यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा


२ चैत, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ । बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो ।जवाफमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भयो । यो जितसँगै नेपाल ४० अंकका साथ लिग टूको तेस्रो स्थानमा उक्लिएको छ । र, जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाउन सफल भएको छ ।

आसिफ खानको कीर्तिमानी शतक

यूएईले पहिलो विकेट सस्तैमा गुमाएको थियो । टिमको स्कोर १९ रन हुँदा आर्यन लक्रा व्यक्तिगत ६ रनमा आउट भएका थिए । महम्मद वसिम र भृत्य अरविन्दले दोस्रो विकेटका लागि ७९ रनको महत्वपूर्ण साझेदारी गरे ।

बुधबार मात्र पपुवा न्यूगिनीविरुद्ध शतक बनाएका वसिमलाई १६.२ ओभरमा व्यक्तिगत ६३ रनमा आउट गरेपछि नेपालले खेलमा फर्किने संकेत दिएको थियो । अरविन्दले एउटा एण्ड सम्हालेपछि नेपालले धेरै रन जोड्न दिएको थिएन र विकेट पनि लिएको थियो । पाँचौं विकेटका रुपमा रोहन मुस्तफा २० रनमा आउट हुँदा यूएईको स्कोर ३७.३ ओभरमा १७५ रन थियो । ४४औंभरको अन्त्यमा पनि उसको स्कोर २०८/५ थियो ।

तर अरविन्द र आसिफ खानको जोडीले अन्तिम ६ ओभरमा विस्फोटक ब्याटिङ गर्दै १०२ रन थप्यो । आसिफ खानले त छक्का र चौकाको वर्षा नै गरे । ४४ ओभर सकिँदा २० रन बनाएर खेलिरहेका उनले ४१ बलमा १०० रन पूरा गरे । सबभन्दा कम बलमा शतक पूरा गर्ने एशोसिएसट ब्याट्सम्यानको कीर्तिमान बनाएका उनी १०१ रनमा अविजित रहे । अरविन्द भने ९४ रन बनाएर इनिङकै अन्तिम बलमा आउट भए ।नेपालका सन्दीप लामिछाने, ललित राजवंशी र सोमपाल कमीले १–१ विकेट लिए ।

निर्णायक ४२ औं ओभर

जवाफमा नेपालको सुरुवात निकै खराब रह्यो । पहिलो ओभरमै आरिफ शेखलाई शून्यमै गुमाएको नेपालका कुशल मल्ल ५ र कप्तान रोहित पौडेल पनि व्यक्तिगत १६ रनमै आउट भए । ३/३७ को अवस्थामा रहेको नेपालको पारी चार ब्याट्सम्यानले लगातार अर्धशतक बनाएर सम्हाले ।सुरुमा कुशल भुर्तेल र भीम सार्कीको जोडी जम्यो । दुबैले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरे । ३२ बलमा ३ चौका र ४ छक्काको मदतमा अर्धशतक पूरा गरेका कुशल थप तीन बलको सामना गर्दै ५० रनमै आउट भए ।त्यसपछि भीम र आरिफ शेखले क्रिजमा जमेर खेले । दुबैले पाँचौं विकेटका लागि ८३ रनको साझेदारी गरे । तर, ३१औं ओभरको अन्तिम बलमा भीम एलबीडब्लू धरापमा परे । ७६ बलको सामना गरेका उनी ९ चौकाको मद्दतमा ६७ रन बनाएर आउट भए । त्यसपछि आरिफले अर्धशतक पूरा गरे ।

गुल्सन झाले क्रिजमा टिकेर साथ दिँदा खुलेर खेल्ने प्रयास गरेका आरिफले ३९औं ओभरको तेस्रो बलमा चौका हान्दै अर्धशतक पूरा गरे । उनी पनि थप ३ बलको सामना गरेर व्यक्तिगत ५२ रनमा आउट भए । त्यसपछि क्रिजमा गुल्सन झालाई साथ दिन दीपेन्द्र सिंह ऐरी आएका थिए ।

टिकेर खेल्दा नजिता नेपालको पक्षमा आउन सक्थ्यो, तर खराब प्रकाशका कारण अम्पाएरले जुनसुकै बेला खेल रोक्न सक्ने अवस्था थियो । त्यो बेला डिएल मेथडबाट निर्णय गर्दा नतिजा नेपालको पक्षमा हुने थिएन । किनकि ४१औं ओभर सकिँदा नेपालको स्कोर २३५/६ थियो, जबकी डिएलअनुसार जितका लागि २४४ रन चाहिथ्यो ।तर ४२औं ओभरमा खेल नेपालको पक्षमा आयो । महम्मद वसिमको बलमा गुल्सनले तीन चौका र एक छक्का प्रहार गरेपछि डीएलमा जाँदा वा नजाँदाको दुबै परिस्थितिमा खेल नेपालको अनुकल ढल्कियो । यो ओभरमा मात्र नेपालले आफ्नो खातामा २० रन थपेको थियो ।

थप २ ओभरपछि अम्पायरले खेल रोके, जतिबेला नेपालको स्कोर ४४ ओभरमा २६९/६ थियो । र, डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भयो ।

जिम्बाब्बेमा हुने वर्ल्ककप क्वालिफायरमा आईसीसी सुपर लिगका पुछारका ५ टिम, लिग टु को शीर्ष तीन टिम र प्लेअफ क्वालिफायरबाट आउने शीर्ष दुई टिम गरी १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।लिग टुबाट स्कटल्याण्ड, ओमान र नेपालले स्थान पक्का गरिसके । सुपर लिगबाट जिम्बाब्बे र नेदरल्याण्ड्सले खेल्ने पक्का भइसकेको छ भने तीन टिमको टुङ्गो लाग्न बाँकी छ ।अब लिग टु को पूछारका चार टिम नामिबिया, अमेरिका, युएई र पीएनजीसहित च्यालेन्ज लिगको शीर्ष दुई टिम क्यानडा र जर्सी गरी ६ टिमको प्लेअफ क्वालिफायर नामिबियामा यसै मार्चको अन्तिममा सुरु हुनेछ । जसबाट शीर्ष दुई टोलीले जिम्बाब्बेमा हुने वर्ल्ड कप क्वालिफायरमा स्थान बनाउनेछन् ।

छुटाउनुभयो कि ?

रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण

रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभ...
नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा

नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा

काठमाडौँप्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभामा दिएको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्ति विवादमा तानिएको छ । लिम्...
गुल्मेली सम्पर्क समाज रुपन्देहीको स्थापना दिवसमा बृहत रक्तदान तथा सम्मान

गुल्मेली सम्पर्क समाज रुपन्देहीको स्थापना दिवसमा बृहत रक्तदान तथा सम्मान

रुपन्देहीगुल्मेली सम्पर्क समाज रुपन्देहीले २३ औं स्थापना दिवस बृहत रक्तदान सहित विभिन्न कार्यक्रम गरि मनाएको छ । रक्तदान क...
पश्चिम नेपालमा वर्षा र हुरीको सम्भावना

पश्चिम नेपालमा वर्षा र हुरीको सम्भावना

१७ जेठ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भूभागमा बदली, वर्षा तथा हुरी चल्...