
सडकमा रहेका छाडा चौपायाले कुल्चीदा बुटवलमा एक महिलाले ज्यान गुमाएकी छन् । गुल्मीको रेसुङ्गा नगरपालिका–४ अर्खले घर भै हाल बुटवल गोलपार्कमा खाजा पसल संचालन गदै आएकी ४५ वर्षीया सीता पाण्डेको सडकमा रहेका साँढे छाडा चौपायाले कुल्चेर ज्यान गएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डीतले जानकारी दिए ।यही साउन २० गते सडकमा जुधिरहेका २ वटा साँढेले बाटो हिँडीरहेकी सीतालाई कुल्चीएको हो । घटनापछि गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा साउन २४ गते उनको मृत्यु भएको थियो । सीता बुटवल गोलपार्कमा सामान्य खाजा पसल सञ्चालन गर्दै आएकी थिइन् । बुटवलको सडकमा रहेका छाडा चौपायाले ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने गरेको छ ।