
काठमाडौँ
कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको संविधान सबैलाई मिलाउनसक्ने र पूर्ण समानुपातिक आधारमा बनेको बताएका छन् ।
आइतबार नेपाल मुस्लिम संघको इद मिलन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले समावेशी संविधानकै कारण राज्यका हरेक निकायमा सबैलाई समेट्न सकिएको बताएका हुन् ।
सबैलाई मिलाएर अघि बढ्ने संविधान भएका कारण कुनै पनि पार्टीको बहुमत आउन भने गाह्रो रहेको उनको भनाइ थियो । ‘नेपालको संविधान अत्यन्तै राम्रो संविधान छ । सबैलाई मिलाएर लाने संविधान छ । यसले कुनैपनि पार्टीको बहुमत आउन चाहीँ गाह्रो छ । तर गाह्रो भएतापनि सबैलाई मिलाउन सक्ने यो संविधान छ । नेपालको संविधान पूर्णरुपमा समानुपातिक र समावेशी आधारमा छ,’ उनले भने।
अहिलेको संविधानमा जनजाति, आदिवासी, मुस्लिम, थारु, मधेशी, महिला सबैको समावेशीता रहेको सभापति देउवाको भनाइ थियो । उनले अगाडि भने, ‘त्यसैले अहिलेको संविधानले अत्यन्तै ठूलो र महत्त्वपूर्ण भूमिका खेलेको छ । हाम्रो पार्टीभित्र पनि सबैलाई समानुपातिक, समावेशी किसिमको हाम्रो विधान छ । त्यसकै आधारमा अहिले मुस्लिम समुदायबाट पनि नेताहरु हुनुहुन्छ ।’