
काठमाडौं
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लुम्बिनी लायन्सले पहिलो हार बेहोरेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी काठमाडौं गोर्खाजसँग ३६ रनले पराजित भएको हो।
काठमाडौंले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा १२४ रनमै अलआउट भयो। यससँगै जारी प्रतियोगितामा लुम्बिनीको अपराजित यात्रा टुंगिएको छ भने काठमाडौंले लगातार तेस्रो जित निकालेको छ।
लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक ४४ रन बनाए। उनले ४५ बलको सामना गर्दै तीन चौका प्रहार गरे। त्यस्तै, अभिषेक गौतमले १५, निरोशन डिकवेलाले १४ र रुबेन ट्रम्पेलम्यानले ११ रन जोडे। अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
काठमाडौंका बलरले सुरुवातदेखि नै लुम्बिनीलाई दबाबमा राखेका थिए। जहानदाद खानले चार ओभरमा २३ रन खर्चेर चार विकेट लिए। कप्तान करण केसीले दुई विकेट हात पार्दा सन्तोष यादव, शाहब आलम, राशिद खान र सहान अराच्चिगेले समान एक–एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६० रन बनाएको थियो।
काठमाडौंका ओपनर डेभिड वार्नर र साहिल पटेलले पहिलो विकेटका लागि १०४ रनको साझेदारी गर्दै टोलीलाई बलियो सुरुवात दिलाएका थिए। पावरप्लेमा काठमाडौंले ४५ रन जोडेको थियो।
अस्ट्रेलियन स्टार ब्याटर वार्नरले ५० बलमा नौ चौका र एक छक्कासहित सर्वाधिक ६६ रन बनाए। त्यस्तै, पटेलले ३६ बलमा दुई चौका र दुई छक्काको मद्दतले ३८ रन जोडे।
अन्तिम ओभरहरूमा आक्रामक ब्याटिङ गरेका सहान अराच्चिगेले १५ बलमा तीन चौका र एक छक्कासहित अविजित ३४ रन बनाए।
लुम्बिनीका लागि रुबेन ट्रम्पेलम्यान, शेर मल्ल र अभिषेक गौतमले समान दुई–दुई विकेट लिए।
उत्कृष्ट ब्याटिङ गरेका काठमाडौंका डेभिड वार्नर खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए।
जितसँगै काठमाडौंले चार खेलबाट तीन जितसहित ६ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पहिलो हार बेहोरेको लुम्बिनी भने पाँच खेलबाट ७ अंकसहित शीर्ष स्थानमै कायम छ।