बंगलादेशतर्फको बिजुली निर्यात बन्द



काठमाडौं
वर्षायाममा बंगलादेशतर्फ निर्यात हुँदै आएको ४० मेगावाट विद्युत् निर्यातको अवधि सकिएसँगै रोकिएको छ । सुख्खायाम सुरु भएसँगै आन्तरिक माग बढ्ने र नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाको उत्पादन घट्ने भएपछि नेपालले अब भारतबाटै विद्युत् आयात गर्नुपर्ने अवस्था आउने भएको छ । नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच भएको पाँचवर्षे सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशमा दैनिक ४० मेगावाट विद्युत् निर्यात हुँदै आएको थियो । यस वर्ष सम्झौताको अवधि आइतबार सकिएसँगै बंगलादेशतर्फको निर्यात रोकिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले अब अर्को वर्षको वर्षायाममा मात्रै बंगलादेशतर्फ विद्युत् निर्यात हुने बताए । सुख्खायाम सुरु हुनुका साथै चाडपर्व सकिएपछि उद्योग तथा कलकारखानासहित अन्य क्षेत्रमा विद्युत्को माग बढ्ने भएकाले निर्यात गर्न नसकिने अवस्था आएको उनको भनाइ छ । श्रेष्ठका अनुसार चाडपर्वका समयमा नेपालको विद्युत् प्रणालीमा माग १ हजार ८०० देखि १ हजार ९०० मेगावाटसम्म सीमित थियो । अब औद्योगिक तथा अन्य क्षेत्रको गतिविधि बढेसँगै विद्युत् माग २ हजार ४०० देखि २ हजार ५०० मेगावाटसम्म पुग्ने अनुमान छ । तर, उपलब्ध विद्युत् उत्पादन क्षमता २ हजार ६०० देखि २ हजार ७०० मेगावाट हाराहारी मात्रै रहेकाले निर्यातका लागि पर्याप्त विद्युत् बचत नहुने उनले बताए ।

‘सुख्खायाम सुरु भइसकेको छ । चाडपर्व र बिदा सकिएसँगै विद्युत् प्रणालीमा माग बढ्छ । उद्योग तथा कलकारखाना सञ्चालनमा आएपछि माग २ हजार ४०० देखि २ हजार ५०० मेगावाटसम्म पुग्न सक्छ । हामीसँग उपलब्ध उत्पादन पनि २ हजार ६०० देखि २ हजार ७०० मेगावाटभन्दा बढी छैन । भारततर्फ हुने निर्यात पनि घट्दै जान्छ । अबको एक हप्तादेखि १० दिनभित्र भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने ।

प्राधिकरणका अनुसार आगामी वर्षायाम सुरु नभएसम्म भारत र बंगलादेशतर्फ विद्युत् निर्यात हुने सम्भावना छैन । सुख्खायाममा नदी तथा खोलामा पानीको बहाव घट्दा जलविद्युत् आयोजनाको उत्पादन पनि घट्ने भएकाले आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था आउनेछ ।

यस वर्ष बंगलादेशतर्फको विद्युत् निर्यात भोटेकोसी बाढीका कारण पनि प्रभावित भएको थियो । भदौ १० गते आएको बाढीले त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा क्षति पु¥याएपछि बंगलादेश निर्यातका लागि स्वीकृति पाएका त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रको उत्पादन प्रभावित भएको थियो । त्यसपछि ४० मेगावाट विद्युत् निर्यात रोकिएको थियो ।
प्राधिकरणले भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट अन्य जलविद्युत् केन्द्रमा उत्पादित विद्युत् बंगलादेश निर्यात गर्न स्वीकृति पाएपछि कात्तिक ६ गते साँझदेखि निर्यात पुनः सुरु गरेको थियो । तर, सम्झौताअनुसारको अवधि सकिएपछि अहिले निर्यात पूर्ण रूपमा रोकिएको छ ।यसैबीच, नेपालले भारततर्फ भने विद्युत् निर्यातबाट उल्लेख्य आम्दानी गर्दै आएको छ । प्राधिकरणको विद्युत् प्रणाली सञ्चालन विभागको तथ्यांकअनुसार गत असोजमा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात भएको थियो । उक्त विद्युत् बिक्रीबाट ५ अर्ब ९२ करोड ५० लाख रूपैयाँ आम्दानी भएको थियो ।
गत वर्ष २०८२ को असोजमा भारततर्फ विद्युत् निर्यातबाट ४ अर्ब ९६ करोड ३० लाख रूपैयाँ बराबरको कारोबार भएको थियो । यस वर्षको सोही अवधिमा निर्यात आम्दानी बढेको प्राधिकरणको तथ्यांकले देखाउँछ । हाल भारततर्फ विद्युत् निर्यातका लागि स्वीकृति प्राप्त कुल क्षमता १ हजार १७९ मेगावाट पुगेको छ । वर्षायाममा उत्पादन बढी हुँदा भारत र बंगलादेशमा विद्युत् निर्यात गर्दै आएको नेपालले सुख्खायाममा भने आन्तरिक माग व्यवस्थापनका लागि भारतकै विद्युत्मा निर्भर हुनुपर्ने अवस्था दोहोरिँदै आएको छ ।

छुटाउनुभयो कि ?

पत्रकार महासंघले गर्‍यो आन्दोलनका कार्यक्रम घोषणा

पत्रकार महासंघले गर्‍यो आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँनेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकारको सुनिश्चित...
रुपन्देहीमा २७ लाखभन्दा बढीको अवैध सामान बरामद, भारतीय कार पनि नियन्त्रणमा

रुपन्देहीमा २७ लाखभन्दा बढीको अवैध सामान बरामद, भारतीय कार पनि नियन्त्रणमा

बुटवलरुपन्देहीमा सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको गाडीका पार्टपुर्जासहित करिब २७ लाख रुपैयाँभन्दा...
यी हुन् यो वर्षका २० उत्कृष्ट करदाता

यी हुन् यो वर्षका २० उत्कृष्ट करदाता

काठमाडौँयो वर्षका लागि उत्कृष्ट २० करदाताको नाम घोषणा भएको छ । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०८३ को अवसरमा विषयगत...
इनम प्रकरण: प्रधानमन्त्रीका सल्लाहकारसहित चार जनालाई पक्राउ गर्न जेनजी मुभमेन्ट नेपालको माग

इनम प्रकरण: प्रधानमन्त्रीका सल्लाहकारसहित चार जनालाई पक्राउ गर्न जेनजी मुभमेन्ट नेपालको माग

काठमाडौंजेनजी मुभमेन्ट नेपालले इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार (कुमार बेन) सहित प्रधान...