
रूपन्देही
नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तरगत मंगलबार देशका सबै (७५३ वटै) पालिकामा जनप्रदर्शन गरेको छ । संसद् विघटनलाई प्रतिगामी षडयन्त्र भनेको एमालेले त्यसका विरुद्ध देशैभरि जनपरिचालन गर्ने निर्णय गरेअनुसार वडा,पालिका,जिल्ला र राष्ट्रिय रूपमा जनप्रदर्शनका कार्यक्रमहरू सार्वजनिक गरेको थियो ।
एमाले केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार २२ गते देशका सबै ६ हजार ७ सय ४३ वटै वडामा वडा भेलाहरू सम्पन्न भइसकेका छन् । उक्त भेलामा भदौ २४ पछि विकसित राजनीतिक घटनाक्रम,संसद्को गैह्र संवैधानिक विघटन र एमालेको आगामी बाटोका विषयमा कार्यकर्ताहरूलाई प्रस्ट पारिएको छ । विभिन्न जिल्लाबाट प्राप्त जानकारी अनुसार मंगलबारको कार्यक्रममा कतिपय पालिकाहरूले मोटरसाइकल ¥यालीमार्फत एमालेले शक्ति प्रदर्शन गरेको छ भने कतिपय पालिकाका केन्द्रमा नारा जुलुससहितका कार्यक्रम गरेर त्यहाँ रहेका केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरुले स्थानीयलाई अहिलेको राजनीतिक अवस्थाका बारेमा जानकारी दिएका छन् । कार्यक्रममा जनतालाई जगाउने नाराहरू पार्टी केन्द्रले तय गरेको र त्यसैलाई अघि बढाएको नेताहरुको भनाइ छ ।
प्रदर्शनलाई भव्य बनाउन हरेक सहभागीले एमालेको झन्डासहित जनप्रदर्शनमा सहभागी हुने, जनप्रदर्शन घना बस्ती भएको ठाउँमा गर्ने, जनप्रर्दशनको अन्त्यमा छोटो कोणसभा गर्ने र कोण सभामा वर्तमान राजनीतिक अवस्थाका बारेमा स्पष्ट पार्न नेताहरूलाई एमालेले निर्देशन गरेको थियो । जनप्रदर्शनका तस्बिर,भिडियो र मुख्य विषयवस्तु हरेक सदस्यले सामाजिक सञ्जालमा शेयर गर्न र सञ्चार माध्यमहरूमा पठाउन पनि एमालेले यसअघि नै निर्देशन गरेकोले अहिले त्यसैलाई अघि बढाएको नेताहरुको भनाइ छ । यसैबीच बुटवल उपमहागरकमिटीले आयोजना गरेको कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वमुख्यमन्त्री लिला गिरीले असंवैधानिक तरिकाले गरिएको प्रतिनिधि सभा पुनःस्थापना र विध्वंसात्मक कार्यमा संलग्नलाई कारबाही गराउने आन्दोलनमो मुख्य माग रहेको जनाएका छन् । एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख मिनप्रसाद पौडेलका अनुसार रुपन्देहीका १४ पालिकामा जनप्रदर्शन र सभा भएको र ती क्षेत्रमा पूर्वनिधारित खटिएका नेताहरुले सम्बोधन गरेका छन् ।
‘सियारी र ओमसतियामा बुधबारका लागि तय भएको छ, अरु १४ पालिकामा मंगलबार कार्यक्रम भएका छन्’ उनले भने ।
मंगलबारको जनप्रदर्शन सकेपछि कात्तिक २९ गते जिल्लास्तरीय आमसभा,मंसिर ६ गते काठमाडौँमा हुने जनप्रदर्शन र आगामी महाधिवेशनको प्रचारको रूपमा पनि रहने एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिए । कंडेलका अनुसार प्रदेशका अधिकांश पालिकामा मंगलबार नै कार्यक्रम भएको र केही पालिकामा प्राविधिक समस्याले रोकिएको र अब जिल्ला केन्द्रीत कार्यक्रम प्रभावकारी बनाउने योजना रहेको छ ।