ।

‘नेपालमा चार पाङ्ग्रे सवारीसाधनको मार्केट अहिले वार्षिक करिब १५ हजार युनिट बराबर छ, त्यसमा पनि ११ हजारभन्दा बढी ईभी नै आयात भएको छ,’ गेलालले भने ।

तर, सोही  विवरण दुई पाङ्ग्रे सवारीमा हेर्ने हो भने ईभीमा करिब ६ प्रतिशत मात्रै छ । गत आवमा ८३ करोड ४० लाख ७७ हजार रुपैयाँ मूल्यका गत आव ७ हजार ७ सय ४७  युनिट बराबर दुई पाङ्ग्रे ईभी आएको थियो । संख्यात्मक हेर्ने हो भने यो जम्मा ६ प्रतिशत मात्रै हुन्छ । नेपालमा वार्षिक १ लाखभन्दा बढी नयाँ दुई पाङ्ग्रे सवारीसाधन बजार आउँछन् ।

२ पाङग्रे सवारी साधनमा आकर्षण किन कम ?

नाडा अटोमोबाइल एसोसिएसनको दुई पाङ्ग्रे समिति संयोजक अभिक ज्योति नेपालको वातावरण अनुसार दुई पाङ्ग्रे ईभीमा भन्दा चार पाङ्ग्रेमा आकर्षण बढी भएको बताउँछन् ।

सिटी राइड बाहेक अन्य स्थानका लागि अनुकूल नहुँदा चार पाङग्रेको तुलनामा दुई पाङग्रे सवारीसाधनमा आकर्षण नभएको ज्योतिको तर्क छ ।

‘ईभी मोटरसाइकल, स्कुटरभन्दा पनि ५ सय वाट, ३ सय वाटको मोटरजडित साइकलमा आकर्षण बढी देखिन्छ । यसमा दुई कुराले प्रभाव पारेको छ, एउटा रेन्ज हो भने अर्को मूल्य,’ ज्योतिले अनलाइनखबरसँग भने ।

नेपालमा अहिले स्कुटर, मोटरसाइकल २–३ हजार वाटभन्दा माथिको चलिरहेको छ । ‘दुई पाङ्ग्रे सवारीसाधनको जम्मा ६ प्रतिशत मात्रै ईभीमा जाँदा त्यसमा पनि ४० प्रतिशतभन्दा बढी मोटर जोडेको साइकल नै देखिन्छ,’ उनी भन्छन् ।

नेपालमा दुई पाङग्रे ईभी कम चल्नुको मुख्य कारण भूगोल पनि रहेको उनको तर्क छ ।

‘नेपालमा दुई पाङ्ग्रेको मोटर त पिकअप दिन सक्ने नै छ । तर, यसको रेन्ज कम भयो । जुन रूपमा चार पाङ्ग्रे सवारीसाधनको माइलेज छ, त्यो किसिमको दुई पाङ्ग्रेमा हुन सकेको छैन,’ ज्योतिले भने, ‘स्कुटर, बाइक ईभीमा रेन्ज नै राम्रो छैन । अलि राम्रो रेन्ज छ भने त्यो धेरै नै महँगो छ । ठूलो क्षमताको ब्याट्री राख्दा महँगो हुन्छ ।’

उनका अनुसार सहरी इलाकामा बसेर अफिस, घर गर्नेका लागि चाहिँ दुई पाङ्ग्रेमा आकर्षण धेरै भए पनि सडक र यात्राको दुरी अनुसार दुई पाङ्ग्रे ईभीको प्रविधि विकास धेरैका लागि व्यावहारिक हुन सकेको छैन ।

‘पेट्रोल इन्जिन भएका दुई पाङ्ग्रे सवारीसाधनभन्दा ईभी धेरै नै किफायती भए पनि रेन्ज र मूल्यका कारण चल्नुपर्ने जति चलेको छैन,’ उनले भने, ‘दुई पाङ्ग्रे ईभीको रेन्ज सुधार्ने प्रविधि आवश्यक छ । फेरि, आकर्षण नै नभएको भन्ने होइन, बिस्तारै संख्या बढिरहेको छ तर चार पाङ्ग्रेको तुलनामा बढ्न सकेको छैन ।’

नेपालमा पेट्रोलियम इन्जिन भएका दुई पाङ्ग्रे सवारीसाधन भन्दा ईभी दुई पाङ्ग्रेका धेरै ब्रान्ड आइरहेका छन् ।

‘ब्रान्ड नै यति भइसकेको छ कि कुन ब्रान्डले अहिले बजार लिइरहेको छ भन्न सक्ने अवस्था समेत छैन । तर, मार्केटमा चर्को प्रतिस्पर्धा छ,’ ज्योतिले भने, ‘दुई पाङ्ग्रे ईभीमा नेपालमा कमर्सियल कुराभन्दा उत्पादनमै टेक्नोलोजी क्याच अप गर्नुपर्ने देखिएको छ ।’

सरकारकै कम प्राथमिकतामा पर्‍यो : व्यवसायी

दुई पाङ्ग्रे ईभी ‘एथर’ को नेपालका लागि आधिकारिक विक्रेता वैद्यज इनर्जीका निर्देशक सूर्यांश वैद्यका अनुसार दुई पाङ्ग्रे सवारीसाधनका लागि सरकारले नै कम प्राथमिकता दिएको छ ।

‘चार पाङ्ग्रे ईभीका लागि जति सरकारले भन्सार कर लगाएको छ, दुई पाङ्ग्रे ईभीमा त्योभन्दा धेरै भन्सार छ । यसले मूल्यमा असर पर्ने भएकाले दुई पाङ्ग्रेमा आकर्षण कम हुने मुख्य कारण हो,’ वैद्य भन्छन् ।

उनका अनुसार नेपालमा दुई पाङ्ग्रे ईभीको आकर्षण कम हुनुमा विश्वप्रसिद्ध कम्पनीहरूले उत्पादन नल्याउनु पनि हो ।

‘अहिले धेरै दुई पाङ्ग्रे ईभीको ब्रान्ड नेपाल आएका छन् । गत आर्थिक वर्ष मात्रै ८६ ब्रान्ड आएको देखिन्छ । तीमध्ये कतिपय ब्रान्ड आउनै छाडेको पनि छ । त्यही भएर आममान्छेमा दुई पाङ्ग्रे ईभीमा कम आकर्षण भएको हो,’ उनी भन्छन्, ‘विश्वसनीय कम्पनीहरू आउने हो र टिक्छ भन्ने विश्वास भए दुई पाङ्ग्रेमा पनि चार पाङ्ग्रेझैं आकर्षण बढ्छ ।’

दुई पाङग्रे ईभी निर्माणमा पछिल्लो समय भारतमा देखिएको तीव्रताले नेपालमा पनि चार पाङग्रे झैं बढ्ने विश्वास उनको छ ।

‘चार पाङ्ग्रे ईभीमा चीन जसरी लाग्यो, दुई पाङ्ग्रेमा लागेन, अब दुई पाङ्ग्रेमा भारतमा कम्पनीहरू लागिरहेका छन् । भारतमा बढिरहेको मार्केट नेपालमा सिफ्ट हुन्छ,’ वैद्यको दाबी छ ।

मूल्य अन्तर नै धेरै

नेपालमा ईभी बाइक, स्कुटर कम आउनुको मुख्य कारण मूल्य पनि प्रमुख हो । बजारमा धेरै चलेको बजाजको पल्सर १५० सीसीको मूल्य ३ लाख रुपैयाँ पर्छ । तर, सोही मूल्यमा ईभी बाइक अहिलेसम्म नेपाल आएको छैन ।

ईभी स्कुटर सेग्मेन्टमा धेरै रेन्ज दिनेमध्ये एथरको ४ लाखदेखि माथि पर्न आउँछ । ग्राहकका लागि मूल्य धेरै हुँदा ईभीमा नगएको तुलनाले पनि देखिन्छ । नेपालमै बनेको ईभी पनि ५ लाख रुपैयाँभन्दा बढी छ ।

नेपालमा आएको टीभीएसको इन्धनवाला दुई पाङ्ग्रे मोटरसाइकल नै २ लाख ३९ हजार रुपैयाँदेखि माथि आउँछ । तर, टीभीएसले नै ल्याएको १ सय किलोमिटर रेन्ज दिने आइक्युब स्कुटरको मूल्य  साढे ४ लाखदेखि माथि छ ।

नेपालमा चल्ने विद्युतीय स्कुटरभन्दा पेट्रोलियम स्कुटरको मूल्य तुलना गर्दा विद्युतीयको धेरै देखिन्छ । ठूला सीसीको पेट्रोल स्कुटर भन्दा थोरै रेन्ज ईभी स्कुटरको मूल्य नै धेरै देखिन्छ ।

त्यसले स्वाभाविक रूपमा कम आकर्षण देखिएको हो । उक्त कुरा पछिल्लो तीन वर्षमा भएको इन्धन मोटरसाइकल आयात र ईभी मोटरसाइकल आयातले पनि देखाउँछ ।

यस्तो छ आयात तथ्यांक

आर्थिक वर्ष २०७८/७९ मा २ लाख ७८ हजार ४ सय ८२ युनिटमात्र आयात भएको थियो । जसमा २ लाख ७३ हजार पेट्रोल मोटरसाइकल थियो भने ५ हजार ४ सय ५५ युनिट ईभी थियो ।

यस्तै  २०७९/८० मा १ लाख ४२ हजार २ सय ८१ युनिट आयात भएकोमा १ लाख ३४ हजार पेट्रोलबाट चल्ने दुई पाङग्रे थियो भने ईभी संख्या बढेर ११ हजार १ सय ८४ युनिट पुगेको थियो ।

भन्सार विभागले २०८०/८१ मा सार्वजनिक गरेको तथ्यांक अनुसार १ लाख ३४ हजार ५ सय ३४ युनिट दुई पाङग्रे आउँदा पेट्रोलियमवाला १ लाख २४ हजार थियो भने ईभीमा घटेर ९ हजार ८ सयमा सीमित भएको छ । यसले के देखाउँछ भने दुई पाङग्रे ईभीमा आकर्षण बढ्नुको सट्टा घटिरहेको छ ।

छुटाउनुभयो कि ?

लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

दाङलुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा...
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभियो श्रम संस्कृति

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभियो श्रम संस्कृति

काठमाडौँश्रम संस्कृति पार्टी प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभिएको छ ।संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदललाई प...
सम्पत्ति छानबिन आयोगले औपचारिक रूपमा शुरु गर्यो काम

सम्पत्ति छानबिन आयोगले औपचारिक रूपमा शुरु गर्यो काम

काठमाडौंमुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले बुधबारदेख...
हचुवाका भरमा समाचार प्रकाशन/प्रशारण नगर्न सञ्चार मन्त्रालयको आग्रह

हचुवाका भरमा समाचार प्रकाशन/प्रशारण नगर्न सञ्चार मन्त्रालयको आग्रह

काठमाडौंसञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हचुवाका भरमा समाचार प्रकाशन/प्रशारण नगर्न आग्रह गरेको छ । बुधबार एक विज्ञप्ति...