तेस्रो राष्ट्रपति चुन्न आज मतदान, बेलुका ७ बजेभित्रै परिणाम


२५ फागुन, काठमाडौं । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ ।निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।

राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् ।

निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको एक हलमा मतगणना सुरु गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए ।

संघीय सांसद (प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य) र प्रदेश सभा सदस्यहरुले निर्वाचनमा भाग लिनेछन् । संघीय सांसदहरुका लागि रातो र प्रदेश सभा सदस्यहरुका लागि हरियो रंगको मतपत्र बनाइएको छ । मतपत्रमा उम्मेदवारहरुको नामसहित फोटो पनि राखिएको छ । मतदाताले आफूलाई मन परेको उम्मेदवारको नाम र फोटो भएको कोठाभित्र स्वस्तिक छाप लगाउनुपर्ने छ ।

संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ छ । सबै उम्मेदवारको मतभार जोड्दा ५२ हजार ७८६ हुन्छ र राष्ट्रपति निर्वाचित हुन बहुमत अर्थात २६ हजार ३९४ मतभार चाहिन्छ ।

निर्वाचनलाई लक्षित गरी संसद भवन भित्र र बाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव हुन् । कांग्रेसबाट चुनिएका यादवको कार्यकाल २०६५ साल साउन ८ गतेदेखि २०७२ कात्तिक ११ गतेसम्म थियो । दोस्रो राष्ट्रपतिको रुपमा नेकपा एमालेबाट विद्यादेवी भण्डारी २०७२ कात्तिक ११ गते निर्वाचित भएकी थिइन् ।

भण्डारीको लगातार दुई कार्यकाल यही फागुन २८ गते सकिने भएकाले नयाँ राष्ट्रपति चुन्न आज निर्वाचन हुन लागेको हो । उपराष्ट्रपति पदको निर्वाचन भने चैत ३ गते हुनेछ ।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति पुनः निर्वाचनमा उम्मेदवार हुन नसक्ने संविधानमा व्यवस्था छ ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...
राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

बुटवलराष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा ...
४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...