
काठमाडौं
दुई गठबन्धन दल एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि विश्वासको मत पाउने सम्भावना नरहेपछि मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएका छन् ।
प्रदेशसभाको शनिबार बसेको बैठकमा मुख्यमन्त्री यादवले आफ्नो मन्त्वय राख्दै पदबाट राजीनामा दिएका हुन् ।
कांग्रेस नेतृत्वको सरकारमा सहभागी आफ्ना चार मन्त्रीलाई गत असोज २५ गते सामूहिक राजीनामा गराउँदै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । यस्तै सरकारमा सहभागी नेपाली कम्युनिस्ट पार्टीका चार मन्त्रीले कात्तिक २० गते राजीनामा दिए ।
१०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन् । त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन् ।
प्रदेशसभाको दोस्रो कार्यकालमा संसद् बैठकबाटै राजीनामा गर्ने यादव ५औं मुख्यमन्त्री हुन् । यसअघि, एमालेका सरोजकुमार यादव (महोत्तरी) ले विश्वासको मत लिने क्रममा राजीनामा गरेका थिए । उनी अघि जितेन्द्र सोनलले विश्वासको मत लिने क्रममै राजीनामा दिए ।
सोनलअघि जनमत पार्टीका सतिशकुमार सिंहले विश्वासको मत जुटाउन नसक्दा पद त्यागे । जसपा नेपालका सरोजकुमार यादव (बारा) पनि विश्वासको मत लिन नसक्दा स्वतः पदमुक्त भएका थिए ।