संसद्‌मा ३२ विधेयक, दलहरूका छन् आ–आफ्नै नीति


काठमाडौं

संघीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि शुरु हुँदैछ ।

बजेट अधिवेशनको रूपमा लिइने बर्खे अधिवेशनमा कानुन निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउने तयारी छ ।

संसद् सचिवालयका अनुसार हाल संघीय संसदमा ३२ वटा विधेयक छन् । २७ वटा विधेयक प्रतिनिधिसभामा विचाराधीन छन् भने ५ वटा विधेयक राष्ट्रिय सभामा छन् ।

‘विधेयक अगाडि बढाउने गरी नै संसद्को क्यालेन्डर तयार हुन्छ,’ संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले भने ।

बर्खे अधिवेशनको प्राथमिकता बजेट हो । तर, अधिवेशनको सुरुवात देखि नै विधेयकलाई समेत अगाडि बढाउने गरी क्यालेन्डर बनाउन सत्तारुढ दलहरूले संसद सचिवालयलाई सुझाएका छन् । यस आधारमा संसद् सचिवालयले क्यालेन्डरको मस्यौदा तयार पारेको छ ।

जसमा शुक्रबार संसद्‌मा दलीय आधारमा सम्बोधन गर्ने र एउटा विधेयक अगाडि बढाउने प्रस्तावित कार्यतालिका छ । त्यसपछि प्रतिनिधिसभाको अर्को बैठक वैशाख १४, १५ र १६ गते बस्नेछ । ती बैठकमा विधेयक नै अगाडि बढाउने भनिएको छ ।

१९ गते राष्ट्रपतिबाट नीति तथा कार्यक्रममार्फत संसद्लाई सम्बोधन गर्ने सम्भावित कार्यतालिका छ । प्रीबजेट छलफल २८ वैशाखदेखि गर्ने तयारी छ ।

बजेट प्रस्तुत हुने १५ दिन अगावै प्री बजेट छलफल गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

बजेट सँगै अन्य महत्वपूर्ण विधेयकसमेत अगाडि बढाउने तयारी रहेको सभामुख देवराज घिमिरेले नै बताएका छन् ।

बर्खे अधिवेशनको पूर्वसन्ध्यामा सभामुख घिमिरेले बुधबार प्रमुख राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए । जहाँ उनले विधेयकको चाप रहेको उल्लेख गर्दै शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद् सञ्चालन गर्ने प्रस्ताव राखेका थिए ।

बैठकमा सभामुख घिमिरेले विद्यालय शिक्षा विधेयकलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसद्को रहेको बताएका थिए ।

नीति तथा कार्यक्रम र बजेटका प्राविधिक सीमालाई ध्यान दिँदै शिक्षा, निजामती लगायतका विधेयक बर्खे अधिवेशनमा पारित गर्न तयारी अवस्थामा रहेर अगाडि जानुपर्ने बताएका थिए ।

सभामुखको अभिव्यक्तिसँग सत्तारुढ दलहरू सहमत छन् । बजेटसँगै विधेयक अगाडि बढाउने गरी भूमिका खेल्ने सत्तारुढ दलको प्रतिवद्धता छ ।

प्रतिपक्षी दलहरू पनि संसद्मा विचाराधीन विधेयक अगाडि बढाउन सहयोग गर्ने बताउँछन् ।

बर्खे अधिवेशनको पूर्वसन्ध्यामा बिहीबार प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले शिक्षा विधेयक र निजामती विधेयक अगाडि बढाउन भूमिका खेल्ने निर्णय गरेको छ ।

विद्यालय शिक्षा विधेयक संसदीय उपसमितिमा छ । निजामती विधेयक संसदीय उपसमितिबाट अगाडि बढेको छ । यी लगायतका विधेयक अगाडि बढाउन भूमिका खेल्ने निर्णय भएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

शिक्षकहरू विद्यालय शिक्षा विधेयक अगाडि बढाउन आग्रह गर्दै सडक आन्दोलनमा छन् । निजामती कर्मचारी ट्रेड युनियनहरू समेत ऐन मागेर आन्दोलनका कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

छुटाउनुभयो कि ?

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बुटवलनेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्...
देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

बुटवलहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्व...
फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...