सुवासचन्द्र नेम्वाङ – शालीन नेताको अकल्पनीय निधन


काठमाण्डाै – नेपाली राजनीतिमा प्रखर, शालीन र सबैलाई मिलाएर जान सक्ने नेताकोरुपमा छवि बनाएका संविधानसभाका अध्यक्ष, सांसद एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ ।

गएराति १ बजे हृदयघात भएपछि उहाँलाई शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउनेबित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेका थिए । संविधान दिवस आउन एक हप्ता बाँकी रहँदा त्यही संविधान जारी गर्ने नेतृत्वकर्ता नेम्वाङको दुःखद निधन भएको छ । 

नेपालको संवैधानिक व्यवस्थाका लागि ऐतिहासिक जिम्मेवारी सम्हालेका नेम्वाङ दुईपटक संविधानसभा अध्यक्ष हुनुभयो । उहाँ सभामुख पनि बनिसक्नुभएको छ । विक्रम संवत् २००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा नेम्वाङको जन्म भएको थियो । कानुनमा स्नातक गरेका नेम्वाङले केही समय कानुन व्यवसायमा समेत समय बिताउनुभयो ।

विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका नेम्वाङ २०२९ सालमा अनेरास्ववियुकातर्फबाट महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा स्ववियु सभापति हुनुभयो । २०३३ सालमा राजकाज मुद्दामा जेल परेका नेम्वाङ तत्कालीन नेकपा मालेमा सङ्गठित हुनुभएको थियो ।

२०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा माक्सवादी पार्टीबीच एकता भएपछि बनेको नेकपा एमालेको कानुन विभाग प्रमुख हुँदै २०५८ सालबाट नेम्वाङ केन्द्रीय सदस्यमा मनोनित हुनुभयो ।

एमालेको सातौँ महाधिवेशनमा उहाँ केन्द्रीय सदस्य निर्वाचित हुनुभयो । २०७१ सालमा भएको नवौँ महाधिवेशनपछि उहाँ स्थायी कमिटी सदस्य र  २०७८ सालमा भएको दशौँ महाधिवेशनमा उपाध्यक्ष बन्नुभयो । 

विक्रम संवत् २०४८ र २०५२ सालमा नेम्वाङ राष्ट्रिय सभाको अध्यक्ष रहनुभयो । २०५२ सालमै कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री हुनुभयो । २०५६ सालको संसदीय चुनावमा इलामबाट विजयी नेम्वाङ फेरि कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, त्यसपछि सामान्य प्रशासनमन्त्री हुनुभयो । २०५७ सालमा उहाँ संसद्को सार्वजनिक लेखा समितिको सभापति हुनुभयो ।

२०६३ सालको अन्तरिम संसदमा उहाँ सभामुख चयन हुनुभयो । २०६४ मा भएको चुनावमा इलामबाटै निर्वाचित नेम्वाङ संविधानसभाको अध्यक्ष हुनुभयो । त्यसपछि २०७० सालको दोस्रो संविधानसभा चुनावपछि पनि उहाँ अध्यक्ष बन्नुभयो । २०७४ साल र २०७९ सालको आम चुनावमा नेम्वाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो ।

सरल र भद्र स्वभाव अनि तौलिएर बोल्ने नेम्वाङ जीवनको अन्तिम क्षणमा कसैसँग बोल्नै नपाइ सधैँका लागि अस्ताउनुभयो । देशको राजनीतिक परिवर्तन र संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली ।

छुटाउनुभयो कि ?

बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

बुटवलजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल को...