
काठमाडौं
भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीले देशभर ४ खर्ब ७२ अर्ब ६६ करोड रूपैयाँ बराबरको हानि तथा नोक्सानी पुर्याएको पाइएको छ।
बाढीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण, प्रभावित क्षेत्रको पुनर्स्थापना र आर्थिक गतिविधि पुरानै अवस्थामा फर्काउन ७ खर्ब ६ अर्ब ६३ करोड रूपैयाँ आवश्यक पर्ने राष्ट्रिय योजना आयोगको मूल्यांकन छ।
आयोगका अनुसार बाढीले सबभन्दा बढी पूर्वाधार क्षेत्रमा क्षति पुर्याएको छ। ऊर्जा, सडक, पुल, यातायात, सिँचाइ र नदी नियन्त्रणका संरचना प्रभावित भएका छन्। उत्पादनशील क्षेत्र, निजी आवास, सार्वजनिक सेवा र वातावरणमा समेत ठूलो असर परेको छ।
मूल्यांकनमा भौतिक संरचनामा पुगेको क्षति र आर्थिक गतिविधिमा परेको नोक्सानी छुट्टाछुट्टै हिसाब गरिएको छ।
बाढीबाट भौतिक संरचनामा २ खर्ब ८२ अर्ब ९० करोड रूपैयाँ बराबर क्षति पुगेको आयोगले जनाएको छ। आर्थिक गतिविधि अवरूद्ध हुँदा थप १ खर्ब ८९ अर्ब ७६ करोड रूपैयाँ बराबर नोक्सानी भएको छ।
क्षतिको ठूलो हिस्सा निजी क्षेत्रमा परेको छ। निजी क्षेत्रमा २ खर्ब ५४ अर्ब ३ करोड रूपैयाँ बराबरको हानि तथा नोक्सानी भएको आयोगको मूल्यांकन छ। यसमध्ये १ खर्ब ६७ अर्ब ६५ करोड रूपैयाँ भौतिक क्षति हो। आर्थिक गतिविधिमा परेको नोक्सानी ८६ अर्ब ३८ करोड रूपैयाँ छ।
सार्वजनिक क्षेत्रमा २ खर्ब १८ अर्ब ६३ करोड रूपैयाँ बराबरको हानि तथा नोक्सानी भएको छ। यसमध्ये १ खर्ब १५ अर्ब ३५ करोड रूपैयाँ भौतिक क्षति हो। सार्वजनिक क्षेत्रको आर्थिक नोक्सानी १ खर्ब ३ अर्ब २८ करोड रूपैयाँ रहेको आयोगले जनाएको छ।