
काठमाडौँ
इन्डोनेसियामा ज्वालामुखी विस्फोटका कारण दुई हजारभन्दा बढी उडान प्रभावित भएका छन् । विष्फोटका कारण विमानस्थलले लगातार दोस्रो दिन पनि आफ्नो सेवा बन्द गर्नुपरेको छ । उडान रोकिँदा देशभर करिब दुई लाख ७० हजार यात्रु अलपत्र परेका छन् ।
जाकार्ताबाट १५० किलोमिटर (९० माइल) टाढा रहको अवस्थित ‘अनाक क्राकाताउ’मा शुक्रबार अबेर विस्फोट सुरु भएको थियो । विस्फोटबाट निस्केको लाभाको फोहरा र ज्वालामुखीको खरानी राजधानी र लाम्पुङ प्रान्तसम्म पुगेको थियो । सप्ताहन्तभरि नै यो ज्वालामुखी भूगर्भीय रूपमा सक्रिय रहेको थियो । आफ्नो हवाई क्षेत्रनजिकै ज्वालामुखीको खरानी कायमै रहेकाले जाकार्ताको सोकार्नो–हाट्टा अन्तर्राष्ट्रिय विमानस्थलले पूर्वनिर्धारित उडान तालिका रद्द गर्यो ।
विमानस्थलद्वारा जारी विज्ञप्तिमा अब स्थानीय समयअनुसार सोमबार राति ११ः५९ बजेदेखि उडानहरू पुनः सुरु हुने उल्लेख गरिएको छ । नागरिक तथा सैन्य उडान सञ्चालन हुने सानो विमानस्थल ‘हालिम पर्दानाकुसुमा’ पनि सोही समयसम्म बन्द रहनेछ । अधिकारीहरूले सक्रिय ज्वालामुखीको मुख (क्रेटर) बाट तीन किलोमिटरको दायराभित्र नजान वा त्यहाँ कुनै गतिविधि नगर्न चेतावनी दिएका छन् । साथै सुन्डा जलसन्धि भएर आवतजावत गर्ने जहाजलाई पनि उक्त दायराभित्रको निषेधित क्षेत्रमा प्रवेश गर्न रोक लगाइएको छ । अधिकारीहरूले ज्वालामुखीको हालको गतिविधिसँग सम्बन्धित कुनै सुनामीको चेतावनी नरहेको पनि पुष्टि गरेका छन् ।
सन् २०१८ को डिसेम्बरमा यो ज्वालामुखीको केही भाग भत्किँदा आएको विशाल सुनामीका कारण ४०० भन्दा बढी मानिसको मृत्यु भएको थियो भने सुमात्रा र जाभाका तटीय क्षेत्रमा हजारौँ मानिस विस्थापित तथा घाइते भएका थिए । वैज्ञानिकहरूले ज्वालामुखी फुट्दा खसेका चट्टानका केही टुक्रा करिब ७० देखि ९० मिटर अग्ला रहेको पत्ता लगाएका थिए । इन्डोनेसिया ‘प्यासिफिक रिङ अफ फायर’ (प्रशान्त महासागरीय आगोको घेरा’) माथि रहेको छ । यसले प्रशान्त महासागरको वरिपरि रहेका ज्वालामुखी, भूकम्प जाने क्षेत्र र टेक्टोनिक प्लेटको शृंखलालाई बुझाउँछ ।