पूर्वराजाप्रति प्रमुख दल सशंकित : संवैधानिक दायराभित्र रहन शीर्ष नेताहरूको चेतावनी


काठमाडौँ

सत्तापक्ष कांग्रेस–एमाले र प्रतिपक्ष माओवादीले पूर्वराजा ज्ञानेन्द्र शाहले अराजक गतिविधि गरे त्यसको प्रतिवाद गर्ने चेतावनी दिएका छन् । प्रमुख तीन दलका शीर्ष नेताहरूले पूर्वराजा शाहलाई ‘जबर्जस्ती गर्न खोजे सह्य नहुने’ चेतावनी दिएका हुन् । उनीहरूले पूर्वराजा शाहलाई संविधानभित्र रहन पनि आग्रह गरेका छन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै राजावादीले अराजकता मच्चाएर राष्ट्रिय एकतामा भाँजो हाल्न खोजेको आरोप लगाए । ‘केही तत्त्वहरू प्रणाली, संविधान होइन, हा हुका भरमा, अराजकता मच्चाएर सत्ताकब्जा गर्न खोज्दै छन् । कुन प्रणाली ल्याउन खोजेको हो, स्पष्ट छैन । यो संविधान फालेर कुन संविधान ल्याउने ? कस्तो संविधान ल्याउने ? राणाशासनतिर फर्कने ? पञ्चायततिर फर्कने ? कता फर्किने ? यो वा त्यो रूपमा जहानियाँ शासनतिर ?’ उनले प्रश्न गरे, ‘गन्तव्यहीन खालका कुराको बाढी छ । हरेक मान्छे राजा हुँ कि जस्तो कुरा गर्छन् । राजा हो कि जस्तो संविधान मान्न नपर्ने । संविधानभन्दा माथिको जस्तो कुरा गर्छन् ।’

उनले जात र धर्मका नाममा फाटो ल्याउन खोजको आरोपसमेत लगाए । ‘अनेक नाउँमा राष्ट्रिय एकता भाँजो हाल्ने प्रयास भइरहेको छ । जात, धर्म, पहिचानका नाममा होस् कि अरू नाममा होस् । विभिन्न ढंगले जनताको बीचमा फाटो ल्याउने, देशलाई अघि बढ्न नदिने नियन्त्रित अस्थिरताभित्र राख्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘दुई/चार जना जनाधार, जनसमर्थन नभएका उरन्ठेउला व्यक्तिले सञ्चालन गरेर चल्छ ? संवैधानिक बाटोबाट जानुपर्छ । लोकप्रिय छु भने ०८४ पर्खनुपर्छ ।’

तराई–मधेश जागरण अभियानका क्रममा रौतहट पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले राजनीति गर्ने भए पार्टी खोल्न पूर्वराजा शाहलाई सुझाव दिए । ‘जनताले उदारतापूर्वक कारबाही गर्नुको सट्टा आरामसित बस्न दिएको हो । उदारतालाई राजाले कमजोरी ठानेको हो भने पार्टी खोलेर चुनाव लड्न आए हुन्छ,’ उनले भने, ‘जबर्जस्ती गर्न खोजियो भने त्यो सह्य हुन्न ।’ उनले राजतन्त्र ल्याउन खोजेर ‘इतिहासको चक्का पछाडि फर्काउन सम्भव नभएको’ बताए ।

गत बिहीबार महोत्तरीमा कांग्रेस सभापति शेरबहादुर देउवाले पनि गणतन्त्रमा राजतन्त्रको स्थान नभएको बताएका थिए । ‘राजा स्वयं नै कारक भएर गणतन्त्र आयो,’ उनले भने, ‘राजाले सत्ता सम्हालेपछि नेताहरूलाई यातना दिने, थुन्ने, जेल हाल्ने अलोकतान्त्रिक हर्कत गरे । ज्यादती गरेपछि गणतन्त्र आयो । गणतन्त्र स्थापना हुनुमा राजा स्वयंकारण हुन् ।’

शनिबार डोटीमा भएको पत्रकार सम्मेलनमा कांग्रेस नेता एवं गृहमन्त्री रमेश लेखकले लोकतन्त्रविरुद्ध षड्यन्त्र भइरहेको उल्लेख गर्दै सजग हुनुपर्ने बताए ।

‘क्रान्तिबाट फालिएका राजा त्यसै देशमा बसेको उदाहरण संसारमा कमै छ,’ उनले भने, ‘देशभित्र उन्नत लोकतन्त्र भइरहेकाले पूर्वराजा ज्ञानेन्द्र नागरिकसरह नेपालमै बसेर अधिकार उपभोग गर्न पाइरहेका छन् ।’ उनले नेपाली समाज निरंकुशताबाट लोकतन्त्रमा आएकाले राजतन्त्र फर्कने भ्रममा नपर्न सुझाव दिए । पूर्वराजालाई पार्टी खोलेर खुला छलफलमा आउनसमेत उनले चुनौती दिए ।

‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, लोकतन्त्रको विकल्प कुनै निरंकुशता हुन सक्दैन,’ उनले भने ।

बुधबार राप्रपाले भ्रष्टाचार, बेथितिका विरुद्ध, राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा जनमत निर्माण गर्न भन्दै काठमाडौंमा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेको थियो । यसअघि धनगढी, इटहरी, बुटवल, पोखरालगायतमा सभा गरिएको थियो । माघ र फागुन महिनाभर देशभर कार्यक्रम गर्ने र चैतमा काठमाडौंमा केन्द्रीय प्रदर्शन गर्ने निर्णय पार्टीले गरेको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताएका छन् ।

‘राजादेखि राजनीतिक दलसम्म अटाउने व्यवस्था चाहिन्छ भनेर जनमत बढाउन देशभर कार्यक्रम गर्दै आएका छौं,’ उनले भने । राप्रपाको केन्द्रीय पदाधिकारीको बैठकले राजनीतिक परिस्थितिको समीक्षा, देशभर भइरहेका पार्टीका कार्यक्रम र प्रदर्शनको समीक्षासमेत गरेको छ ।

माओवादीको तराई–मधेश अभियान स्थगित

राजावादीको गतिविधिका कारण काठमाडौं केन्द्रित कार्यक्रम गर्ने भन्दै माओवादीले हुलाकी राजमार्ग केन्द्रित एकमहिने तराई–मधेश जागरण अभियान स्थगित गरेको छ । झापाको कचनकबलबाट फागुन १२ देखि सुरु भएको जागरण अभियान शनिबार रौतहट पुगेर स्थगित भएको हो । रौतहटमा माओवादी अध्यक्ष दाहालले राजावादीले अराजक गतिविधि गरे सह्य नहुने बताएका थिए ।

माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाका अनुसार संसद्को कामकारबाहीलाई प्रभावकारी बनाउन, संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीविरुद्ध भइरहेका गतिविधिको प्रतिवाद गर्न एकमहिने अभियान स्थगित गरिएको हो । ‘गणतन्त्रविरुद्ध गतिविधि गरेर अराजकता मच्चाउन खोजेको देखियो । यसको प्रतिवाद गर्नु अहिलेको आवश्यकता हो,’ उनले भने, ‘संसद्का काम प्रभावकारी बनाउन अभियान स्थगित गरिएको हो ।’ माओवादीले मधेशमा अभियान चलाइरहेकै बेला शनिबार वीरगन्जमा राजावादीले प्रदर्शन गरेका थिए ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...