एसईई र १२ को नतिजा छिटो प्रकाशन, परीक्षाको विश्वसनीयतामा प्रश्न



काठमाडौँ

एसईई र कक्षा १२ को नतिजा छिटो प्रकाशन गरेको भन्दै सरकार र राष्ट्रिय परीक्षा बोर्डको प्रशंसा भइरहे पनि परीक्षाको विश्वसनीयतामा प्रश्न उठेको छ । बोर्डले परीक्षा सकिएको ४० औं दिनमा कक्षा १२ र २९ औं दिनमा एसईईको नतिजा सार्वजनिक गरेको थियो । यसअघि नतिजा प्रकाशनका लागि ७० देखि ९० दिनसम्म लाग्ने गरेको थियो ।

तर, गत साता नतिजामा चित्त नबुझेको भन्दै कक्षा १२ का परीक्षार्थीले काठमाडौंको माइतीघरमा प्रदर्शन नै गरे । उनीहरूले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको राजीनामासमेत मागे । नतिजामा चित्त नबुझेका कक्षा १२ का ३२ हजार ८ सय विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जनाए ।
एसईईको नतिजामा पनि चित्त नबुझेर ३२ हजार २ सय विद्यार्थीले आवेदन दिएका थिए । तीमध्ये १ हजार ८ सय ७९ जनाको नतिजामा परिवर्तन आएको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ । आवेदन दिनेमध्ये ५.८१ प्रतिशत विद्यार्थीको नतिजामा परिवर्तन आएको हो । गत वर्ष २६ हजार ३ सय विद्यार्थीले आवेदन दिँदा ८ सय ९० जना अर्थात् ३.३२ प्रतिशतको नतिजामा परिवर्तन देखिएको थियो ।

कक्षा १२ मा भने गत वर्षभन्दा थोरैले मात्र पुनर्योगका लागि आवेदन दिएको शर्माले जनाए । गत वर्ष ४२ हजार २ सय जनाले पुनर्योगका लागि आवेदन दिँदा ३ प्रतिशत हाराहारीमा नतिजा परिवर्तन आएको थियो । यस वर्ष पुनर्योगका लागि आवेदन दिएका विद्यार्थीको नतिजा आइसकेको छैन ।

विद्यार्थीले नतिजामा आशंका गर्दै काठमाडौंमा प्रदर्शन गरेपछि शिक्षामन्त्री पोखरेलले मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका उपसचिव प्रतिनिधि रहेको अध्ययन समिति गठन गरेका छन् । समितिले उत्तरपुस्तिका स्याम्पलिङ परीक्षण, परीक्षांक तथा डेटा इन्ट्रीको भेरिफिकेसनलगायत काम गरी प्रतिवेदन बुझाउने मन्त्रालयले जनाएको छ ।
हतारमा नतिजा सार्वजनिक गर्दा त्रुटि बढेको आरोप लागेपछि मन्त्री पोखरेलले जनशक्ति थप र प्रशासनिक प्रक्रियाहरू छोट्याएर चाँडो नतिजा प्रकाशित गर्ने व्यवस्था गरिएको स्पष्टीकरण दिएका थिए । गत वर्षदेखि पुनर्योगका लागि अनलाइन आवेदन दिन सक्ने व्यवस्था गर्दै बोर्डले शुल्कसमेत वृद्धि गरेको थियो । एसईईको पुनर्योगका लागि ५ सय र कक्षा १२ को प्रत्येक विषयको पुनर्योगका लागि १ हजार शुल्क लाग्ने व्यवस्था गरिएको छ । शुल्क वृद्धि गरिएकामा विद्यार्थी, अभिभावकले विरोध गरेका छन् भने बोर्डका गल्तीका कारण नतिजा परिवर्तन हुँदा विद्यार्थीले शुल्क तिर्नुपर्ने व्यवस्था झन् अन्यायपूर्ण भएको उनीहरूको गुनासो छ ।

सामाजिक सञ्जालमा गौरवराज विष्टले विद्यार्थीको गल्ती नहुँदा पनि शुल्क बुझाउनुपर्ने व्यवस्था अन्यायपूर्ण भएकाले उक्त नियम परिवर्तन गर्न शिक्षामन्त्रीलाई सुझाव दिएका छन् । उनले लेखेका छन्, ‘पुनर्योगका क्रममा विद्यार्थीको नतिजा फरक हुन गएको खण्डमा शुल्क विद्यार्थीलाई नै फिर्ता गरिनुपर्छ ।’

गत वर्षको कक्षा १२ को पुनर्योग नतिजामा शिक्षकले अंक जोड्दा, पोस्टिङ गर्दा र बोर्डले कम्प्युटरमा प्राप्तांक इन्ट्री गर्दा त्रुटि भेटिएको थियो । यस वर्ष एसईईको नतिजामा पनि त्यस्तै किसिमका त्रुटि भएका थिए । ७० अंक प्राप्त विद्यार्थीको ७ अंक मात्रै इन्ट्री भएको, प्राप्तांक जोड्दा परीक्षक शिक्षकबाट गल्ती भएको भेटिएको एसईईतर्फका परीक्षा नियन्त्रक टुकराज अधिकारीले जनाए ।
यस पटक एसईईका करिब १ हजार उत्तरपुस्तिका हराएका थिए । परीक्षण केन्द्रहरूमै छुटेको अवस्थामा केही उत्तरपुस्तिका भेटिएको थियो । विद्यार्थी, शिक्षक, विद्यालयले सिम्बोल नम्बर, नाम, थर, जन्ममितिलगायत त्रुटि गर्दा नतिजा मिसिङ भएर बर्सेनि केही विद्यार्थीले दुःख पाउने गरेका छन् ।

सामाजिक सञ्जालबाट हिमांशु पौडेलले शिक्षा मन्त्रालयलाई छिटो नतिजा प्रकाशनभन्दा पनि उत्तरपुस्तिका परीक्षणको गुणस्तरमा ध्यान दिन सुझाव दिएका छन् । ‘धेरै विद्यार्थीले आफूले अपेक्षा गरेको भन्दा निकै कम अंक आएको अनुभव गरेका छन् । जसले परीक्षण प्रक्रियाप्रति प्रश्न उठाएको छ । विद्यार्थीको भविष्य केवल एउटा तथ्यांक वा उत्तीर्ण प्रतिशतले मात्र निर्धारण हुँदैन । उत्तरपुस्तिका जाँचमा सानो लापरबाहीले पनि हजारौं विद्यार्थीको भविष्य, आत्मविश्वास र अवसरहरूमा असर पर्न सक्छ,’ उनले लेखेका छन्, ‘त्यसैले नतिजा छिटो निकाल्नु मात्र उपलब्धि होइन । निष्पक्ष, सही र विश्वसनीय मूल्यांकन सुनिश्चित गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हो ।’

परीक्षा नियन्त्रक शर्माले सामाजिक सञ्जालमा नतिजामाथि प्रश्न उठे पनि पुनर्योगका लागि गत वर्षभन्दा थोरैले आवेदन दिएको बताए । ‘गत वर्षदेखि अनलाइन आवेदनको व्यवस्था गरेर १ हजार शुल्क तोकिएको हो । त्यसअघि ५ सय शुल्क तिरेर बोर्डको कार्यालयमा पुगेर आवेदन दिनुपर्थ्यो,’ उनले भने, ‘अनलाइन आवेदन दिन पाइने भएपछि पुनर्योग चाहने विद्यार्थी बढेका हुन् ।’ उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षकको पारिश्रमिक वृद्धि गर्न पुनर्योगलगायतको शुल्क बढाएको उनले जनाए । यसअघि प्रतिउत्तरपुस्तिका परीक्षणबापत शिक्षकले ४० रुपैयाँ पाउँथे भने अहिले ४५ रुपैयाँ पाउने व्यवस्था गरिएको छ ।

१३ चैतमा वालेन्द्र शाहको नेतृत्वमा सरकार गठनपछि ३० देखि ४५ दिनभित्र नतिजा प्रकाशन गर्न बोर्डलाई निर्देशन दिइएको थियो । कक्षा १२ को उत्तरपुस्तिका परीक्षण गर्ने केन्द्र पनि २८ बाट वृद्धि गरेर ४२ वटा पुर्‍याइयो । तर उत्तरपुस्तिका परीक्षण संलग्नमा शिक्षकहरूलाई तालिम नदिएका कारण त्रुटि बढेको बोर्डका अधिकारीहरूको भनाइ छ । एसईईको उत्तरपुस्तिका कुन शिक्षकले परीक्षण गरेको छ भन्ने गोपनीयता कायम नगरेका कारण पनि आशंका र अविश्वास बढेको उनीहरूले जनाए । गत वर्षहरूमा उत्तरपुस्तिका कोडिङपछि फरक–फरक जिल्लामा पुर्‍याएर विज्ञ शिक्षकहरूलाई अभिमुखीकरण तालिमपछि मात्रै परीक्षण सुरु गरिन्थ्यो । यस पटक अनलाइन तालिम सञ्चालन गरिएको थियो ।

बोर्डका सदस्य प्राध्यापक प्रकाशमान श्रेष्ठले नतिजा सार्वजनिक गर्ने प्रक्रियालाई छिटो मात्र बनाएका कारण विश्वसनीयतामा धेरै शंका गर्नु नपर्ने दाबी गरे । ‘हरेक वर्ष मानवीय त्रुटि हुन्छ नै । पुनर्योग गर्दा अस्वाभाविक रूपमा नतिजा परिवर्तन भए मात्र प्रश्न गर्न मिल्छ,’ उनले भने । पुनर्योगका लागि विद्यार्थीसँग शुल्क लिने कि नलिने विषय पुनर्विचार गर्नुपर्ने उनले औंल्याए । पुनर्योगमा पनि चित्त नबुझेका विद्यार्थीले शुल्क बुझाएर उत्तरपुस्तिका हेर्न र पुनः परीक्षण गराउनसमेत पाउने व्यवस्था छ ।

छुटाउनुभयो कि ?

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...
रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

बुटवलयातायात व्यवस्था कार्यालय, रुपन्देहीमा लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी १३ जनालाई गैरकानुनी रूपमा सवारी ...