रास्वपा सांसद: ‘शिक्षकलाई झपार्नेदेखि एसपीलाई घिसार्ने’ सम्मका अभिव्यक्ति


काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूलाई वैकल्पिक शक्ति, सुशासन र जनउत्तरदायी राजनीति गर्ने दलका रूपमा प्रस्तुत गर्दै आएको छ । तर पछिल्ला घटनाहरूले भने यस दाबीमाथि गम्भीर प्रश्न खडा गरेका छन् ।
रास्वपाका दुई सांसद अलग–अलग घटनामा विवादमा तानिएका छन् । एकातर्फ विद्यालय भ्रमणका क्रममा प्रोटोकलको विषय उठाउँदै प्रधानाध्यापकलाई सार्वजनिक रूपमा झपारिएको आरोप छ भने अर्कोतर्फ न्यायको माग गर्दै धर्नामा रहेका बेला प्रहरी प्रमुखलाई लक्षित गर्दै ‘घिसारेर लैजाने’ जस्ता धम्कीपूर्ण अभिव्यक्ति दिइएको भिडियो सार्वजनिक भएपछि जनप्रतिनिधिको मर्यादा र जिम्मेवारीमाथि गम्भीर प्रश्न उठेको छ ।
ओखलढुङ्गाबाट निर्वाचित सांसद विश्वराज पोखरेलले विद्यालय भ्रमणका क्रममा प्रधानाध्यापकले गेटसम्म आएर स्वागत नगरेको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि जनाउनु केवल व्यक्तिगत व्यवहारको विषय मात्र होइन, यो राजनीतिक संस्कारको प्रश्न हो । जनप्रतिनिधि हुनु भनेको सेवा भाव र नम्रता देखाउनु हो, न कि आफ्नो पद र विगतको ओहदाको धाक देखाउँदै शिक्षकजस्ता सम्मानित पेशाप्रति अपमानजनक व्यवहार गर्नु ।

२९ वर्षसम्म विशिष्ट श्रेणीमा काम गरेको अनुभव उल्लेख गर्दै ‘प्रोटोकल’को माग गर्नु लोकतान्त्रिक मूल्य र सामान्य नागरिकको मर्यादाविपरीत देखिन्छ । यस्तो व्यवहारले रास्वपाले बोकेको ‘नयाँ राजनीति’ को नारालाई कमजोर बनाएको छ ।

अर्कोतर्फ, सांसद खगेन्द्र सुनारसहितले जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा धर्ना दिएका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमै मृत्यु भएको घटनामा न्याय माग गर्दै बिहीबार साँझदेखि उनीहरू धर्नामा बसेका हुन् । प्रहरी हिरासतभित्र मृत्यु भएको घटनापछि न्यायको माग गर्दै धर्ना दिनु स्वाभाविक र आवश्यक लोकतान्त्रिक अभ्यास हो । पीडितका लागि आवाज उठाउनु जनप्रतिनिधिको कर्तव्य नै हो । तर, यही सन्दर्भमा रास्वपाका सांसद खगेन्द्र सुनारले प्रयोग गरेको अभिव्यक्ति भने गम्भीर विवादको विषय बनेको छ ।

जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना बसिरहेका क्रममा उनले सार्वजनिक रूपमा प्रहरी प्रमुख (एसपी) लाई लक्षित गर्दै ‘कानुनले काम नगरे यो एसपीलाई घिसारेर काठमाडौ लैजाउँछु’ भन्ने चेतावनीपूर्ण अभिव्यक्ति दिएका छन् । यस्तो अभिव्यक्ति, त्यो पनि एक निर्वाचित सांसदबाट आउनु, कानुनी शासन र संस्थागत मर्यादामाथि प्रश्न उठाउने खालको देखिन्छ ।

न्यायको माग गर्दै आन्दोलन गर्नु र राज्य संयन्त्रलाई जिम्मेवार बनाउनु लोकतन्त्रको मूल आधार हो । तर, त्यस क्रममा धम्कीपूर्ण र उत्तेजक भाषा प्रयोग गर्नुले आन्दोलनको नैतिक बल कमजोर पार्ने मात्र होइन, विधिको शासनमाथि अविश्वास झल्काउने सन्देश पनि दिन्छ । कानुनभन्दा माथि कोही छैन भन्ने सिद्धान्तलाई बलियो बनाउनुपर्ने ठाउँमा ‘घिसारेर लैजाने’ जस्ता शब्द प्रयोग गर्नु, जनप्रतिनिधिको भूमिकासँग मेल खाने व्यवहार होइन ।

उनले भनेका छन्, ‘एसपीको जिव्रो कापेको छ, हात कापेको छ । मैंले जिल्ला प्रशासनको गेटमा उभिएर भन्दैछु कानुनले काम गर्छ गरेन भने यो एसपीलाई घिसारेर लग्छु यहाँबाट ।’

रास्वपाले चुनावी अभियानका क्रममा ‘कानुनी शासन’, ‘जवाफदेहिता’ र ‘सभ्य राजनीतिक संस्कार’ को वकालत गरेको थियो । तर, पछिल्ला यस्ता घटनाहरूले ती प्रतिबद्धताहरू व्यवहारमा कत्तिको लागू भएका छन् भन्ने गम्भीर प्रश्न खडा गरेको छ ।

एकातर्फ विद्यालयमा सामान्य प्रोटोकलको विषयमा आक्रोश देखाउने, अर्कोतर्फ न्यायको मागकै नाममा धम्कीपूर्ण अभिव्यक्ति दिने यी दुवै घटनाले पार्टीका प्रतिनिधिहरूको आचरणमा असन्तुलन देखाएको छ ।

यदि साँच्चै वैकल्पिक राजनीति स्थापित गर्ने हो भने, शब्द र व्यवहार दुवैमा संयम, जिम्मेवारी र विधिप्रतिको सम्मान अनिवार्य हुन्छ । अन्यथा, पुरानै शैलीको पुनरावृत्ति हुँदै गएको आरोपबाट रास्वपा उम्कन कठिन हुनेछ ।

रास्वपाले यदि साँच्चिकै आफूलाई पुराना दलहरूको विकल्पका रूपमा स्थापित गर्न चाहन्छ भने, उसले आफ्ना नेता तथा सांसदहरूको आचरणमा कडाइका साथ एकरूपता ल्याउन आवश्यक छ ।

छुटाउनुभयो कि ?

बुटवल ३ का वडाध्यक्ष ढकाल पदमुक्त

बुटवल ३ का वडाध्यक्ष ढकाल पदमुक्त

बुटवलबुटवल उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त भएका छन् ।माओवादी (नेपाली कांग्रेसको चुनाव चिन्हबाट निर्...
विष्णुको पक्षमा बडालको बहस, मालपानीको गाडी उपयोग गर्नेमाथि पनि अनुसन्धान हुनुपर्छ

विष्णुको पक्षमा बडालको बहस, मालपानीको गाडी उपयोग गर्नेमाथि पनि अनुसन्धान हुनुपर्छ

काठमाडौंवरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधीवक्ता रमेश बडालले व्यवसायी कमलकिशोर मालपानीको गाडी उपयोग गर्ने व्यक्तिमाथि पनि सम...
जिप्रका रुपन्देहीद्वारा २७ हजार ४ सय ६२ नागरिकता वितरण

जिप्रका रुपन्देहीद्वारा २७ हजार ४ सय ६२ नागरिकता वितरण

रुपन्देहीरुपन्देही जिल्ला प्रशासन कार्यालयले विसं २०८२ साउन १ गतेदेखि २०८३ जेठ ३१ गतेसम्मको अवधिमा २७ हजार ४६२ जनालाई नेपाली ...
मनसुनी प्रणाली देशका थप भागमा विस्तार

मनसुनी प्रणाली देशका थप भागमा विस्तार

काठमाडौंयस वर्षको मनसुनी प्रणाली देशका थप भूभागमा विस्तार भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार कोशी प्रदेशको सम...