
बुटवल
रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।
नवलपरासीका विभिन्न स्थानमा फेला परेका ९ पुरुष र २ महिलाको शव लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएर राखिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवले जानकारी दिए।
उनका अनुसार बाढीमा परी मृत्यु भएका व्यक्तिका शव नदीले बगाएर नवलपरासीका विभिन्न क्षेत्रमा पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ।
त्यस्तै, भैरहवास्थित भीम अस्पतालमा पनि तीन महिलाको शव राखिएको डीएसपी श्रीवास्तवले बताए।
लुम्बिनी प्रादेशिक अस्पतालमा थप शव ल्याइने सम्भावना रहेको पनि प्रहरीले जनाएको छ। प्राप्त शवहरूको पहिचान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने काम भइरहेको छ।