‘भूमिगत महिला’ पुस्तकमाथि बुटवलमा परिचर्चा


​बुटवल
प्रगतिशील लेखक सङ्घ (प्रलेस) नेपाल, रूपन्देहीको आयोजनामा बुटवलको न्यू होराइजन मा.वि.मा ‘भूमिगत महिला’ पुस्तकमाथि एक गहन परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
मोतीदेवी स्मृति केन्द्रद्वारा प्रकाशित तथा डा. बिन्दा पाण्डेको संयोजकत्वमा तयार भएको सो ऐतिहासिक कृतिको विमर्शका क्रममा वक्ताहरूले यसलाई नेपाली राजनीति र इतिहासको त्यो अनुहार देखाउने ‘ऐना’ को रूपमा व्याख्या गरे, जुन निकै गौरवशाली भएर पनि लामो समयसम्म ओझेलमा पारिएको थियो ।
​कार्यक्रममा पुस्तक लेखन संयोजक एवम् मुख्य वक्ता डा. बिन्दा पाण्डेले नेपाली क्रान्तिमा महिलाहरूको भूमिकालाई इतिहासले सधैँ किनारामा पारेको बताइन् । पाण्डेले भनिन् — “आज हामी जुन स्वतन्त्रताका कुरा गरिरहेका छौँ, यो कसैले दानमा दिएको उपहार होइन । यो त तिनै भूमिगत महिलाहरूको रगत, पसिना र आफ्ना सन्तानको ममतासँग गरिएको साटोफेरो हो ।” डा. पाण्डेको संयोजकत्वमा सङ्ग्रहित २८ जना महिला योद्धाहरूको यो वृत्तान्तले महिलाहरू समाजले बनाएका ‘दोस्रो दर्जाका नागरिक’ नभएर इतिहास निर्माण गर्ने ‘प्रथम श्रेणीका क्रान्तिकारी’ हुन् भन्ने तथ्यलाई प्रमाणित गरेको उनको धारणा थियो ।
​परिचर्चाका क्रममा अन्य वक्ताहरू दल बहादुर गुरुङ, ज्ञानु के.सी., सुमन पन्थी र नवराज पाण्डेले नेपालको भूमिगत राजनीतिमा महिलाहरूले पुर्याएको योगदान र पुस्तकले समेटेका मार्मिक पक्षहरूमाथि प्रकाश पारे । वक्ताहरूले नेपाली भूमिगत आन्दोलनको कथा अन्य सङ्घर्षभन्दा यसकारण कठोर र विशिष्ट रहेको बताए, जहाँ महिलाहरूले राज्यसत्ताको दमनसँगै आफ्नै ‘ममता’ सँग पनि ठूलो लडाइँ लड्नुपरेको थियो । आठ वर्षमा बिहेदेखि तेह्र वर्षमा विधवा भनेर आफ्नो जीवन भूमिगत आन्दोलनमा समर्पण गरेकि शान्ता मानवी हुँदै काठमाडौँको सम्भ्रान्त सुख-सुविधा त्यागेर सन्तानलाई अञ्जान व्यक्तिको जिम्मामा छाडी आन्दोलनको कठिन बाटो रोज्ने अष्टलक्ष्मी शाक्यको सङ्घर्ष होस् वा श्रीमानको बीभत्स हत्या हुँदा पनि विचलित नभई काखको बच्चा च्यापेर क्रान्तिको झण्डा नछाड्ने गोमा देवकोटाको अदम्य साहस-यी सबै नेपाली राजनीतिक इतिहासका दुर्लभ र प्रेरणादायी उदाहरण भएको चर्चा गरियो ।
​त्यस्तै, लिला कट्टेल र सुशीला श्रेष्ठजस्ता योद्धाहरूले पञ्चायती अन्धकारमा सङ्गठनको राँको बाल्न रातोरात हिँडेका ती पदचापले नै वास्तवमा आजको गणतन्त्रको जग खनेको विश्लेषण वक्ताहरूले गरे । कार्यक्रमले भविष्यको मार्गचित्र कोर्दै अबको राजनीति ‘पहुँच र गुट’ को नभई ‘विचार र निष्ठा’ को हुनुपर्ने सन्देश दिएको छ । हिजोका ती ‘भूइँमान्छे’ र भूमिगत सेलका योद्धाहरूलाई आजको सत्ता र शक्तिले बिर्सन नहुने र उनीहरूको योगदानलाई विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा समावेश गरिनुपर्ने आवश्यकतामा जोड दिइयो । 
​कार्यक्रममा बोल्दै प्रलेस, लुम्बिनी प्रदेशका अध्यक्ष डा.मुरारि पराजुलीले साहित्यिक कृतिहरूले समाज रूपान्तरणमा खेल्ने भूमिकाबारे प्रकाश पारे । उनले यस्ता ऐतिहासिक दस्तावेजहरूले भावी पुस्तालाई वैचारिक स्पष्टता दिने बताए । त्यस्तै, बुटवल उपमहानगरपालिकाकी निवर्तमान उपप्रमुख गोमादेवी आचार्यले भूमिगत आन्दोलनका कठिन दिनहरूको स्मरण गर्दै पुस्तकले महिलाहरूको त्यागलाई न्याय गरेको धारणा राखिन् । सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले स्थानीय तहसम्म यस्ता क्रान्तिकारी इतिहासको चर्चा हुनुपर्नेमा जोड दिइन् । ​परिचर्चाका क्रममा तिलक लामिछाने, माधव नेपाल र इन्दिरा अर्यालले पुस्तकबारे बोल्दै पुस्तकका विविध आयाममाथि टिप्पणी गर्दै इतिहासको न्यायका लागि यो पुस्तक कोशेढुङ्गा सावित हुने बताए ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष कृष्ण घिमिरे ‘गाउँले’ ले भने- “यो पुस्तक विगतको सम्झना मात्र होइन, वर्तमानको भ्रष्टीकरणविरुद्ध एउटा वैचारिक हस्तक्षेप पनि हो । हिजो सङ्घर्ष गर्ने ती योद्धाहरूको निष्ठाबाट आजको राजनीतिले सिक्न जरुरी छ । यदि हामीले उनीहरूको सङ्घर्षलाई दस्तावेजका रूपमा जोगाउन सकेनौँ भने आउने पुस्ताले आफ्नो वास्तविक धरातल बिर्सनेछ ।” गाउँलेले प्रलेसले आगामी दिनमा पनि यस्ता वैचारिक र ऐतिहासिक महत्त्वका विषयमाथि बहस जारी राख्ने प्रतिबद्धता जनाए । 
​प्रलेस रूपन्देहीका सचिव यज्ञलाल सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, स्वास्तिक श्रेष्ठ, अविरल आत्रेय, थम गुरुङ, सुवास रिजाल, बेनप्रसाद थापा, माधव गौतम, सरु ज्ञवाली, शंकर आचार्य, हुमराज भुसाल, मुकुन्दराज पोखरेल, कृष्ण प्रसाद कोइराला, रोशन नेपाल, किशोर गैरे, शंकर भण्डारी, गणेश घिमिरे, ओम प्रसाद ओझा, शारदा पाण्डे, धनु श्रेष्ठ, गीतारानी बलाल थापा, दुर्गा थापा मगर, सीता न्यौपाने उपाध्याय, जमुना गिरी, दीपक विश्वकर्मा, कविराज पौडेल, शान्ति गैरे, देवी वाग्ले, कमला घिमिरे, सुनिता रानालगायत लेखक तथा सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले हिजोका योद्धाहरूले उमारेको परिवर्तनको पीपललाई जोगाउने र सामाजिक न्यायको फल फलाउने जिम्मेवारी अब नयाँ पुस्ताको काँधमा आएको निष्कर्ष निकालेका थिए ।

छुटाउनुभयो कि ?

बुटवल ३ का वडाध्यक्ष ढकाल पदमुक्त

बुटवल ३ का वडाध्यक्ष ढकाल पदमुक्त

बुटवलबुटवल उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त भएका छन् ।माओवादी (नेपाली कांग्रेसको चुनाव चिन्हबाट निर्...
विष्णुको पक्षमा बडालको बहस, मालपानीको गाडी उपयोग गर्नेमाथि पनि अनुसन्धान हुनुपर्छ

विष्णुको पक्षमा बडालको बहस, मालपानीको गाडी उपयोग गर्नेमाथि पनि अनुसन्धान हुनुपर्छ

काठमाडौंवरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधीवक्ता रमेश बडालले व्यवसायी कमलकिशोर मालपानीको गाडी उपयोग गर्ने व्यक्तिमाथि पनि सम...
जिप्रका रुपन्देहीद्वारा २७ हजार ४ सय ६२ नागरिकता वितरण

जिप्रका रुपन्देहीद्वारा २७ हजार ४ सय ६२ नागरिकता वितरण

रुपन्देहीरुपन्देही जिल्ला प्रशासन कार्यालयले विसं २०८२ साउन १ गतेदेखि २०८३ जेठ ३१ गतेसम्मको अवधिमा २७ हजार ४६२ जनालाई नेपाली ...
मनसुनी प्रणाली देशका थप भागमा विस्तार

मनसुनी प्रणाली देशका थप भागमा विस्तार

काठमाडौंयस वर्षको मनसुनी प्रणाली देशका थप भूभागमा विस्तार भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार कोशी प्रदेशको सम...