तिक्तता मेटाउँदै एमाले–एकीकृत समाजवादी


१९ फागुन, काठमाडौं । राष्ट्रपतिका उम्मदेवार सुवास नेम्वाङसहित नेकपा एमालेका दोस्रो तहका नेताहरु बिहीबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय पुगे । अध्यक्ष माधवकुमार नेपाललाई भेट्न नेम्वाङसहित उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव रघुविर महासेठ र केन्द्रीय सदस्य बिमला राई पौड्याल एकीकृत समाजवादीको आलोकनगरस्थित कार्यालयमा पुगेका थिए ।

एमाले नेताहरुसँग अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल, महासचिव बेदुराम भुसाल, उपमहासचिवद्वय प्रकाश ज्वाला र जगन्नाथ खतिवडा तथा स्थायी कमिटी सदस्य रामचन्द्र झा भेटवार्तामा बसे । करिब सवा घण्टा भएको भेटपछि नेताहरुले सम्वाद सौहार्दपूर्ण बनेको बताए ।

राष्ट्रपति उम्मेदवारलाई मत माग्ने मुख्य प्रयोजनसहित बसेका नेताहरुले दुई पार्टीबीच सहकार्य बढाउने अवसर समेत मिलाइदिएको प्रतिक्रिया दिए । ‘दुई पार्टीबीचको एकता अगाडि बढाउने कुरामा चुनौतीका बीचमा जुन अवसर प्राप्त भएको छ, यो अवसरलाई अझै प्रयोग गर्नुपर्छ भन्ने हामीहरुबीच एकखाले सहमति भएको छ,’ एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, ‘यही अबसरलाई समातेर हामी फेरि पनि यस्तै भेटघाटको क्रमलाई अगाडि बढाउने कुरामा दुई पक्षका बीचमा सहमति भएको छ ।’

गुरुङपछि एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पनि संवाद सकारात्मक भएको बताए । आफूहरुको अस्तित्व माथि समेत टिप्पणी गरेको एमाले औपचारिक रुपमा आफूहरुको पार्टी कार्यालयमा आएर वार्ता गर्नु आफूहरुको लागि खुसीको कुरा भएको उनको टिप्पणी थियो ।

‘नेकपा एमालेले हाम्रो पार्टीको अस्तित्वमाथि अनेकौं पटक, अनेकौं कुरा भनिरहेको छ,’ उनले भने, ‘त्यही पार्टीले अहिले पार्टीको केन्द्रीय कार्यालयमा आएर औपचारिक संवाद गर्नु निकै खुसीको कुरा हो ।’ त्यसपछि केहीबेर रोकिएर खतिवडाले थपे, ‘यो एउटा परिवर्तनको संकेत हो ।’

लामो समय तिक्तापूर्ण सम्बन्धमा रहेका यी दुई पार्टीबीच विस्तारै न्यानोपना बढ्दै गएको यी दुई नेताको अभिव्यक्तिबाट पनि ठम्याउन सकिन्छ ।

बिगतमा भने एमाले र एकीकृत समाजवादीका नेताहरुबीचको सम्बन्ध समधुर थिएन । एमालेबाट विद्रोह गरेर ९ भदौ २०७८ मा एकीकृत समाजवादी बनेपछि दुई पार्टीका नेताहरु औपचारिक रुपमै संवादमा बसेको यो पहिलो पटक हो ।

बरु सार्वजनिक रुपमै तिक्ततापूर्ण सम्बोधन हुने गरेको थियो । एमालेले १०–१२ मंसिर २०७८ को दशौं महाधिवेशनमा सबै दललाई निमन्त्रणा दिँदा एकीकृत समाजवादीलाई छुटाएको थियो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल ।

कतिसम्म भने एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीलाई पार्टी नै नमानेको टिप्पणी गर्ने गरेका थिए । व्यक्तिगत रुपमा पनि ओलीले माधव नेपालप्रति रुखो अभिव्यक्ति दिने गरेका थिए । माधव नेपालको नाम लिंदा मुख कुल्ला गर्नेसम्म ओलीले बताउने गरेका थिए ।

नेपालले पनि ओलीलाई प्रतिगामीको संज्ञा दिँदै एमालेलाई टर्च बालेर खोज्ने अवस्थामा पुर्याइदिने चेतावनी दिन्थे । तर, गत आम चुनावपछि ओली र एमाले नेताहरुले नेपालसँग निकट सम्बन्ध बनाउने प्रयास गर्दै आएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ११ पुसमा प्रधानमन्त्रीको सपथ लिँदा ओली र नेपालबीच २० महिना लामो सम्वादहीनता टुटेको थियो । त्यसपछि ७ फागुनमा एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठको घरमा ओली र नेपालबीच ‘वान अन वान’ वार्ता भयो । उक्त भेटमा पार्टी एकताको सर्तसहित राष्ट्रपति बन्न नेपाललाई प्रस्ताव गरेका थिए ।

तर राष्ट्रपतिको चुनावलाई लिएर चुनावअघिकै गठबन्धन ब्युँतिएपछि नेपाली कांग्रेस र एमालेले आ–आफ्नो उम्मेदवार अघि सारेका छन् । कांग्रेसले रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ भने एमालेले नेम्वाङलाई ।

यसपछि राष्ट्रपतिमा सहयोग माग्दै ओलीले अध्यक्ष नेपाललाई सम्बोधन गरेर १३ फागुनमा औपचारिक पत्र समेत लेखे । उक्त पत्रमा एकीकृत समाजवादीको सहयोगको अपेक्षा गरिएको छ ।

चुनावअघिको समीकरणमा भए पनि नेपालले एमालेलाई समेत सरकारमा ल्याउनुपर्ने बताउन थालेका छन् । आफ्नो पार्टीको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन धनुषा पुगेका नेपालले पत्रकारहरुसँग कुरा गर्दै भनेका थिए, ‘सरकार पुनर्गठनबारे छलफल भएको छैन तर एमालेलाई किन सरकारबाट निकाल्ने ? एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्छ ।’

दुई पार्टीबीच सौहार्दपूर्ण सम्बन्ध बनाउन पछिल्ला भेटघाटले थप सहयोग पुगेको एकीकृत समाजवादीका नेताहरु समेत बताउँछन् । ‘एमालेबाट पछिल्लो समय भइरहेको प्रयत्नले सकारात्मक दिशातिर जान नै सहयोग पुगेको मान्न सकिन्छ’, प्रवक्ता खतिवडा भन्छन् ।

छुटाउनुभयो कि ?

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

बुटवलजनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी नि...
तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि...
बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

काठमाण्डौ — रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय वि...
भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

काठमाडौंभोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्...