गुल्मीमा तीन वर्षभित्र दुई सय ४९ जनाले गरे आत्महत्या


नयां पत्रिकाबाट

आत्महत्याको अवस्था डरलाग्दो : गुल्मीमा महिलाको तुलनामा तीन गुणा बढी पुरुषले गरे आत्महत्या, सबैभन्दा बढी मुसिकोट नगरपालिकामा गुल्मीको इस्मा गाउँपालिका– ४ कल्यारका नौ वर्षीय बालक संगम खड्काले बिहीबार बेलुका आत्महत्या गरे । बेलुकाको खानापछि संगम सुत्न गए । परिवार छोरा सुत्न गएकोमा ढुक्क थिए । तर, छोरा झुन्डिएका रहेछन् । बुबा–आमाले छोरो झुन्डिएकोे देख्नेबित्तिकै पासो काटे पनि बचाउन सकेनन् । हुर्किएको एक्लो छोरा झुन्डिएला भनेर परिवारले कल्पना गर्ने कुरै भएन । तर, अपत्यारिलो दुःखद घटनाले खड्का परिवार शोकमा डुबेको छ । ‘बिहानैबाट अलिअलि रिसाएको रै’छ । त्यो केटाकेटीको सामान्य बानी नै भयो,’ बुबा नारायण खड्काले भने, ‘एक्कासि सुत्ने कोठामा पुग्दा झुन्डिएको देखेँ ।’ 

गत ९ भदौमा रेसुंगा नगरपालिका– १ की १३ वर्षीया रेजिना कुँवरले पनि घरमै झुन्डिएर आत्महत्या गरिन् । सामान्य विवाद थेग्न नसकेपछि भएको आत्महत्याले परिवार विक्षिप्त छ । आत्महत्या गर्ने यी दुई बालबालिका गुल्मीका पछिल्लो उदाहरण हुन् । गुल्मीमा तीन वर्षमा एक सय ७३ पुरुष र ७६ महिला गरेर दुई सय ४९ जनाले आत्महत्या गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्यांकअनुसार सबैभन्दा बढी आर्थिक वर्ष ०७७/७८ सालमा ६९ पुरुष र ३० महिला गरेर ९९ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष ०७६/७७ मा पुरुष ५० र २९ महिला गरेर ७९ जनाले आत्महत्या गरेको पाइएको छ । गत वर्ष ५४ पुरुष र १७ महिला गरेर ७१ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

झुन्डिएर आत्महत्या, आत्महत्या दुरुत्साहन, विष सेवन गरेर, पानीमा डुबेर र हामफालेर मानिसहरूले आत्महत्या गरेका छन् । सबैभन्दा धेरै तीन वर्षमा दुई सय ११ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । 

मुसिकोटमा सबैभन्दा बढी आत्महत्या
जिल्लाका १२ स्थानीय तहमध्ये मुसिकोट नगरपालिकामा सबैभन्दा बढी आत्महत्याका घटना भएको पाइएको छ । तीन वर्षको तथ्यांकको आधारमा मुसिकोट नगरपालिकामा २१ पुरुष र ११ महिला गरेर ३२ जनाले आत्महत्या गरेका छन् । 

त्यस्तै, रेसुंगा नगरपालिकामा २८, मदाने गाउँपालिकामा २४, सत्यवती र इस्मामा २१, रुरु क्षेत्र गाउँपालिकामा २० मालिकामा १६ र कालीगण्डकी गाउँपालिकामा सातजनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

वृद्ध पुरुषद्वारा सबैभन्दा बढी आत्महत्या
गत १० साउनमा मालिका गाउँपालिका– ८ का ७१ वर्षीय अमृतबहादुर कामीले घरनजिकैको रूखमा झुन्डिएर आत्महत्या गरे । कालीगण्डकी गाउँपालिका– ५ का वृद्धदम्पतीले केही समयअगाडि नयाँ वर्षकै दिन एउटै पासोमा झुन्डिएर आत्महत्या गरे । फोक्सिङका ७० वर्षीय ओमबहादुर र उनकी श्रीमती ६९ वर्षीया खिमकला सार्कीले आत्महत्या गरेका हुन् । दुवैजना घरनजिकैको खनियाँको रूखमा ओमबहादुरले प्रयोग गर्ने गलबन्दीमा झुन्डिएर आत्महत्या गरेका थिए । खासकारण पत्ता लगाउनेतर्फ कोही लागेनन् । 

गुल्मी प्रहरीले दिएको तीनवर्षे आत्महत्याको तथ्यांकका आधारमा सबैभन्दा बढी पुरुषले आत्महत्या गर्ने गरेको पाइएको छ । महिलाभन्दा तीन गुणा बढी पुरुषले आत्महत्या गरेका छन् । त्यसमा पनि ६० वर्षमाथिका वृद्ध पुरुषले बढी आत्महत्या गरेका छन् । 

तीनवर्षे तथ्यांक हेर्दा ६० वर्षमाथिका ४२ पुरुष र नौ महिलाले आत्महत्या गरेका छन् । ५० वर्षदेखि ६० वर्ष उमेर समूहका ३६ पुरुष र नौ महिला, ४० देखि ५० उमेर समूहमा  २४ पुरुष र ६ महिला, ३० देखि ४० उमेर समूहका २२ पुरुष र १० महिलाले आत्महत्या गरेका छन् । 

त्यस्तै, २० देखि ३० वर्षका २८ पुरुष र १७ महिला तथा २० वर्षसम्मको उमेर समूहमा पुरुषभन्दा बढी महिलाले आत्महत्या गरेको पाइएको छ । यो उमेर समूहका २१ पुरुष र २५ महिलाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

आत्महत्या रोकथाको सरकारी अभियान अलपत्र
दुई वर्षअघि जिल्ला प्रशासन कार्यालय गुल्मीले आत्महत्या रोकथामको प्रयास थाले पनि निरन्तरता पाएन । तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीको संयोजकत्वमा प्रहरी, नागरिक समाज, नगरपालिका, गैरसरकारी संस्थाका प्रतिनिधिसहितको समिति बनाएर आत्महत्याको पालिकागत तथ्यांक संकलन र विश्लेषणको कामको योजना बनाए पनि शर्माको सरुवासँगै कामले निरन्तरता पाएन । 

समितिका सदस्य तथा रेसुंगा नगरपालिकाका सूचना अधिकारी शंकरप्रसाद गौतमले आफूले नगरको अवस्था बुझाए पनि अरू पालिकाको कारण अभियान रोकिएको बताए । सिडिओको सरुवापछि केही काम नभएका कारण आफूले पनि कुनै वास्था नगरेको गौतमले बताए ।

छुटाउनुभयो कि ?

६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

काठमाडौंक्यान्सर तथा अन्य अत्यावश्यक औषधिको अभाव न्यूनीकरण गर्ने उद्देश्यले औषधि व्यवस्था विभागले ती औषधिको मूल्य समायोजन प्र...
नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

काठमाडौंतेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ अब भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगरसम्म रेलमार्फत आउन थालेको ...
बजेट कार्यान्वयन मार्गदर्शन : विनियोजित बजेट फागुनसम्म खर्च गर्नुपर्ने

बजेट कार्यान्वयन मार्गदर्शन : विनियोजित बजेट फागुनसम्म खर्च गर्नुपर्ने

काठमाडौंचालु आर्थिक वर्ष विनियोजित बजेट आगामी फागुनसम्म खर्च गरिसक्नुपर्ने भएको छ । अर्थ मन्त्रालयले चालु आव २०८३/८४ को बज...
गैरकानूनी व्यापार गर्नेलाई कारबाहीको दायरामा ल्याउने विभागको चेतावनी

गैरकानूनी व्यापार गर्नेलाई कारबाहीको दायरामा ल्याउने विभागको चेतावनी

काठमाडौँबजारमा लेबल नभएका, न्यून गुणस्तर भएका, मिसावटयुक्त तथा चोरी पैठारी गरिएका सामानहरू बिक्री वितरण भइरहेको भन्दै सरकारले...