फूलमाला आयातले त्रसित नेपाली कृषक : भित्रिन थाल्यो भारतीय फूलमाला


बुटवल

हरेक वर्षको तिहारमा सबैभन्दा बढी फूलमालाको खपत हुने गर्दछ । यस वर्षको तिहार नजिकिँएसँगै व्यापारीहरु फूलमालाको जोहोमा लागेका छन् । कृषकहरु पनि उत्पादन बजारमा पठाउन तयारी अवस्थामा छन् । तर, भारतबाट फूलमाला भित्रियो भने मुल्य नपाउने चिन्ता उत्तिकै छ । 

रुपन्देहीको तिलोत्तमामा सामुहिक फूल खेती गर्दै आएको क्षितिज कृषक समुहकी सदस्य नविना भण्डारीले हरेक वर्ष भारतीय फूलमाला भित्रिदा मुल्य नपाउने त्रास रहिरहेको गुनासो गरिन् । यस वर्ष पनि भारतीय फूलमाला भित्रिने हो भने उनीहरुको उत्पादनले मुल्य पाउने छैन । गत वर्ष पनि लक्ष्मी पूजाको दिनदेखिनै भारतीय सीमाबाट करोडौंको अवैध फूलमाला भित्रिँदा नेपाली कृषकले प्रति माला २०/३० रुपैयाँमा पनि बिक्री गर्न नसकेको गुनासो गरिन् । करिब १३ कट्ठा जमिन भाडामा लिएर उनीहरुले खेती गर्दै आएका छन् । यस वर्ष पनि करिब २ हजार ५ सय फूलमाला बिक्री गर्ने लक्ष्य रहेको भण्डारीले बताइन् ।

फ्लोरिकल्चर एसोसिएसन रुपन्देहीका अध्यक्ष किरण श्रेष्ठका अनुसार गतवर्ष भारतबाट फूलमाला भित्रीँदा यहाँका साना व्यवसायी तथा कृषकले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको थियो । गतवर्षको अवस्था दोहोरीने त्रासमा साना व्यवसायी तथा कृषकहरु रहेको उनले बताए । रुपन्देहीमा हरेक वर्ष तिहारको समयमा करिब १ लाख फूलमाला खपत हुने उनी बताउँछन् । यद्यपी रुपन्देहीमा करिब २०/२५ हजार मालाका लागि मात्रै फूल उत्पादन हुने भएकाले अन्य जिल्ला वा भारतबाट ल्याउनु पर्ने बाध्यता रहेको उनले बताए । नेपाली उत्पादनलाई नै प्रयोग गर्नका लागि तिहार अगाडिनै फूलमाला भण्डारण गर्न प्रयाप्त कोल्डस्टोरको सुविधा नहुनु जनशक्तिको अभाव लगायतका समस्याहरु रहेको श्रेष्ठले बताए । विशेष गरी तिहारमा लक्ष्मी पूजाको दिन र भाई टिकाको दिन फूलमालाको बढी खपत हुने गर्दछ । उक्त दिनका लागि कृषकले पहिले नै फूल टिपेर भण्डारण गरेर राख्न कोल्डस्टोर नहुँदा सुकेर जाने, ढुसी लाग्ने तथा कुहिइने समस्या हुन्छ । 

रुपन्देहीको बुटवल उपमहानगरपालिका ढबाहमा व्यवसायीक फूल खेती गर्दै आएका राजेश कुंवरले रुपन्देही बाहिरका जिल्लाहरुमा उत्पादन भएका फूल समेत संकलन गरेर बिक्री गर्दै आएका छन् । यस पटकको तिहारका लागि पनि उनले गुल्मी, पाल्पा, अर्घाखाँची, कपिलवस्तु लगायतका जिल्लाबाट करिब ३ हजार माला संकल गरेर बिक्री गर्ने लक्ष्य राखेका छन् । यसैगरी १० कट्ठा क्षेत्रफलमा आफ्नो खेतीबाट २ हजार फूलमाला बिक्री गर्ने उनको लक्ष्य छ । तर भारतीय फूलमाला भित्रिएमा आफ्नो ब्यापार चौपट हुने चिन्ता उनलाई पनि छ । गत वर्ष अवैध रुपमा भारतीय फूलमाला भित्रिएर सडकमै फाल्नु पर्ने अवस्था आएकाले यो वर्ष साना व्यवसायी र कृषक सोही अवस्था दोहोरिने त्रासमा रहेको उनले गुनासो गरे । 

बुटवलको ट्राफिकचोकमा पुष्प व्यापार गर्दै आएका नविन श्रेष्ठले यो वर्ष नेपाली कृषकको उत्पादन घटेको बताउँछन् । भारतीय उत्पादन नेपाल भित्रिँदा अपेक्षित मुल्य नपाउने भएपछि कृषकहरुमा उत्साह कम रहेको उनले उल्लेख गरे । तिहारका लागि रुपन्देही बाहिरका विभिन्न जिल्लाहरुबाट समेत फूलमाला ल्याएर बिक्री गर्ने लक्ष्य राखेका उनले भारतीय सीमानाकामा सरकारले कडाइ गर्नुपर्ने बताउँछन् । ठूला व्यापारीहरुले सेटिङमै करोडौंको फूलमाला यो सिजनमा भित्र्याउने हुँदा नेपालका साना व्यवसायी र कृषक मारमा पर्दै आएको उनको गुनासो छ । 

रुपन्देहीमा ठूला पुष्प व्यवसायीमै गनिने सिद्धार्थनगर भैरहवाका रवि जैसवालले तिहारका लागि फूल भण्डारण गर्न सुरु गरिसकेका छन् । उनले रुपन्देही बाहिरका विभिन्न जिल्ला तथा बागमती प्रदेशको नारायणीबाट समेत फूलमाला भित्र्याउन लागेको उल्लेख गरे । गतवर्ष जस्तो यस वर्ष व्यापार हुनेमा उनले शंका व्यक्त गरे । व्यापार घट्ने देखेका उनले यो वर्ष करिब २ हजार फूलमाला बिक्री गर्ने लक्ष्य रहेको बताए । व्यापारीहरुमा भारतीय फूलमालाको त्रास रहे पनि जिल्ला प्रशासन कार्यालय रुपन्देही भने यसको नियन्त्रणका लागि चासो राखेको देखिँदैन । सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले कानूनी प्रक्रिया पूरा गरेर भित्रिने फूलमालालाई रोक्न नसकिने तर अनुगमनलाई भने प्राथमिकतामा राखेको दाबी गर्छन । ‘अहिलेको ग्लोबलाइजेनको अवस्थामा व्यापार नै रोक्ने भन्ने हुँदैन, भन्सार तिरेर भित्रीने फूलमालालाई रोक्ने कुरा हुँदैन । तर बजार अनुगमनलाई हामीले ध्यान दिई रहेका छौं ।’–अर्यालले भने । यद्यपी केही साना व्यवसायीहरुले भने रुपन्देहीमा अवैध फूलमाला भित्रिन लागिसकेको गुनासो गर्छन् । नाम उल्लेख नगर्ने सर्तमा एक व्यवसायीले रुपन्देहीमा अहिले नै १० हजार बढी फूलमाला भित्रिएर स्टोर भैसकेको उल्लेख गरे । तिहारको समयमा नक्कली बिल विजक बनाएर फूलमाला भित्र्याउने प्रचलन रहेको ती व्यवसायीले उल्लेख गरे । गत वर्ष पनि भारतबाट भित्रीएको करोडौं मुल्य पर्ने फूलमाला भैरहवाको कोल्ड स्टोरमा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवाा रहेको सिद्धार्थ कोल्ड स्टोरमा करिब १ लाख फूलमाला फेला पारेको थियो । यसरी हरेक वर्ष अवैध तरिकाले भारतबाट फूलमाला भित्रिँदा नेपाली कृषकमा फूलखेतीतर्फ अकर्षण कम हुने गरेको छ । 

फ्लोरिकल्चर एसोसिएसनले यसपालीको तिहारमा देशभर ३८ करोड रुपैयाँ बराबरको फूलको माला खपत हुने अनुमान गरेको छ । सयपत्री, मखमली र गोदावरी गरेर उक्त मूल्य बराबरको माला खपत हुने अनुमान गरिएको हो । एसोसिएसनका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङले तिहारबेला प्रत्येक वर्ष फूल र मालाको माग १० प्रतिशतले बढ्दै गएको बताउछन् । यसबर्ष ४५ लाख माला खपत हुने उल्लेख गर्दै उनले तिहारमा काठमाडौं उपत्यकाभित्र ६० प्रतिशत र बाहिरी जिल्लामा ४० प्रतिशत माला खपत हुने साथै ४० प्रतिशत विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको जानकारी दिए । पुष्प व्यवसायमा नेपाल ९० प्रतिशत आत्मनिर्भर भए पनि तिहारका बेला बजारमा बढी माला खपत हुँदा आयात हुने गर्छ ।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...