तीन महिनामा नेपाल प्रहरी र सशस्त्रका एक हजारले दिए राजीनामा


काठमाडौँ
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) मा तीन महिनाभित्र करिब एक हजार सुरक्षाकर्मीले राजीनामा दिएका छन् । नेपाल प्रहरीका करिब साढे ४ सय र एपीएफका करिब साढे ५ सय अधिकृत र जवानले राजीनामा दिएका हुन् । राजीनामा दिनेमध्ये कोही २० वर्ष सेवा पूरा गरेका छन् भने कोही ५ वर्ष मात्रै सेवा गरेका पनि छन् ।
राजीनामा दिने अधिकांशले ‘घरायसी’ कारण देखाएको दुवै सुरक्षा निकायले जनाएका छन् । केही दिनअघि मात्रै नेपाल प्रहरीका एसएसपी प्रकाश रानाभाटले प्रहरी सेवाबाट राजीनामा दिएका छन् । उनले पनि कारणमा ‘व्यक्तिगत’ उल्लेख गरेका छन् । उनको राजीनामा स्वीकृत हुन बाँकी छ । राजीनामा दिनेहरूमा जवानदेखि वरिष्ठ नायब निरीक्षक तहसम्मका सबैभन्दा बढी छन् ।

जेन–जी आन्दोलनपछि राजीनामा दिने क्रम बढ्न थालेको सुरक्षा निकायका अधिकारीहरू बताउँछन् । जेन–जीले २३ भदौमा गरेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा २२ जना युवा/विद्यार्थीको ज्यान गएपछि भोलिपल्ट देशभर फैलिएको हिंसात्मक प्रदर्शनमा सुरक्षा निकायका कार्यालय तथा ब्यारेक निसानामा परेका थिए । त्यो दिन नेपाल प्रहरीका मात्रै १२ सयभन्दा बढी हतियार लुटिएका थिए भने करिब १ लाख राउन्ड गोली अभिलेखमा भेटिएको छैन । २४ भदौमा प्रदर्शनकारीको कुटपिटबाट ३ प्रहरीको ज्यान गएको थियो । काठमाडौंको बानेश्वर वृत्तमा कार्यरत प्रहरीलाई प्रदर्शनकारीले पोसाक नै फुकाल्न लगाएर लखेटेका थिए ।

नेपाल प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार ‘घरायसी’ र ‘व्यक्तिगत’ कारण देखाएर प्रहरी कर्मचारीबाट दिनहुँजसो राजीनामा आइरहेको छ । ‘यसरी राजीनामा दिनेमा तल्लो तहका कर्मचारी धेरै छन्,’ घिमिरेले भने । प्रहरीको अभिलेखअनुसार साउनयता उपदान सुविधा लिएर ९० प्रहरीले राजीनामा दिएका छन् । अरू साढे ३ सय प्रहरीले २० वर्ष सेवा पुगेपछि पेन्सन सुविधामा जागिर छाडेका हुन् । सशस्त्र प्रहरीमा पनि पेन्सन र उपदानमा राजीनामा दिनेको संख्या धेरै छ । सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार असोजमा सशस्त्रका २ सय ८५ जनाले पेन्सन सुविधामा राजीनामा दिएका छन् । उपदानमा राजीनामा दिनेको संख्या १८ छ । कात्तिक १ देखि लागू हुने गरी राजीनामा दिनेको संख्या १ सय १८ छ ।
नेपाल प्रहरीमा आर्थिक वर्ष २०८०/८१ मा पेन्सन पाउने गरी ४ सय ५८ र उपदान पाउने गरी ३ सय ३३ जनाले राजीनामा दिएका थिए । त्यस्तै २०८१/८२ मा पेन्सन पाउने गरी २ हजार १५ र उपदान पाउने ग री ३ सय ५८ जनाले राजीनामा दिएका थिए । सशस्त्रमा २०८०/८१ मा पेन्सन सुविधा पाउने २ सय ५६ जनाले राजीनामा दिएका थिए । त्यो २ सय २० जनाले भने उपदान पाउने गरी राजीनामा बुझाए । यस्तै आर्थिक वर्ष २०८१/८२ मा पेन्सन सुविधामा एक हजार ३ सय ९१ र उपदान सुविधामा १ सय ६० जनाले राजीनामा दिएका थिए ।
२० वर्ष सेवा पुगेकाहरूले राजीनामा दिएपछि पेन्सन सुविधा पाउँछन् । अन्य भने योगदान गरेको वर्षका आधारमा उपदान पाउँछन् । सेवा प्रवेश गरेको ५ वर्षसम्म राजीनामा दिन नपाइने नियम छ । दुवै सुरक्षा निकायमा जवानदेखि सइसम्मको हकमा २०६० चैतअघि र त्यसपछि सेवा प्रवेश गर्नेको हकमा पेन्सन पाक्ने प्रावधान छुट्टाछुट्टै छ । २०६० चैतअघि सेवा प्रवेश गरेका कार्यालय सहयोगीदेखि हवल्दारसम्म १६ वर्ष, असइ/सइ १८ वर्ष तथा निरीक्षक र त्यसमाथिका हकमा २० वर्ष सेवा पुगेपछि पेन्सन पाउने व्यवस्था छ । त्यसयता सेवा प्रवेश गर्ने सबै दर्जाका लागि पेन्सन पाक्ने अवधि २० वर्ष बनाइएको छ । यसप्रति दुवै सुरक्षा निकायमा तल्ला दर्जाका कर्मचारीले असन्तुष्टि जनाउँदै आएका छन् । तल्लो दर्जाको कर्मचारीको पेन्सन पाक्ने अवधि पुरानै कायम गर्ने गरी अघि बढेको कानुन संशोधन प्रक्रिया जेन–जी आन्दोलनपछि प्रतिनिधिसभा नै विघटन गरिएकाले अवरुद्ध बनेको छ ।

प्रहरी प्रवक्ता घिमिरे राजीनामा व्यक्तिको स्वेच्छाको विषय भएको उल्लेख गर्दै ‘व्यक्तिको इच्छालाई रोक्ने’ गरी संगठनले कुनै निर्णय गर्न नसक्ने बताउँछन् । ‘स्वैच्छिक राजीनामा सम्बन्धित व्यक्तिको रोजाइ हो,’ उनले कान्तिपुरसँग भने, ‘अझ अकस्मात् हुने घटना/परिघटना र त्यसले सुरक्षाकर्मीलाई पार्ने मनोवैज्ञानिक त्रास/असर पनि राजीनाको अर्को कारण हुन पुगेको छ ।’

जेन–जी आन्दोलनपछिको परिस्थितिले पनि सुरक्षाकर्मीको मनोबल खस्केको र यस्ता घटना पनि राजीनामाको एउटा कारक बन्ने गरेको घिमिरेले बताए । वैकल्पिक रोजगारीको खोजी, पारिवारिक अवस्था र वैदेशिक रोजगारीलगायत कारण पनि राजीनामाको क्रम निरन्तर चलिरहेको उनले उल्लेख गरे ।

सशस्त्र प्रहरी सहप्रवक्ता शैलेन्द्र थापा पनि राजीनामा व्यक्तिको इच्छा भएकाले यसलाई निरन्तर चलिरहने प्रक्रियाका रूपमा उल्लेख गर्छन् । ‘सकभर कानुनले तोकेको अन्तिम दिनसम्म कार्यरत रहे राम्रो हुन्छ । त्यस्ता अनुभवी जनशक्तिबाट हुने कार्यसम्पादन स्वाभाविक रूपमा बढी प्रभावकारी हुन्छ तर अर्कातर्फ कानुनले नै राजीनामाको सुविधा दिएको छ,’ उनले भने ।

एक सुरक्षाकर्मीलाई तालिम दिएर फिल्डमा पठाउँदासम्म सरकारी ढुकुटीबाट ५ देखि ७ लाख रुपैयाँसम्म खर्च हुन्छ । त्यसपछिको सेवा सुविधा मात्रै होइन, अवकाशपछि पेन्सन, पारिवारिक निवृत्तिभरणलगायत सुविधामा पनि राज्यको ठूलो धनराशि खर्च हुन्छ । यसरी भर्ना गरिएको जनशक्तिलाई तोकिएको सेवा अवधिसम्म बहालमै राख्न सरकारले प्रभावकारी रणनीति अपनाउन नसक्दा बीचैमा जनशक्ति पलायन भएर राज्यलाई नोक्सान भइरहेको सुरक्षा अधिकारीहरू बताउँछन् ।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...