पुन परिक्षण गर्दा एसईईमा थप ९४ जनाले ल्याए ४ जीपीए


४ साउन, काठमाडौं । गत १३ असारमा सार्वजनिक माध्यमिक शिक्षा परीक्षाको नतिजामा चित्त नबुझेर पुनर्योग (रिटोटलिङ) गर्दा थप ९४ जना परीक्षार्थीले ४ जीपीए ल्याएको पाइएको छ ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा सार्वजनिक गर्दा १८६ जनाले मात्र ४ जीपीए ल्याएका थिए । परीक्षामा सहभागीमध्ये करिब ४८ प्रतिशत मात्र ११ पढ्न योग्य भएका थिए भने ५२ प्रतिशत अनुतीर्ण भएका थिए ।परीक्षा नियन्त्रण कार्यालयले पुनर्योग गर्न दिएको समयमा १९ हजार ६०० विद्यार्थीले आवेदन दिएका थिए ।

जसमध्ये ९ हजार ६४६ जनाको कार्यालयले पुनर्योगको नतिजा सार्वजनिक हुँदा थप ९४ जनाको ४ जीपीए आएको कार्यालय स्रोतले जानकारी दिएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले विद्यार्थीको उत्तरपुस्तिका परीक्षणमा कुनै कमजोरी नभएको र विद्यार्थीले प्राप्त गरेको प्राप्ताङ्क कम्प्युटरमा चढाउने (इन्ट्री गर्ने) क्रममा कमजोरी भएको जानकारी पाएको बताए ।

‘नियन्त्रकज्यूले जानकारी दिए अनुसार कपी इक्जामिन सही ढंगले भएको तर नम्बर कम्प्युटरमा इन्ट्री गर्ने क्रममा कमजोरी भएको छ’, उनले भने, ‘६८ अंकलाई ०८ चढाइएको, ७७ लाई ११ चढाइएको पाइएको भन्ने छ अंग्रेजी अंकमा नबुझेर त्यसरी गल्ती भएको हो कि भन्ने बुझिन्छ अक्षरमा लेखिएकोलाई ध्यान नदिएको पाइयो ।’ कम्प्युटरमा अंक टाइप गर्ने प्राविधिकको कमजोरीले पुनर्योगको नतिजामा फरक आइरहेको प्रवक्ता दाहालको भनाइ छ ।

काठमाडौं विश्वविद्यालय, स्कुल अफ एजुकेशनका डीन प्रा.डा.बालचन्द्र लुईंटेल यो नतिजाले शिक्षक, कर्मचारीको लापरवाहीले प्रणालीमाथि नै अविश्वास बढ्ने स्थिति सिर्जना भएको बताए ।

‘रिटोटलिङ गर्दा दशमलवमा अंक फरक पर्नु स्वभाविक मान्न सकिन्छ तर एनजी आएकाको ४ जीपीए आउनुले गम्भीर लापरवाही भएको देखिन्छ’, उनले भने । यसलाई मानवीय त्रुटिको नाम दिएर सामान्य बनाउन नहुने भन्दै उनले यति ठूलो कमजोरीमा संलग्नलाई दण्ड दिनुपर्ने बताए ।

सामुदायिक विद्यालयका प्रधानाध्यापहरुको छाता संगठन प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान) का अध्यक्ष सुदामप्रसाद गौतमले पुनर्योगको नतिजाले परीक्षा प्रणाली कमजोर छ भन्ने देखाएको बताए ।

पुनर्योगको नतिजालाई स्वभाविक रुपमा लिन नसकिने भएकाले परीक्षा बोर्डले यसको समीक्षा गर्नुपर्ने उनले बताए । अहिलेको नतिजालाई लिएर परीक्षण प्रणालीमाथि शंका बढेकाले अर्को वर्ष पुनर्योगको लागि आवेदन दिनेको संख्या झन् बढ्ने उनले बताए ।

पुनर्योगको निवेदनपछि नतिजा फरक पर्नुले धेरै विद्यार्थीलाई अन्याय भएको देखिएको शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला बताउँछन् । नम्बर चढाउने ठाउँमा त्रुटि भएको परीक्षा बोर्डले भनिरहेकाले ती कर्मचारीको गैरजिम्मेवारीपनले विद्यार्थी मर्कामा परेको उनको भनाइ छ ।

मानवीय त्रुटिको रुपमा गल्ती हुने जोखिमलाई कम गर्न ‘क्रस चेक’ नगरेर बोर्डले गल्ती गरेको प्रा.डा.कोइरालाको बुझाइ छ ‘परीक्षा बोर्डले मानवीय त्रुटि भनेर पन्छाउने प्रयास गरिरहेको छ तर यो नतिजा हेर्दा परीक्षण गर्ने शिक्षक अथवा नम्बर चढाउने कर्मचारीमध्ये एकको लापरवाही देखिन्छ र क्रस चेक गर्नबाट बोर्ड पनि चुकेको देखिन्छ’, उनले भने ।

१३ असारमा सार्वजनिक एसईईको नतिजा अनुसार चार लाख ६४ हजार ७८५ जनाले एसईई दिएकामा दुई लाख ४२ हजार ३१३ जना ११ कक्षा पढ्न पाउने भएका थिए । उनीहरुमध्ये १९ हजार ६०० जनाले पुनर्योगको निवेदन दिएका थिए ।

लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार सैद्धान्तिक र आन्तरिक परीक्षाको मूल्याङ्कन फरक–फरक हुने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्छ ।
निर्देशिकामा दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिंदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका

परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउने व्यवस्था छ ।

तर, ठूलो संख्याका विद्यार्थीले मौका परीक्षामा सहभागी हुन नपाउने भएपछि शिक्षा मन्त्रालयले निर्देशिका संशोधन गरेर सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ । यो परीक्षा २३ साउनमा हुँदैछ ।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...