
काठमाडौं
अछाम जिल्लाको रामारोशन–५, सैनीका बाढीपीडित वर्षौंदेखि राहत र पुनर्स्थापनाको प्रतीक्षामा छन् । चार वर्षअघिको बाढीले घर, व्यापार र आफन्त गुमाएका उनीहरूको पुनर्स्थापना राज्यको प्राथमिकतामा छैन ।
०७८ भदौ २ गते राति आएको कैलाश खोलाको बाढीले सैनी बजारका २५ मध्ये २२ घर बगाएको थियो । त्यसबेला चार परिवारका १७ जना बेपत्ता भएका थिए । तीमध्ये सात जनाको मात्रै शव फेला परेको थियो । बाँकी १० जना अझ बेपत्ता छन् ।
यो बजार साबिक रामारोशन र भाटाकाटिया गाविसको व्यापारिक केन्द्र थियो । व्यापार बढेपछि स्थानीयले लाखौं लगानी गरेर घर–पसल निर्माण गरेका थिए । बाढीले सबथोक नास गरे पनि राज्यले पुनर्स्थापना गरेन ।
घटनापछि केही संघसंस्थाले खाद्यान्न र कपडा उपलब्ध गराएका थिए । त्यसबाहेक सरकारी निकायको उपस्थिति शून्यजस्तै रहेको स्थानीय दीर्घराज रोकायाले बताए । अहिले पनि विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले यहाँ आएर राहत र पुनर्स्थापनाको आश्वासन दिने गरेको उनले बताए ।
‘चुनाव आउँदा मात्र हामी मतदाता हुन्छौं । अरू बेला बेवास्ता गर्छन्,’ उनले भने, ‘चार वर्षदेखि हामी छटपटीमै बिताइरहेका छौं । एकै दिनको बाढीले बजार उजाड बनायो, हाम्रो उठिबास लाग्यो । यति हुँदा पनि राज्य भएको महसुस भएन ।’ सैनीबजारमा अहिले रोकाया र खडक बटालाको पसल मात्रै बाँकी छन् । बाढीले उक्त बजारका करिब २ सय ५० परिवार विस्थापित भए ।
अझै पनि धनेसल्ला, सोड्ना जात तोला लगायत बस्ती बाढी र पहिरोको उच्च जोखिममा रहेको रोकायाले बताए । ‘१७ जनाको ज्यान गयो, सम्पत्ति बगायो, हामीले अहिलेसम्म राहत पाएनौं,’ उनले भने, ‘चुनाव नजिकिँदै गर्दा नेताहरू मत माग्न आउँछन् । हामी भोट बैंकमात्र कहिलेसम्म हुने ?’
रामारोशन–५, सनानीका ८० वर्षीय झंकर साउद र ७५ वर्षीया श्रीमती सुर्जा साउद राहतको पर्खाइमा छन् । कैलाश खोलाको बाढीले आफूहरूको सपना, आशा र भरोसा सबै उजाड बनाएको उनले सुनाए । बाढीले उनका छोरा नन्दु साउदसहित ६ जनाको ज्यान लियो । ‘हामी अहिले एकले अर्काको आँसु पुछेर बाँचिरहेका छौं । परिवारमा कोही छैन,’ झंकरले भने, ‘०७९ को चुनावमा राहत दिन्छौं भनेर बोकेरै मत हाल्ने ठाउँमा लिए । त्यसपछि कोही फर्किएनन् ।’
चुनाव आउँदा मात्र नेताहरू मत माग्न आउने गरेको तर विपत्तिका बेलामा कसैको प्राथमिकता नपरेको उनीहरूले दुखेसो गरे । सन्तान नै बाढीले लगेपछि सरकारबाट ६ लाख रुपैयाँ राहत पाएको सुर्जाले बताइन् । ‘६ जनाको ज्यानका लागि ६ लाख राहत लिएका थियौं, अरू कसैले केही दिएका छैनन् । ऋण कसरी तिर्नू ? कसरी गुजारा चलाउनू ? सोच्दै सोच्दै दिन ढल्छ, रात पर्छ,’ उनी भन्छिन्, ‘हेचराह गर्ने मान्छे नहुँदा हाम्रो अवस्था अझ गाह्रो भएको छ । आफ्नो भरोसा आफैं हुनुपरेको छ ।’
दम्पत्ती नै आँखा राम्रोसँग नदेख्ने भएकाले झन् गाह्रो हुँदै गएको उनले बताइन् । ‘सुरुमा राहत दिन्छौं, खानेकुरा दिन्छौं भनेर धेरै आउँथे, अहिले त कसैले फर्केर हेर्दैनन्, उल्टै पैसा माग्न आउँछन् । लालपुर्जा पनि बाढीले बगायो । दिनका लागि हामीसँग के बाँकी छ र ?’ उनले भनिन् ।