यस वर्षमा वर्षा र तापक्रम सरदरभन्दा बढी हुने प्रक्षेपण


काठमाडौं

यस वर्षको मनसुन अवधिमा वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने सम्भावना देखिएको छ । दक्षिण एसियाली मौसमी पूर्वानुमान मञ्च (सास्कोफ) को बैठकले यो प्रक्षेपण सार्वजनिक गरेको हो ।

भारतको पुणेमा अप्रिल २८ देखि ३० सम्म सास्कोफको ३१औं बैठक भएको थियो । सास्कोफमा दक्षिण एसियाका नौ देश (नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स, अफगानिस्तान, म्यानमार) का मौसमविद्हरू र अन्तर्राष्ट्रिय विज्ञहरू सहभागी थिए ।

उक्त बैठकमा विश्व मौसम संगठन, भारत मौसम विभाग र अन्य क्षेत्रीय तथा विश्वव्यापी मौसम निकायहरूका विज्ञहरू समेतले २०२५ को मनसुनबारे सामूहिक पूर्वानुमान तयार गरेका हुन् ।

सास्कोफका अनुसार अनुसार हालको अवस्थामा एल निनो–दक्षिणी दोलन (एन्सो) र हिन्द महासागर द्विध्रुवीयता (इण्डियन ओसन डाइफल–आईओडी) दुवै तटस्थ अवस्थामा छन् । मनसुन अवधिमा यी जलवायु सूचकहरु तटस्थ अवस्थामै रहने सम्भावना छ ।

यद्यपि, विज्ञहरुले यस समयमा मौसमी पूर्वानुमानहरूमा अनिश्चितता हुने भएकाले नियमित रूपमा अद्यावधिक पूर्वानुमान र दीर्घकालीन पूर्वानुमान समेत हेर्न सल्लाह दिएका छन् ।
नेपालको सम्भावना के छ ?

सास्कोफको क्षेत्रीय मौसम पूर्वानुमानलाई समेत आधार मानेर नेपालको जल तथा मौसम विज्ञान विभागले राष्ट्रियस्तरमा मनसुन प्रक्षेपण सार्वजनिक गर्दछ । विभागका महानिर्देशक कमलराज जोशीले नेपालको सन्दर्भमा मनसुन कस्तो हुन्छ भनेर छिट्टै पत्रकार सम्मेलन गरेर जानकारी दिइने बताए ।

उनका अनुसार सास्कोफले गरेको प्रक्षेपण नेपालको सन्दर्भमा मिल्ने गरेको छ । यद्यपि नेपालको कुन भागमा कस्तो असर पर्छ भन्नेबारे भने जल तथा मौसम विज्ञान विभागले जानकारी दिने छ ।

सास्कोफले तयार पारेको नक्सामा पूर्वमा औसत, मध्य नेपालमा औसतभन्दा केही धेरै र सुदूरपश्चिममा औसतभन्दा धेरै वर्षा हुने देखिन्छ । त्यसैले ती क्षेत्रलाई नीलो र गाढा नीले रंगले संकेत गरिएको छ ।

जुनदेखि सेप्टेम्बर महिनासम्मको अवधिलाई मनसुनको अवधि मानिन्छ । सामान्यतया नेपालमा जुन १३ तारिखदेखि मनसुन सुरु भएर अक्टुबर २ तारिखमा बाहिरिन्छ । यो अवधिमा नेपालमा वर्षभरी हुने वर्षाको ७० देखि ८० प्रतिशतसम्म वर्षा हुने गर्दछ ।

तापक्रम पनि सरदर बढी हुने सम्भावना

यस वर्ष नेपालसहित दक्षिण एसियामा सरदरभन्दा बढी वर्षा, न्यूनतम तापक्रम र अधिकतम तापक्रम पनि सरदरभन्दा बढी हुने सम्भावना रहेको सास्कोफको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैले यस वर्षको मनसुनमा पनि नेपालमा बाढी, पहिरो, डुबान र कटान जस्ता प्राकृतिक प्रकोपको जोखिम बढ्ने जोखिम भएकाले पूर्वतयारीका काम थाल्न विज्ञहरु सुझाव दिन्छन् ।

यस वर्षको मनसुन अवधिमा सामान्यभन्दा बढी वर्षाको सम्भावना देखिएकाले यसले सिंचाइका लागि फाइदा पुर्‍याउन सक्ने भए पनि, बाढी, पहिरो तथा डुबानजस्ता प्राकृतिक प्रकोपको जोखिम समेत बढ्न सक्ने विपदविद डा. धर्मराज उप्रेती बताउँछन् ।

‘विशेषगरी पहाडी तथा हिमाली जिल्लाहरूमा तीव्र वर्षाले पहिरो जाने, सडकहरू अवरुद्ध हुने र मानवीय क्षति निम्त्याउने जोखिम उच्च हुन्छ । तराई मधेशका क्षेत्रहरूमा नदीहरूमा बहाव बढेर डुबान र कटानको अवस्था सिर्जना हुन सक्छ,’ उनी भन्छन्, ‘त्यसैले त्यस्ता प्राकृतिक प्रकोपबाट जोगिन पूर्वतयारी आवश्यक छ ।’

विज्ञहरुका अनुसार वर्षा र तापक्रमको असमान वितरणले पानीको स्रोत, कृषियोग्य जमिन, बाली चक्र, तथा मानव स्वास्थ्यमा प्रभाव पार्दछ । यस्तो अवस्थामा बाढी पूर्वानुमान प्रणाली, विपद् व्यवस्थापन योजना, बालीको विविधीकरण र मौसमअनुकूल बीउ तथा प्रविधिको प्रयोगमार्फत स्थानीय स्तरमा तयारी आवश्यक भएको उनीहरु सुझाव दिन्छन् ।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...