
काठमाडौं
नीति र नेतृत्वको निर्णय एउटै मञ्चबाट गर्दा नीतिगत बहस ओझेलमा पर्ने र नेतृत्वको पक्षधरताले प्रभाव पार्ने विगतका अनुभवको निष्कर्षका आधारमा हामीले विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनलाई अलग-अलग आयोजना गर्ने व्यवस्था गरेका छौँ । तसर्थ, विधान महाधिवेशनका बेला नेतृत्वको र नेतृत्व चयन गर्ने महाधिवेशनका बेला नीतिको बहस गर्नु सान्दर्भिक हुँदैन ।
दुई महाधिवेशनका बिचमा राष्ट्रिय राजनीतिमा कुनै फेरबदल आयो र पार्टीका तात्कालिक नीतिहरूमा फेरबदल गर्नुपर्ने भयो भने त्यस्तो अख्तियारी महाधिवेशनले केन्द्रीय कमिटीलाई दिएकै हुन्छ । प्रत्येक घटनाबारे छलफल गर्न महाधिवेशनकै आयोजना गर्नु या त्यसको मञ्च प्रयोग गर्नु संभव र व्यवहारिक दुबै हुँदैन ।
सातौँ महाधिवेशनले पारित गरेको ‘राजतन्त्रको पारदर्शिता र प्रजातान्त्रीकरण’ को निष्कर्ष माघ १९ को घटनाले असान्दर्भिक, व्यर्थ र गलत साबित गरिदियो। तर हामीले महाधिवेशनबाट होइन, केन्द्रीय कमिटीको बैठकबाट लोकतान्त्रिक गणतन्त्रको ऐतिहासिक निर्णय गर् यौँ, जुन सही र सान्दर्भिक थियो ।
निश्चय नै, हाम्रा समग्र काम, उपलब्धि र कमीको वस्तुनिष्ठ समीक्षा जरूरी छ । तर आवेग, मनोवैज्ञानिक दूरी र पक्षधरतामा बाँडिएको बेला गरिने समीक्षा वस्तुनिष्ठ हुन सक्दैन, त्यो आरोप- प्रत्यारोप र ‘ब्लेम गेम’ मा रूपान्तरित हुन्छ । नेतृत्वमाथि यति गंभीर चुनौति खडा भएको बेला विधानको व्यवस्था बमोजिम स्थापना गरिएको स्वयंसेवक संस्थाबारे त कतिपय भिन्न स्वर सुनिन्छन् भने यति बेला समग्र विषयमा सम्यक विश्लेषण संभव देखिँदैन ।
तसर्थ, आसन्न महाधिवेशनलाई नेतृत्व चयनमा केन्द्रित गरौँ । त्यसका लागि सहमतिको हरसंभव प्रयत्न गरौँ । हुनै सकेनछ भने स्वस्थ, मर्यादित र लोकतान्त्रिक अभ्यास गरौँ र पार्टी एकतालाई थप सुदृढ गरौँ ।
कीर्तिपुर स्थित अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा चलिरहेको एनपिएलका खेलाडीहरू जत्तिकै ‘स्पोर्टम्यानसिप’ त सबैले अबलम्बन गरौँ न !
प्रदिप ज्ञवालीको फेसवुक पेजबाट साभार