
काठमाडौं
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आईजिपी दान बहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।
वैठकले प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज केसीलाई आईजीपीमा नियुक्त गरेको छ।
कार्कीसँग यस अगाडि पनि केसी दाबेदार थिए।
केसीको पृष्ठभूमि
डा. के.सी. निडर नेतृत्व, उच्च व्यावसायिकता र अपराध अनुसन्धानमा अतुलनीय दक्षताका लागि चिनिने एक प्रतिष्ठित उच्च अधिकारी हुन् । उनले व्यावसायिक करियरमा अनेकौँ जटिल, संवेदनशील र हाई-प्रोफाइल अपराधहरूको सफल अनुसन्धान गरी नेपालको शान्ति-सुरक्षा र न्याय प्रणालीलाई मजबुत बनाउन निर्णायक भूमिका निर्वाह गरेका छन्।
अनुसन्धान अधिकृतका रूपमा देखाएको दृढता, कानुनको निष्पक्ष पालना र आपराधिक गिरोहहरू विरुद्धको कडा अडानले उनलाई प्रहरी संगठनभित्र मात्र नभई आम नागरिकको माझमा पनि एक भरोसायोग्य र सम्मानित नेतृत्वको रूपमा स्थापित गरेको छ ।
विद्यावारिधिसम्मको उच्च शिक्षा हासिल गरेका उनले प्रहरी सेवामा आधुनिक प्रविधि, वैज्ञानिक अनुसन्धान पद्धति र रणनीतिक सोचलाई अझ प्रभावकारी रूपमा आत्मसात् गरेका छन्। । ६ जुलाई २०२६ देखि नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग (नक्साल) को प्रमुखका रूपमा कार्यरत उनले विगत २८ वर्षदेखि शान्ति, सुरक्षा, अनुसन्धान र संस्थागत सुधारका क्षेत्रमा योगदान पुर्याउँदै आएका छन्।
व्यावसायिक यात्रा र कमान्ड नेतृत्व
वि.सं. २०५४ चैत्र २८ गते तदनुसार ३१ मार्च १९९८ प्रहरी निरीक्षक पदबाट व्यावसायिक यात्रा आरम्भ गरेका डा. केसी वि.स. २०८२ वैशाख ११ गते तदनुसार २४ अप्रिल २०२५ मा प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका थिए।
उनले काठमाडौं उपत्यका अपराध महाशाखा प्रमुखको रुपमा रहेर चर्चित भुटानी शरणार्थी सम्बन्धी ठगी तथा संगठित अपराधको सफलतापूर्वक अनुसन्धान साथै मोरङ र रूपन्देही जिल्लाको प्रहरी प्रमुखको रुपमा सफल नेतृत्व गरेका थिए।
केन्द्रीय अनुसन्धान ब्यूरोको नेतृत्व सम्हाल्दै उनले नक्कली हवाई उद्धार ठगी, स्मार्ट टेलिकममा भएको ठगी, प्रभु ग्रुप अन्तर्गतको बैंक लगायत संस्थाहरुको संगठित ठगी, धितोपत्र तथा बिमा ठगी, क्रिप्टोकरेन्सी अपराध, र सरकारी जग्गा अतिक्रमण तथा हिनामिना जस्ता जटिल मुद्दाहरूको निष्पक्ष, वस्तुनिष्ठ र सफलतापुर्वक अनुसन्धान गर्नुभएको थियो। विशेष गरी चर्चित ‘नक्कली भुटानी शरणार्थी प्रकरण’को निष्पक्ष र ऐतिहासिक अनुसन्धानको नेतृत्व गरेर उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा उच्च प्रशंसा कमाए ।
प्राज्ञिक उचाइ र शैक्षिक योगदान
उनले कम्बोडियाको पन्नासत्र विश्वविद्यालयबाट द्वन्द्व रूपान्तरण विषयमा विद्यावारिधी गरेका हुन् । यसैगरी उनले एमए ACTS व्यावहारिक द्धन्द रुपान्तरण अध्ययन (पन्नासत्र विश्वविद्यालय, कम्बोडिया) एमए समाजशास्त्र/मानवशास्त्रमा स्नातकोत्तर (त्रिभुवन विश्वविद्यालय, काठमाडौं), एमपीए सार्वजनिक जनप्रशासनमा स्नातकोत्तर (त्रिभुवन विश्वविद्यालय, काठमाडौं)बाट गरेका छन्।
उनी नेपाल प्रहरी कर्मचारी कलेज, महाराजगञ्जका संस्थापक निर्देशक हुन्। केसीले ‘प्रहरी विज्ञानमा स्नातकोत्तर’पाठ्यक्रमको निर्माण गरेका थिए।
उनले कोसोभो (UNMIK) र हैटी (UNMINUSTAH) मा शान्ति स्थापनार्थ सुरक्षा अधिकृतका रूपमा खटिएर द्वन्द्वोत्तर क्षेत्रमा स्थानीय प्रहरीको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान गरेका छन् । उनले नेपाल सरकारले “सुप्रबल जनसेवा श्री” र “प्रबल गोरखा दक्षिण बाहु” जस्ता सर्वोत्कृष्ठ राष्ट्र सेवक सम्मानका साथै ‘उत्कृष्ट अनुसन्धानकर्ता’ र ‘उत्कृष्ट जिल्ला प्रहरी प्रमुख’का रूपमा विभूषित गरेको छ ।