
काठमाडौँ
लुम्बिनीदेखि मधेसप्रदेशसम्मका तराई भूभागमा अहिले ठूलो हावाहुरी चलिरहेको छ।
भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण आज राति पनि ती क्षेत्रमा ठूलो हावा चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार सवा ३ बजेतिर जारी गरेको सूचनाअनुसार मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागमा ठूलो हावा चलेको छ।
राति पनि ती प्रदेशमा ठूलो हावा चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
भोलि दिउँसो भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा ठूलो हावा चल्ने सम्भावना रहेको सूचनामा उल्लेख छ।
महाशाखाकै मौसमविद् सञ्जिव अधिकारीका अनुसार अहिले मधेसदेखि लुम्बिनीसम्मका तराईका भूभागमा हावाको गति सामान्यभन्दा बढी छ।
अहिले हावाहुरी मुख्य रूपमा मधेश प्रदेशदेखि लुम्बिनी प्रदेशसम्मका तराई भूभागमा बढी चलेको छ। पहाडी भूभागमा पनि सामान्यभन्दा बढी हावा चलेको अवस्था छ,’ अधिकारीले भने, ‘भैरहवामा केही समयअघिको तथ्यांकअनुसार हावाको गति ६० किलोमिटर प्रतिघन्टा छ।’
उनका अनुसार मधेश र लुम्बिनी प्रदेशमा हावाको गति तुलनात्मक रूपमा बढी छ।
काठमाडौं उपत्यकाको आसपास, कास्कीलगायत पहाडी भूभागमा पनि हावा चलिरहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने अहिले हावाको गति तुलनात्मक रूपमा कम छ।
अधिकारीका अनुसार भारतमा रहेको न्यूनचापीय क्षेत्र विस्तारै उत्तर–पश्चिमतर्फ सर्ने क्रममा रहेकाले यसको प्रभाव पनि पश्चिमतर्फ बढ्ने देखिएको छ।
त्यसैले भोलिसम्म सुदूरपश्चिम प्रदेशमा पनि हावाको गति बढ्ने सम्भावना रहेको उनले बताए।
न्यूनचापीय प्रणालीका कारण हावा मात्रै नभई वर्षा पनि हुने अधिकारीले बताए।
उनका अनुसार यस्तो प्रणालीले हावालाई एक ठाउँमा केन्द्रित गर्ने र आसपासका जलवाष्पयुक्त हावालाई समेत तानेर ल्याउने भएकाले हावाको गति बढ्नुका साथै वर्षा हुने अवस्था सिर्जना हुन्छ।
‘न्यूनचापीय प्रणालीले हावालाई केन्द्रित गर्छ। त्यसक्रममा छेउछाउका जलवाष्पयुक्त हावा पनि सँगै आउँछ। त्यसलाई कन्भर्जेन्स भनिन्छ,’ उनले भने, ‘त्यसले गर्दा हावाको गति पनि बढ्छ र नजिकका ठाउँमा पानी पनि पार्छ।’
पश्चिमी भूभागमा आज राति वर्षाको गतिविधि अझ बढ्ने सम्भावना रहेको उनको भनाइ छ।
उनका अनुसार भोलि पनि विशेषगरी पश्चिमी भूभागमा वर्षा हुन सक्छ। यो क्रम भोलि साँझदेखि भने क्रमशः कम हुँदै जाने सम्भावना छ।
‘आज रातिका लागि वर्षा अझै थपिँदै छ। भोलि पनि विशेषतः पश्चिमी भूभागमा वर्षा हुन सक्छ। तर वर्षाको गतिविधि भोलि साँझदेखि अलि कम हुन सक्ने देखिन्छ,’ अधिकारीले भने।
पछिल्लो १२ घन्टामा सुदूरपश्चिम प्रदेशमा अलि बढी वर्षा भएको महाशाखाले अद्यावधिक गरेको विवरणमा उल्लेख छ।
पछिल्लो १२ घन्टामा कन्चनपुरको दोधारामा ६४.६ मिलिमिटर, सुन्दरपुरमा ५६.६ मिलिमिटर, हनुमान नगरमा ५१.४, डडेलधुराको अमरगढी आसपास ६६ मिलिमिटर र गाइबन्दे ६१ मिलिमिटर वर्षा मापन भएको छ।
पूर्वी क्षेत्रमा भने अहिलेको तुलनामा मौसमको अवस्था सामान्य छ। पूर्वतिर मौसम सुधार हुने क्रम सुरू भइसकेको उनले बताए।