बिहारमा ४० मेगावाट बिजुली निर्यात सुरु


१२५ मेगावाट बिजुली बिहारमा निर्यात गर्ने स्वीकृति पाएकामा ४० मेगावाट कटैया प्रसारण लाइनबाट बिक्री सुरु, नेपालले प्रतियुनिट ८ रुपैयाँ ७२ पैसा पाउने

नेपालले पहिलो पटक भारतको बिहार राज्यलाई पनि बिजुली बेच्न सुरु गरेको छ । गत बिहीबारदेखि बिहारमा बिजुली निर्यात सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । बिहारमा ४० मेगावाट बिजुली निर्यात सुरु गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुष्टि गरे ।

‘कटैया–कुशहवा प्रसारण लाइनबाट ४० मेगावाट निर्यात गर्न सुरु गरेका छौं,’ उनले भने, ‘बिहारमा १२५ मेगावाट बिजुली निर्यात गर्ने स्वीकृति पाइसकेका छौं । बिस्तारै परिमाण बढाउँदै लैजान्छौं ।’

१४.४ मेगावाट क्षमताको मोदी, १४.४५३ मेगावाटको मायाखोला र ११.६४ मेगावाटको दूधकुण्ड आयोजनाको बिजुली निर्यात गर्न थालिएको प्राधिकरणले जनाएको छ । स्वीकृत अन्य आयोजनाको बिजुली पनि बिस्तारै निर्यात थालिने घिसिङको भनाइ छ । मध्यकालीन सम्झौताबमोजिम पीटीसी, भारतमार्फत बिहार राज्यमा बिजुली निर्यात गरिरहेको प्राधिकरणले बताएको छ ।

यही भदौ ३ मा भारतीय दूतावासले द्विपक्षीय सम्झौताबमोजिम नेपालले भारतका बिहार र हरियाणा राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको जनाएको थियो । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले मध्यकालीन सम्झौताबमोजिम हरियाणा राज्यलाई थप १२५.८९ मेगावाट र बिहारलाई १२५ मेगावाट निर्यात गर्न प्राधिकरणलाई स्वीकृति दिएको थियो ।

उल्लिखित तीन आयोजनासहित ११.६४ मेगावाटको दोर्दी– १, ९.९९१ मेगावाटको डाउन पिलुवा, १०.६७ मेगावाटका तल्लो खारे, ११.६४ मेगावाटको माथिल्लो खिम्ती, ६.८ मेगावाटको माथिल्लो खिम्ती–२, १४.६ मेगावाटको गण्डक, १९.२१ मेगावाटको माथिल्लो सोलु जलविद्युत् आयोजनाबाट उत्पादित १२५ मेगावाट विद्युत् बिहारमा निर्यात गर्ने स्वीकृति पाएको छ । बिहारसँग प्रसारण लाइन जोडिएका कटैया, रक्सौल र रामनगर बिन्दुमार्फत विद्युत् निर्यात गरिनेछ । अहिले कटैया प्रसारणलाइनबाट विद्युत् निर्यात गरिएको घिसिङले बताए ।

प्राधिकरणले हरियाणा राज्यका वितरण कम्पनीलाई दुई जलविद्युत् आयोजनाबाट उत्पादित थप १२५.८९ मेगावाट विद्युत् बिक्री गरिरहेको छ । प्राधिकरणले हरियाणा राज्यलाई हाल १०९ मेगावाट विद्युत् बिक्री गरिरहेको छ । हरियाणासँग पहिलेदेखि बिजुली बिक्री गरिरहेकाले स्वीकृति पाएको भोलिदेखि नै बिक्री सुरु गरे पनि बिहारसँग केही समय लागेको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषको भनाइ छ । ‘हरियाणालाई पहिलेदेखि नै बिजुली बेचिरहेका थियौं,’ उनले भने, ‘बिहारसँग पहिलो चोटि भएकाले बिजुली बिक्री गर्न प्राविधिक विषय टुंग्याउन केही समय लाग्यो । त्यसैले स्वीकृति पाए पनि बिजुली बिक्री गर्न केही ढिला भयो ।’

प्राधिकरणले आन्तरिक खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् हरेक वर्ष जुनदेखि अक्टोबरसम्म बिहार र हरियाणालाई बिक्री गर्नेछ । योसँगै मध्यकालीन सम्झौताबमोजिम भारतका राज्यस्तरका वितरण कम्पनीलाई बिक्री गरिने विद्युत्को परिमाण ३६० मेगावाट पुगेको छ । प्राधिकरणका अनुसार ९ सय ४१ मेगावाट बिजुली निर्यात स्वीकृति पाएकोमा थप १० प्रतिशत बढी बिक्री गर्न मिल्नेछ । अहिले प्रतिदिन करिब ८ सय मेगावाट बिजुली निर्यात भइरहेको प्राधिकरणको भनाइ छ । ‘मध्यकालीन सम्झौताअनुसार हामीले तलमाथि गर्न सक्दैनौं । बिहारमा बल्ल ४० मेगावाट बिजुली पठाउन सुरु भएको छ, अरु बिस्तारै जानेछ,’ घोषले भने, ‘प्रतिस्पर्धी बजारमा पनि आन्तरिक खपत गरी अतिरिक्त बिजुली बेचिरहेका छौं ।’

आगामी अक्टोबरसम्म बिक्री गरिने विद्युत्को बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ७२ पैसा (५.४५ भारु) छ । गत वर्ष हरियाणालाई बिक्रीका लागि स्वीकृति दिएको १०९ मेगावाटको प्रतियुनिट दर ८ रुपैयाँ ४० पैसा (५.२५ भारु) छ । यसमा भारततर्फको प्रसारण लाइन शुल्क, चुहावट, ट्रेडिङ मार्जिनलगायत सम्पूर्ण कर तथा शुल्क प्राधिकरणले बेहोर्नुपर्ने छैन ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । भारतको इनर्जी एक्सचेन्ज (आईएक्स) को रियल टाइम मार्केट, डे–अहेड बजारमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम हरियाणा राज्यलाई बिक्री गरिरहेको छ । प्रतिस्पर्धी बजार र मध्यकालीन सम्झौताबमोजिम भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री हुनेछ ।

चालु आर्थिक वर्ष ०८१/८२ को पहिलो महिना साउनमा मात्रै ४ अर्ब १९ करोड रुपैयाँको बिजुली भारततर्फ निर्यात भएको छ । प्राधिकरणले साउनमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको बिजुली भारततर्फ निर्यात गरी ४ अर्ब १९ करोड ३९ लाख २४ हजार रुपैयाँ आम्दानी गरेको छ । साउनमा दैनिक १३ करोड ११ लाख रुपैयाँको बिजुली निर्यात गरिएको हो । साउनमा निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ८ रुपैयाँ ५१ पैसा रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सुक्खायाममा नदीमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहहरूबाट विद्युत् उत्पादन घट्ने हुँदा गत आर्थिक वर्षमा भारतबाट १ अर्ब ८९ करोड युनिट अर्थात् १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गरेको थियो । तर यही अवधिमा १ अर्ब ९५ करोड युनिट विद्युत् भारतर्फ निर्यात गरी १७ अर्ब ६ करोड रुपैयाँ आम्दानी गरेको थियो । गत आर्थिक वर्षमा आयातभन्दा १३ करोड रुपैयाँको बढीको विद्युत् निर्यात भएको थियो ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...