
रुपन्देही — रसुवा लगायतका क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
गुल्मीको रेसुङ्गा नगरपालिका–६ मा जन्मिएर रोजगारी, व्यवसाय तथा विभिन्न पेशा–व्यवसायका सिलसिलामा रुपन्देही र आसपासका क्षेत्रमा बसोबास गर्दै आएका व्यक्तिहरूको साझा संस्था समाजले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको हो।

हालै रसुवा क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै धेरै मानिस घाइते भएका छन्। विपद्मा परेका घाइतेहरूको उपचारका क्रममा रगतको आवश्यकता बढ्न सक्ने भएकाले मानवीय सहयोगस्वरूप रक्तदान कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ।
कार्यक्रममा समाजका सदस्य, शुभेच्छुक तथा स्थानीय रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो। करिब ४० युनिट रक्त संकलन गरिएको समाजका अध्यक्ष यज्ञश्वर मरासिनीले जानकारी दिनुभयो। उहाँका अनुसार विपद्को समयमा पीडितको उपचारमा सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको रक्तदान कार्यक्रमलाई समाजले आफ्नो सामाजिक दायित्वका रूपमा लिएको हो।

रक्तदानसँगै समाजले बाढी तथा पहिरो प्रभावित नागरिकका लागि आर्थिक सहयोगसमेत जुटाएको छ। संस्थाका सदस्य तथा शुभेच्छुकहरूबाट संकलित आर्थिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रभावित क्षेत्रमा पुग्ने गरी पठाइएको समाजले जनाएको छ।
समाजले विपद्का बेला तत्काल आवश्यक पर्ने सहयोग उपलब्ध गराउनुका साथै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन तथा मानवीय सेवाका क्षेत्रमा आवश्यकताअनुसार सहयोग गर्दै जाने समाजको भनाइ छ।
अध्यक्ष मरासिनीले समाज स्थापनाको मूल उद्देश्य केवल संस्थागत गतिविधिमा सीमित नरही आपसी सहयोग, सद्भाव र सहकार्यलाई बलियो बनाउँदै सामाजिक सेवामा योगदान गर्नु रहेको बताउनुभयो। विभिन्न ठाउँमा छरिएर रहेका रेसुङ्गा–६ का बासिन्दाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै आवश्यक पर्दा एकअर्कालाई सहयोग गर्ने वातावरण निर्माण गर्न समाजले निरन्तर पहल गरिरहेको उहाँको भनाइ छ।
समाजले आगामी दिनमा पनि आपसी सहयोग आदानप्रदान, भ्रातृत्वको भावना विकास तथा भावनात्मक सम्बन्धलाई थप प्रगाढ बनाउँदै सामाजिक सेवाका गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।
विपद्को समयमा गरिएको रक्तदान र आर्थिक सहयोगले मानवीय सेवाप्रतिको सामाजिक उत्तरदायित्वलाई थप उजागर गरेको समाजका पदाधिकारीहरूको भनाइ छ।

