
काठमाडौं, वैशाख ६ – दोस्रो अन्तर्राष्ट्रिय म्याथमेटिक्स (गणित) ओलम्पियाडमा सहभागी हुन नेपाली विद्यार्थीको टोली आज तुर्कमेनिस्तान प्रस्थान गरेको छ। प्रतियोगितामा गुल्मीका आयुष मरासिनी सहित ६ जना विद्यार्थी सहभागी छन्।
गुल्मीको रेसुङ्गा नगरपालिका–६ निवासी मरासिनी हाल बुटवलको ड्राइभरटोलस्थित न्यू होराईजन कलेजमा अध्ययनरत छन्।

नेपालबाट छनोट भएका ६ जना प्रतिभावान विद्यार्थीहरु अप्रिल २१ देखि २६ सम्म तुर्कमेनिस्तानको शिक्षा मन्त्रालयको आयोजनामा हुने प्रतियोगितामा सहभागी हुँदैछन्। करिब ३० भन्दा बढी राष्ट्रका ३०० भन्दा बढी विद्यार्थीहरू सहभागी हुने उक्त प्रतियोगिता व्यक्तिगत तथा समूहगत रूपमा सञ्चालन हुनेछ।
नेपालबाट पहिलो पटक सहभागिता जनाउन लागेको यो प्रतियोगितामा सहभागी विद्यार्थीहरूमा आयुष मरासिनी (गुल्मी), आयुष ठगुना (दार्चुला), आशिष मिश्र (धनुषा), सुहित ढुंगाना (भक्तपुर), प्रकृश आचार्य (काठमाडौं) र शुभम श्रेष्ठ (काठमाडौं) रहेका छन्।

टोलीको नेतृत्व म्याथमेटिक्स एसोसिएशन अफ नेपालका केन्द्रीय सह–कोषाध्यक्ष डा. सरस्वती आचार्यले गर्नुभएको छ भने शिक्षक धर्मेन्द्रकुमार यादवले सह–नेतृत्वको भूमिका निर्वाह गर्नुहुनेछ।