
रुपन्देही
जेन–जी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका २५९ वटा निजी, संघसंस्था र सरकारी भवन क्षति पुगेको छ । २३ र २४ भदौमा भएको आन्दोलनमा अराजक समूहले तोडफोड र आगजनी गर्दा लुम्बिनी प्रदेशका प्रदेशका ७ जिल्लाका सरकारी तथा निजी भवनका साथै संघसंस्थाका भवनहरूमा क्षति पुगेको हो।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले तयार पारेको विवरण अनुसार १३१ सरकारी भवन, ७३ नीजि तथा व्यवसायीक भवन, पार्टी कार्यालय तथा संघसंस्थाका भवन ४१ र १४ प्रहरी कार्यालय गरी २५९ भवनमा क्षति पुगेको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार नवलपरासी पश्च्मिमा २१ सरकारी भवनमा क्षति पुगेको छ । यस्तै दाङमा ४१, बाँकेमा २३, बर्दियामा १, अर्घाखाँचीमा ५, कपिलबस्तुमा ६ र रुपन्देहीमा ३४ वटा सरकारी भवनमा क्षति पुगेको छ ।
यस्तै आन्दोलनको क्रममा लुम्बिनी प्रदेशका ७३ नीति तथा व्यवसायीक भवनहरुमा तोडफोड, आगजनी र लुटपाट भएको छ । नवलपरासी पश्च्मिमा २३ वटा नीजि भौतिक सम्पत्तीमा तोडफोड भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै दाङमा १२, बाँकेमा ३ बर्दियामा २, अर्घाखाँचीमा १, कपिलबस्तुमा ११, रुपन्देहीमा २५ वटा नीजि भौतिक संरचनामा तोडफोड, आगजानी र लुटपाट भएको थियो ।
यस्तै आन्दोलनमा राजनीति दलका पार्टी कार्यालयसहित विभिन्न संघ तथा संस्थाका गरी ४१ वटा भवनमा आगजनी तथा तोडफोड भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार १४ वटा प्रहरी कार्यायलमा समेत तोडफोड भएको छ । तोडफोड भएका भवनहरु सरकारी ३३, नीति १८, पार्टी कार्यालय १० गरी ६१ वटा भवनहरु पूर्ण रुपमा ध्वस्त भएका छन् ।
आन्दोलनमा लुम्बिनी प्रदेशका १२ जिल्ला मध्य सबै भन्दा धेरै रुपन्देहीमा क्षति भएको छ । रुपन्देहीमा बुटवल उपमहानगरपालिकाले प्रमुख प्रशासनीक भवन, बुटवल ९ मा रहेको आन्तरिक राजश्व अनुसन्धान कार्यालय, बुटवल ८ मा रहेको इलाका प्रशासन कार्यालय, बुटवल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, डिभिजन वन कार्यालय, बुटवल ४ दरबार लाइन स्थित प्रदेश प्रमुखको कार्यालयको भवनमा क्षति पुगेको छ।
बुटवलमा रहेको नापतौल तथा गुणस्तर कार्यालय, उच्च अदालत तुल्सीपुर बुटवल इजलासको कार्यालय, लोकसेवाको कार्यालय, बुटवल १३ मा रहेको नापी कार्यालय र बुटवल १३ मै रहेको यातायात कार्यालय लगाएतका महत्वपूर्ण सरकारी भवनमा आगजनीसँगै तोडफोड भएको छ । यस्तै नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रको कार्यालयमा तोडफोड र आगजनी भएको छ ।
अराजकता मच्चाउनेहरूको खोजी
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जेन–जी आन्दोलनमा घुसपैठ गरेर बितण्डा मच्चाउनेहरूको खोजी कार्य थालेको छ । आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरूको खोजी थालिएको छ ।
प्रहरीले रुपन्देही जिल्लाका विभिन्न स्थानमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी र लुटपाटमा संलग्नहरूको फोटो भिडियोसमेत पठाउन अनुरोध गरेको छ ।
‘आम सर्वसाधारणमा त्रास सिर्जना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्वीर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिंकहरू उपलब्ध गराउन अनुरोध गरिन्छ,’ जिल्ला प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।