असल र नवीन अभ्यासले कान्ति छर्दै,  बुटवलको कान्ति मावि


बुटवल

रुपन्देहीको बुटवलमा रहेको कान्ति मावि ,२००८ सालमा पुरानो बुटवलमा शुरू भएको गणेश विद्या भवन प्राइमरी स्कूल र खस्यौलीमा शुरू भएको जनता विद्या भवन प्राइमरी स्कूलको एकीकरण गरी २ पुस २०१० देखि गणेश जनता विद्या भवन प्राथमिक विद्यालयको नामबाट हालको कान्ति माविको सुरुवात भएको हो । २०१६ सालमा मिडिल स्कूल र २०२६ सालमा हाईस्कूलको स्वीकृति प्राप्त गरेको विद्यालय २०२९ सालमा गणेश जनता माध्यमिक र २०३३ सालदेखि कान्ति माविको नामबाट सञ्चालन हुँदै आएको छ ।

२०६४ सालदेखि कक्षा ११/१२ सञ्चालन गरेको विद्यालयमा हाल विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा समूहका विभिन्न विषयको पठनपाठन हुँदै आएको छ ।

विद्यालय बजारको घना बस्ती बीच भए पनि विद्यार्थीहरू पढ्न अन्यत्रै जान्थे । परिसरमै साढे दुई बिघा जग्गा भएको विद्यालयमा जम्मा ४०० विद्यार्थी थिए ।

२०६६ मा गोविन्द ज्ञवाली प्रधानाध्यापकमा नियुक्त भए ।‘विद्यालयको नेतृत्व लिएपछि शिक्षकहरूसँग पटक–पटक बैठक बसेर आफूले परिकल्पना गरेका योजनाहरू कार्यान्वयन गर्न थाले । २०६७ मा कक्षा ९ मा अंग्रेजी माध्यममा पढाइ शुरू गराए ज्ञवालीले सरकारी विद्यालयको गुणस्तर सुधार्न हेडमास्टरबाटै शुरू गर्नुपर्छ भन्ने लागेर बोर्डिङ स्कूल छुटाएर छोरीलाई आफ्नै स्कूलमा भर्ना गरे ।

उनले पुराना शिक्षकलाई समयसापेक्ष क्षमता वृद्धि तालिमहरू दिए । फलस्वरुप २०६८ सालको एसएलसीमा विद्यालयका छात्र मदन पाण्डेले ९१ प्रतिशत अंक ल्याए भने ४७ जनाले परीक्षा दिएकोमा २७ जना डिस्टिङ्सनमा उत्तीर्ण भए । उत्कृष्ट नतिजाले देशभर विद्यालयको चर्चा चुलियो ।

देशभरमै उत्कृष्ट नतिजा आएपछि सरकारी कर्मचारी, सेना, प्रहरी, स्थानीय बुद्धिजीवी, प्रतिष्ठित व्यक्तिका छोराछोरी पढ्ने रोजाइको विद्यालय बनेको र आकर्षण क्रमशः थपिंदै गएको ज्ञवाली बताउँछन् ।

नमूना विद्यालयको रूपमा विकास गर्ने दूरदृष्टिका साथ लक्ष्य र उद्देश्य निर्धारण गरी अगाडि बढ्दा समुदाय र सरकारले साथ दिएपछि कान्ति माविले शैक्षिक गुणस्तर र पूर्वाधारमा फड्को मारेको ज्ञवालीले बताए ।

२०६५ सालदेखि खुला विद्यालयतर्फ कक्षा ८ र १० समेत सञ्चालनमा छन् । जसबाट विभिन्न कारणले नियमित विद्यालयको पहुँच बाहिर रहेका सयौं विद्यार्थी लाभान्वित भएका छन् ।

अहिले विद्यालयमा नर्सरीदेखि कक्षा ७ सम्म पूर्णतः अंग्रेजी माध्यममा र कक्षा ८ देखि अंग्रेजी र नेपाली भाषा दुवै माध्यममा पढाइ हुन्छ । विद्यालयले यस क्षेत्रमै पहिलो पटक कक्षा ६ देखि संस्कृतलाई ऐच्छिक विषयका रूपमा पढाउन थालेको छ । विद्यार्थीमा संस्कृत भाषाको ज्ञान र उनीहरूलाई नैतिकवान् र संस्कारयुक्त बनाउन संस्कृत भाषा शुरू गरिएको विद्यालयको भनाइ छ ।

शैक्षिक नतिजासँगै खेलकुद र अतिरिक्त बौद्धिक प्रतिस्पर्धामा पनि कान्ति माविले राम्रा बोर्डिङ स्कूललाई उछिन्न थाल्यो । ‘कसैले सिकाएर होइन, सरकारी विद्यालयको गुणस्तर सुधार्नुपर्छ भन्ने हेडमास्टरको अठोटले छोटो अवधिमै परिवर्तन सम्भव भयो’ ज्ञवालीले भने, ‘उत्कृष्ट नतिजा आएपछि अरू शिक्षकले पनि आफ्ना छोराछोरीलाई अरू स्कूलबाट छुटाएर ल्याउन थाल्नुभयो । त्यसले राम्रा विद्यार्थीको रोजाइ कान्ति बन्यो ।’

विद्यालयले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्न र सिकाइलाई प्रभावकारी बनाउन थुप्रै असल र नवीन अभ्यास गर्दै आएको छ । विद्यालयले दूरदृष्टि, लक्ष्य र उद्देश्य निर्धारण गरी गुरुयोजना अनुसार विद्यालय सुधार योजना निर्माण गरेको छ । वार्षिक कार्ययोजना र कार्य सञ्चालन क्यालेन्डर निर्माण गरी सोही अनुसार शैक्षिक गतिविधि गर्दै आएको छ ।

कक्षा शुरू हुनुअघि प्रार्थना समयमा सांगीतिक पिटी खेलाइन्छ । त्यसले विद्यार्थीको शारीरिक तन्दुरुस्तीसँगै दिनभर पढाइमा ध्यान केन्द्रित भएको विद्यालयको ठम्याइ छ । शिक्षक, विद्यार्थी र अभिभावकका लागि आचारसंहिता बनाइएको छ । जसले तीनै पक्षलाई जिम्मेवार र अनुशासित बनाएको छ ।

सूचना र गुनासो सुन्ने अधिकारीको व्यवस्था छ । छात्राहरूको समस्या र गुनासो सुन्न छात्रा सञ्जाल संयोजकको व्यवस्था छ । विद्यार्थी होमवर्क डायरी, विद्यार्थीको उमेर अनुसारका फर्निचर, वैकल्पिक ऊर्जा (जेनेरेटर), व्यवस्थित विज्ञान प्रयोगशाला, कक्षाकोठामा आईसीटीको प्रयोग, कक्षा कोठा र विद्यालय परिसरमा सीसीटीभी क्यामेरा र व्यवस्थित पुस्तकालयको व्यवस्था छ ।

ई–हाजिरी प्रयोग, सिकाइ उपलब्धि विश्लेषण र विद्यार्थी–अभिभावक परामर्श, सुझाव पेटिका निर्माण र प्रयोग, कक्षागत अभिभावक भेला र सुझाव संकलन, बालक्लब, रेडक्रस, स्काउट गठन, विपद् व्यवस्थापन योजना निर्माण, शिक्षक स्टाफ बैठक र निर्णय कार्यान्वयन, प्रार्थनामा सूचना सम्प्रेषण, सामग्री खरिद एकाइ गठन, अनुगमन सुपरीवेक्षण तथा प्रगति अभिलेखीकरण, दैनिक पठनपाठनका लागि लग बूक व्यवस्था, दैनिक कार्यको समीक्षा, विद्यार्थी अनुशासन/परामर्श, घरदैलो/अभिभावक सम्पर्क विद्यालयका नवीन शैली हुन् ।

विषयगत विभाग गठन, कक्षागत, तहगत संयोजकको व्यवस्था, शैक्षिक क्यालेन्डर निर्माण र फ्रयोग, क्यालेन्डर अनुसार सह तथा अतिरिक्त त्रियाकलाप सञ्चालन, विद्यार्थी सिकाइ सुधार योजनाको प्रयोग, शिक्षक सुधार योजनाको निर्माण र प्रयोग, विद्यार्थी शैक्षिक अवलोकन भ्रमण, विद्यार्थी प्रतिभा पहिचान गरी प्रार्थनामा प्रस्तुति, शिक्षक–विद्यार्थीको जन्मदिनमा पुस्तक र बिरुवा उपहार, सिकाइ उपलब्धि प्राप्त गर्न नसकेका विषयहरूलाई अतिरिक्त कक्षा सञ्चालन जस्ता असल अभ्यास विद्यालयले अवलम्बन गरेको छ ।

बालविकासमा मन्टेसरी तालिमप्राप्त शिक्षक, मन्टेसरी ल्याबको व्यवस्था, बालविकासका विद्यार्थीहरूको छुट्टै बसाइ व्यवस्थापन, बालविकासका लागि आयाको व्यवस्था, गेट किपरको व्यवस्थापन, विद्यार्थी, शिक्षकको स्वास्थ्य परीक्षण, शिक्षक, विद्यार्थी व्यवस्थापनमा लग बूकको प्रयोग, शैक्षिक सामग्री निर्माण र विज्ञान प्रदर्शनी, शैक्षिक अध्ययन, अवलोकन र अनुसन्धान भ्रमण, कक्षागत हस्तलेखन तालिम, छात्राहरूका लागि निःशुल्क स्यानिटरी प्याडको व्यवस्था र अभिभावक–शिक्षक–संयोजकसँगको संयुक्त बैठक सञ्चालन विद्यालयका असल अभ्यास हुन् ।

पाठ्यक्रमले तोके अनुसारका आन्तरिक र बाह्य मूल्याङ्कनहरू, खेलकुद, संगीत लगायतका विधामा समेत विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने प्रशस्त अभ्यासहरू, बालमैत्री विद्यालयको अवधारणा, शिक्षकहरूलाई क्षमता विकास र शैक्षिक अवलोकन भ्रमणको व्यवस्था, विद्यालय विनियमको व्यवस्था, शिक्षक/विद्यार्थी/अभिभावक परामर्श, असल अभ्यास आदानप्रदान, संस्कार र आधारभूत सीप विकास, जीवनोपयोगी सीप विकास र खेल तथा संगीत शिक्षक र प्रशिक्षकको व्यवस्था छ । विद्यार्थीहरूले नियमित रूपमा मासिक बाल भित्तेपत्रिका प्रकाशन गरिरहेका छन् ।

विद्यालयले आन्तरिक विनियम २०७२ निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । जसमा शिक्षक कर्मचारीहरूलाई सेवा, सुविधा अन्तर्गत ग्रेड, सञ्चयकोष, उपदान आदिको व्यवस्था गरिएको छ । सुझाव पेटिका निर्देशिका २०७४ तयार गरी सुझाव पेटिकामा प्राप्त सकारात्मक सुझावहरूलाई कार्यान्वयनमा ल्याइएको छ  ।

सरकारी अनुदान लगायत सबै किसिमको आम्दानी, खर्च कम्प्युटर सफ्टवेयरबाट व्यवस्थित गरिएको छ । तोकिएको समयमा सामाजिक परीक्षण सम्पन्न गरिएको छ । बुटवल उपमहानगरपालिकाले आन्तरिक लेखा परीक्षण गर्दै आएको छ । विद्यालयले गरिब, जेहेनदार, पिछडा वर्ग/क्षेत्र, सीमान्तकृत वर्ग, बाहिरी जिल्लाबाट आएका दर्जनौं मेधावी विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

विद्यालयले लिने वार्षिक परीक्षा, कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षा, एसईई, कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी र उक्त नतिजाका आधारमा विषयगत शिक्षकलाई पनि पुरस्कार र सम्मान गर्ने गरेको छ ।

दरबन्दी २४, शिक्षक–कर्मचारी २१७ जना

कान्ति माविमा २१७ जना शिक्षक कर्मचारी छन् । तर सरकारी दरबन्दी २४ जनाको मात्र रहेको प्रधानाध्यापक ज्ञवालीले बताए । विद्यालयले सटर भाडामा लगाएर प्राप्त हुने आम्दानी र अभिभावकको स्वेच्छिक चन्दाबाट दरबन्दी बाहेकका शिक्षक कर्मचारीको तलब व्यवस्थापन गरेको छ । मासिक खर्च सवा करोड बढी हुने गरेको विद्यालयको भनाइ छ ।

सरकारले मसलन्द खर्च वार्षिक ३० हजार मात्र दिने गरेको र त्यसले डस्टर किन्न पनि नपुग्ने प्रधानाध्यापक ज्ञवाली बताउँछन् । विद्युत् र पानीको एक महिनाको महसुल मात्र दुई लाख रुपैयाँ तिर्ने गरिएको छ । ‘यति धेरै विद्यार्थी र शिक्षक भएको विद्यालयमा कति दरबन्दी चाहिन्छ, सञ्चालन खर्च कति चाहिन्छ ? हामीले कति दिएका छौं भन्ने सरकारले कहिल्यै देखेन, बुझेन’ प्रधानाध्यापक ज्ञवाली गुनासो गर्छन्, ‘कमसेकम विद्यार्थी संख्याका आधारमा शिक्षक दरबन्दी हुनुपर्छ, सञ्चालन खर्चको आधारमा बजेट दिइनुपर्छ ।’

सरकारले आर्थिक दायित्व बहन नगर्दा विद्यालयले शिक्षक कर्मचारीलाई तलब दिन वर्षेनि करोडौं रुपैयाँको कसरी जोहो गर्ने भन्ने बोझको भारी बोक्नुपरेको उनको गुनासो छ । अभिभावकबाट स्वेच्छिक चन्दा लिएको विषयमा अनाहकमा नानाथरी आरोप र लाञ्छना खेप्नुपरेको विद्यालयको दुःखेसो छ ।

शिक्षामा निम्न वर्गको पहुँच

संस्थागत (निजी बोर्डिङ) स्कूल भन्दा थोरै शुल्कमा गुणस्तरीय पढाइ हुने भएकाले कान्ति माविमा धनी र मध्यम वर्गका विद्यार्थीको पनि आकर्षण छ । तर बुटवल नगरका दलित, मुस्लिम, पिछडिएको वर्ग, क्षेत्र र आर्थिक हिसाबले निम्न वर्गका बालबालिकाको पहुँच र रोजाइ सामुदायिक विद्यालय नै भएको प्रधानाध्यापक ज्ञवालीको दाबी छ ।

प्रधानाध्यापक गोविन्द ज्ञवाली

देशका ५४ जिल्लाका ५ हजार ५४४ विद्यार्थी विद्यालयमा अध्ययनरत छन् । निम्न वर्गका विद्यार्थीको पहुँचका लागि विद्यालयले भर्ना र छात्रवृत्तिमा प्राथमिकता, शिक्षण सिकाइ क्रियाकलापमा थप सहयोग र सहजीकरण गरेको छ ।

यद्यपि, नयाँ विद्यार्थी भर्ना हुन प्रवेश परीक्षा लिइने र त्यसमा सबै उत्तीर्ण नहुने भएकाले पढ्न चाहने निम्न वर्गका विद्यार्थीले भर्ना हुन नपाउँदा आंशिक रूपमा गुनासो आउने गरेको छ । सरकारले विद्यार्थीको चाप अनुसार कक्षा कोठा, शिक्षक दरबन्दी र आर्थिक दायित्व वहन नगरेकाले बाध्य भएर भर्नामा प्रवेश परीक्षा लिनुपरेको विद्यालयको तर्क छ । सरकारले सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने हो भने यस्तो समस्या समाधान हुने प्रधानाध्यापक ज्ञवालीको सुझाव छ ।

छुटाउनुभयो कि ?

गठबन्धनको विकल्प खोजिए कांग्रेसलाई फाइदा हुँदैन: गृहमन्त्री

गठबन्धनको विकल्प खोजिए कांग्रेसलाई फाइदा हुँदैन: गृहमन्त्री

काठमाडौँ गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको गठबन्धनको विकल्प खोजिए कांग्रेसलाई फाइदा नहुने बताएका छन् ।मंगलबार कांग्...
प्रकृतिमा फर्कदै नागरिक, आयुर्वेद जडीबुटीको प्रयोग र लोकप्रियता बढ्दो

प्रकृतिमा फर्कदै नागरिक, आयुर्वेद जडीबुटीको प्रयोग र लोकप्रियता बढ्दो

असार १७ बुटवल, एलोपेथिक औषधिको तीव्र विकास र आधुनिक स्वास्थ्य संस्थातर्फ धाउनेको सख्या बढे पनि नागरिकहरू पुनः आफ्नो जरा र ...
एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने रुपन्देहीका सामुदायिक तथा संस्थागत विद्यालयद्वारा विद्यार्थीलाई सम्मान

एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने रुपन्देहीका सामुदायिक तथा संस्थागत विद्यालयद्वारा विद्यार्थीलाई सम्मान

रुपन्देही राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा एसईई – २०८१ को नतिजाले शैक्षिक क्षेत्रमा रुपन्...
अतिकम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन् : प्रधानमन्त्री

अतिकम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन् : प्रधानमन्त्री

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले अतिकम विकसित देशहरूले अनुदान र सहुलियतपूर्ण वित्तीय सहयोग निष्पक्ष शर्तहरूमा चाह...