माटो,गिटी,बालुवा लगायतका सामाग्री उपलब्ध गराउन नसक्दा बुटवल-गोरुसिंगे सडक विस्तारको काम सुस्त


बुटवल
माटो,गिटी,बालुवा लगायतका सामाग्री अभाव भएपछि बुटवल–गोरुसिंगे सडक खण्ड विस्तारको काम सुस्त भएको छ । राष्ट्रिय राजमार्ग विस्तार आयोजना अन्तर्गत बुटवलदेखि गोरुसिङ्गेसम्म ४९ किलोमिटर खण्ड विस्तारको काम प्रभावित भएको हो । उक्त खण्डका लागि ३० लाख घनमिटर निर्माण सामग्री आवश्यक रहेको छ ।

अहिलेसम्म ५ लाख ८० हजार घनमिटर मात्र उपलब्ध भएको आयोजनाले जनाएको छ । स्थानीय सरकारले निर्माणका लागि आवश्यक माटो, गिटी, बालुवा लगायत सामाग्री उपलब्ध गराउन नसक्दा समस्या भएको हो । बुटवलदेखि कपिलवस्तुको बेल नदीसम्म बिस्तार गर्न लागिएको राजमार्गलाई दुई खण्डमा विभाजन गररेर विस्तारको काम भइरहेको छ । सडक विस्तार कम्पनीका इन्जिनियर राजकुमार श्रेष्ठले आवश्यक नदीजन्य सामग्रीका लागि स्थानीय सरकारसित समन्वय गरेर स्रोतको खोजी भइरहेको बताए ।

बुटवलदेखि सैनामैना हुँदै सालझण्डीबाट कपिलवस्तुको कोठी नदीसम्म पहिलो खण्ड विस्तार भइरहेको छ । यस खण्डकालागि ८ लाख ७१ हजार घनमिटर नदीजन्य पदार्थ आवश्यक पर्ने आयोजनाले जनाएको छ । अहिलेसम्म सैनामैना नगरपालिकाले ६३ हजार घनमिटर सामाग्री मात्र उपलब्ध गराएको छ । थप नदीजन्य पदार्थका लागि बुटवल उपमहानगर लगायत पालिकासित आग्रह गरेपनि सुनिश्चित हुन सकेको छैन ।

‘बुटवल, सैनामैना र कपिलपस्तुका स्थानीय सरकारसँग समन्वयकालागि आग्रह गरिरहेका छौं,’ श्रेष्ठले भने, ‘यस खण्डमा माटोमात्र ८ लाख ७९ हजार घनमिटर आवश्यक रहेकोमा अहिलेसम्म २७ हजार घनमिटर उपलब्ध भएको छ ।’ पाल्पाको तिनाउ गाउँपालिकाले पनि एक लाख घनमिटर माटो उत्खनन् गर्न स्वीकृती दिएकाले सहज भएको उनले बताए । ‘थप माटोको खोजी जारी छ,’उनले भने ।
पहिलो खण्डअन्तर्गत २५ किलोमिटरमा ६७ वटा ‘बक्स कल्भर्ट’ मध्ये ३७ वटाको निर्माण अन्तिम चरणमा छ । दुईवटा ‘एनिमल क्रसिङ’ को निर्माण पूरा भइसकेको छ । १२ वटा ठूला मध्ये अधिकांशमा पाइलिङ सहितको काम अन्तिम चरणमा छ । ६ वटा बक्स ब्रिज मध्ये दुई स्थानमा निर्माण भइरहेको छ । यस खण्डमा आवश्यक १९ हजार प्रिकास्ट नाली निर्माण पूरा भइसकेको छ । पाँचवटा ‘भेहिकल अण्डरपास’ को काम सुरु भइसकेको छ । कल्भर्ट, नाली र पुल निर्माणका काम सकिएपछि सडकको दूवैतर्फ माटो र मिस्कटले पुर्नुपर्ने भएकाले झण्डै २ सय कामदार काम बिहीन हुने अवस्थामा पुगेको निर्माण व्यवसायीले जनाए ।
दोस्रो खण्ड अन्तर्गत कोठीदेखि कपिलवस्तुको इमिलियाको बेल नदीसम्म २४ किलोमिटर रहेको छ । सयस खण्डमा पनि सामग्री अभावको खटकिएको छ । यहाँपनि माटो र मिस्कट अभाव भइरहेको छ । यस खण्डका लागि ६ लाख २० हजार घनमिटर माटो आवश्यक छ । अहिलेसम्म तीन लाख घनमिटर माटो प्राप्त भएको छ ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाले माटो उपलब्ध गराएकाले केही सहज भएको आयोजनाका साइट इन्जिनियर अशोक पौडेलले बताए । अझैं ५ लाख घनमिटर नदीजन्य सामाग्री आवश्यक रहेको उनले बताए । यस खण्डका ६६ वटा बक्स कल्भर्ट मध्ये २६ वटा, १६ वटा एनिमल क्रसिङमध्ये १३ वटा, ठूला आठमध्ये छ वटा पुलको निर्माण अन्तिम चरणमा छ ।

दुइवटा बक्स ब्रिजमध्ये एउटा निर्माण भइरहेको छ । यहाँको १३ किलोमिटर क्षेत्रमा माटो भर्ने काम जारी छ । ‘प्रिकास्ट नाली’ निर्माण ८० प्रतिशत सकिएको छ । यस खण्डको अहिलेसम्म १९ प्रतिशत भौतिक र १४ प्रतिशत वित्तीय प्रगति भएको इन्जिनियर पौडेलले जानकारी दिए । चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको गिर्वाण निर्माण सेवाले १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजारमा सडक विस्तारको काम सुरु गरेको थियो । ३ वर्षमा सडक विस्तारको काम सक्ने गरी गत माघबाट काम सुरु गरेको थियो । आयोजनाले १ वर्षमा झण्डै २० प्रतिशत भौतिक प्रगती गरेको छ । १६ प्रतिशत वित्तिय प्रगती भएको आयोजना प्रमुख इन्जिनियर कुलशता न्यौपानेले बताइन् ।

‘सुरुमा कामदार अभाव, वर्षा, जेनजी आन्दोलन र चाडपर्वले काम प्रभावित भएको थियो, अहिले निर्माणका लागि चाहिने सामाग्रीको चरम अभाव देखिएको छ,’ उनले भनिन्, ‘स्थानीय तहसँग समन्वय भइरहेको छ, तर कपिलबस्तुको तुलनामा रूपन्देहीका स्थानीय तहले आवश्यकता अनुसार सामाग्री उपलब्ध गराउन सकेका छैनन् ।’

कल्भर्ट, अन्डरपास र नाली निर्माणको काममा ३५ प्रतिशत भन्दा बढी भौतिक प्रगती भएपनि माटो फिलिङ र सडक चौडा गर्ने काम सुस्ताएको उनले बताइन् । न्यौपानेका अनुसार सडक विस्तारको काममा अघि ८ सयसम्म कामदार खटिएका थिए ,अहिले करिब ६ सय कामदार खटिएका छन् ।

छुटाउनुभयो कि ?

उद्यमीहरुलाई व्यवसायीक योजना तयारी तथा ऋण प्रक्रिया सम्बन्धी सहजिकरण कार्यशाला

उद्यमीहरुलाई व्यवसायीक योजना तयारी तथा ऋण प्रक्रिया सम्बन्धी सहजिकरण कार्यशाला

बुटवलरुपन्देही उद्योग संघको सहजिकरणमा घरेलु तथा साना उद्योग कार्यालय, सिद्धार्थनगर रुपन्देहीको आयोजनामा बुटवलमा एक दिने उद्यम...
राहदानी लिन आउन कतारस्थित नेपाली दूतावासको आग्रह

राहदानी लिन आउन कतारस्थित नेपाली दूतावासको आग्रह

काठमाडौंकतार स्थित नेपाली राजदूतावासले राहदानी नवीकरणका लागी आवेदन दिएका सेवाग्राही मध्ये संलग्न सूचीमा नाम समावेश भएका आवेदक...
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई गरिदिन पत्राचार

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई गरिदिन पत्राचार

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गणतन्त्र दिवस समारोहमा पनि सम्बोधन नगर्ने भएका छन् । यही जेठ १५ गते हुने गणतन्त...
साफ महिला च्याम्पियनसिप आजदेखि, नेपालले पहिलो खेल भुटानसँग खेल्दै

साफ महिला च्याम्पियनसिप आजदेखि, नेपालले पहिलो खेल भुटानसँग खेल्दै

काठमाडौँदक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने महिला च्याम्पियनसिप आजदेखि शुरु हुदैछ ।प्रतियोगिताको पहिलो खेलमा ...