
काठमाडौँ
सिनामंगलमा रहेको अति जोखिमयुक्त हवाई इन्धन डिपो सार्ने प्रक्रिया अघि बढेको छ । डिपो स्थानान्तरणका लागि विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) गर्न त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानलाई जिम्मा दिइएको छ ।
डीपीआर गर्न संस्थानको कन्सल्टेन्सी सेवा विभागका सहप्राध्यापक नारायणप्रसाद गौतम र सिनामंगलस्थित हवाई इन्धन डिपो प्रमुख प्रदीप यादवबीच बुधबार द्विपक्षीय सम्झौता भयो ।
सम्झौतासँगै अति जोखिममा रहेको डिपो स्थानान्तरण प्रारम्भ भएको यादवले बताए । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको विशेष निर्देशन र निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टको नेतृत्वमा नयाँ ठाउँमा डिपो स्थानान्तरणको काम सुरु भएको उनको भनाइ छ ।
‘५० वर्षअघि बनेको हवाई इन्धन डिपोमा सुरक्षाको मापदण्ड पूरा गरिएको छैन । हवाई उडान बढ्दो क्रममा छन् । तर त्यहाँ भने जति हवाई इन्धन मौज्दात गर्न सकिएको छैन । मौज्दात कम्तीमा १५ दिनलाई हुनुपर्नेमा ५/६ दिनलाई मात्रै पुग्ने अवस्था छ,’ यादवले भने, ‘अझ डरलाग्दो त, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड पुगेको छैन । मुख्य धावनमार्गको केन्द्रदेखि ट्याक्सी वेबीचको दूरी १७२.५ मिटर हुनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ । अहिले धावनमार्ग (रनवे) बाट करिब ९० मिटरकै दूरीमा डिपो छ ।’
आइकाओको मापदण्ड र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजनाअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विमानस्थलभित्र पूर्वाधार विस्तार गरिरहेको छ । अब विस्तार हुने ‘ट्याक्सी वे’ र हवाई इन्धन ट्यांकी नजिकै पर्छन् । यसले चुनौती थपिएको छ । ‘डिपो स्थानान्तरण नहुँदा प्राधिकरणले मापदण्डअनुसार पूर्वाधार विस्तारको काम गर्न सकेको छैन,’ यादवले भने, ‘मुख्यतः सुरक्षा नै हो ।’ ०७१ यता तीन ठूला हवाई दुर्घटना विमानस्थलभित्र भइसकेको यादवको भनाइ छ ।
०७१ फागुन २० मा २ सय २३ यात्रुसहित टर्कीको इस्तानबुलबाट काठमाडौं आएको एयरबस ३२०–३०३ विमान त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको थियो । अवतरण गर्ने क्रममा विमान रनवेबाट करिब २५ मिटर टाढा गएर अगाडिको भाग जोतिन पुगेको थियो । जहाज दुर्घटनामा परे पनि ठूलो क्षति हुनबाट टरेको थियो । ०७४ फागुन २८ मा त्रिभुवन विमानस्थलमै अर्को हवाई दुर्घटना भएको थियो । अवतरण गर्ने क्रममा यूएस बंगला विमान दुर्घटनामा पर्दा चालक दलका चार सदस्यसहित ५१ जनाको ज्यान गएको थियो । ०८१ साउन ९ मा सौर्य एयरलाइन्सको जहाज विमानस्थलभित्र दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो । ‘नजिकै रहेको डिपोमा जहाज ठोक्किए त्यसबाट हुने क्षतिको कल्पना पनि गर्न सकिन्न । त्यसैले थप उच्च सतर्कता आवश्यक छ,’ यादवले भने ।
पछिल्लो पटक सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि साउन २८ मा प्रधानमन्त्री केपी शर्मा ओलीले डिपो स्थानान्तरण गर्न निर्देशन दिएका थिए । त्यसको भोलिपल्ट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, कार्यकारी निर्देशक चण्डिका भट्टसहितको टोलीले जग्गा निरीक्षणसमेत गरेका थिए । निरीक्षणका क्रममा मन्त्री भण्डारीले पनि तत्काल स्थानान्तरण गर्न भनेका थिए ।
सुरक्षाका दृष्टिले अति संवेदनशील मानिएको डिपोलाई दीर्घकालीन रूपमा प्रयोग गर्ने गरी सार्नुपर्ने सांसदले समेत माग गर्दै आएका छन् । गत भदौमा भएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा धेरैजसो सांसदले डिपो तत्काल सार्न मागसमेत गरेका थिए ।
लामो प्रयासपछि बुधबार डीपीआरको प्रक्रिया अगाडि बढेको हो । डीपीआर सम्झौता कार्यक्रममा संस्थानका सहप्राध्यापक नारायणप्रसाद गौतमले नीति–नियम र मापदण्डमा रहेर डीपीआर बनाइने बताए । संस्थानसँग राष्ट्रिय गौरवका आयोजनाको समेत डीपीआर गर्ने क्षमता भएकाले डिपोको अध्ययन र डिजाइन गर्न कुनै समस्या नहुने उनको भनाइ छ ।
‘संस्थानले राष्ट्रिय गौरवका आयोजनाको पनि डीपीआर गरिसकेको छ । निगमकै पनि ६/७ वटा प्रोजेक्टमा काम गरिसकेका छौं, अहिलेसम्म कुनै समस्या आएको छैन,’ गौतमले भने, ‘यो डिपो पनि राष्ट्रिय महत्त्वको आयोजना हो, सबैको सहयोग जरुरी छ ।’ निगमको अभियानलाई संस्थानले साथमा लिएर अगाडि बढ्ने संस्थानका सहायक डिन सुरज लामिछानेले बताए । ५० वर्षदेखि पुल्चोक कलेजसँग डीपीआरको अनुभव भएको उनको भनाइ छ । ‘हामीसँग अनुभवी र दक्ष जनशक्ति छन् । तिनको प्रयोग गरेर आयल निगमले अघि बढाउन लागेको परियोजनाका लागि उत्कृष्ट सेवा दिन्छौं,’ उनले भने ।
डिपो स्थानान्तरण परियोजनालाई दिगो र सबल बनाउन पुल्चोक कलेजले गर्ने डीपीआरले सघाउने सिनामंगल डिपोका इन्जिनियर अनुपम पराजुलीले जनाए । इन्जिनियरिङ कलेजको अनुभव र विशेषज्ञता प्रयोग गर्न पाउँदा खुसी लागेको उनको भनाइ छ ।
विमानस्थलको उत्तरतर्फ नेपाली सेनाको गल्फ कोर्स नजिकै गुह्येश्वरीतर्फ नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराउने ५० रोपनी जग्गामा नयाँ बन्ने डिपो स्थानान्तरण हुनेछ ।
हवाई इन्धन डिपो स्थानान्तरणका लागि क्यानले २०१८ मा अध्ययन गरेको थियो । आइकाओको निर्देशनअनुसार क्यानले जर्मनीको हंसा कन्सल्टेन्सीबाट अध्ययन गराएको थियो । क्यानले एडीबीको सहयोगमा एयरपोर्ट विस्तार र डिपोको सुरक्षित स्थानान्तरणका लागि अध्ययन गराएको थियो । त्यस क्रममा उसले उत्तरतर्फ नेपाली सेनाको गल्फ कोर्स नजिकैको स्थान उत्तम रहेको औंल्याएको थियो ।
करिब ५० वर्ष पुरानो सिनामंगल हवाई इन्धन डिपोको भण्डारण क्षमता ७ हजार ६ सय ६० किमि छ । अहिले दिनको चार सय किलोलिटर हवाई इन्धन बिक्रीवितरण हुँदै आएको छ ।
१ हजार ६ सय किलोलिटरका तीन, ७ सय ६० किलोलिटरका ३ र ७० किलोलिटर क्षमताका ८ वटा इन्धन भण्डारण ट्यांकी छन् । नयाँ डिपोमा ३ हजार किलोलिटर क्षमताका ५ वटा भण्डारण ट्यांक रहनेछन् ।
नयाँ डिपो निर्माणका लागि डीपीआर बनाउन दुई संस्थाबीच १ करोड ९८ लाख ८४ हजार १ सय ८३ रुपैयाँको सम्झौतासमेत भएको छ । ‘संस्थानले करिब ६ महिनाभित्र डीपीआर प्रतिवेदन पेस गर्छ । २०८४ सम्म डिपो स्थानान्तरण गर्ने लक्ष्य छ,’ यादवले भने । सन् २०१८ मा भएको अध्ययनले लागत ६ अर्ब देखाएको थियो, मूल्यवृद्धिका कारण लागत अझै बढ्ने अनुमान छ ।