राजावादीको प्रदर्शनबाट नेतालाई सच्चिन पाठ


काठमाडौँ

विभिन्न गुटमा विभाजित राजावादी दल, संस्था र व्यक्तिको संयुक्त आयोजनामा आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा काठमाडौंमा प्रदर्शन भएको छ । पोखराबाट समिट एयरको चार्टर्ड विमानबाट काठमाडौं ओर्लेका शाहको स्वागतमा राजावादीले प्रदर्शन गरेका हुन् । विमानस्थलबाट बाहिरिएपछि शाह गाडीबाट समर्थकलाई अभिवादन गर्दै निर्मल निवास पुगेका थिए ।

पूर्वराजा शाहको गतिविधि र राजावादीको प्रदर्शनप्रति राजनीतिक दलका नेताहरू भने आक्रामक ढंगले प्रस्तुत भएका छन् । आपसमा आरोप/प्रत्यारोप गरिरहेका सत्ता र प्रतिपक्ष दलका नेताहरू शाहको बढ्दो सक्रियतालाई लिएर एक ठाउँमा आएका मात्रै छैनन्, एउटै स्वरमा चेतावनीसमेत दिइरहेका छन् ।

आइतबार सुदूरपश्चिमको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मनलाई टुक्राटुक्रा पारेर देशलाई विभाजित नगर्न’ शाहलाई चेतावनी दिए । ‘अराजकताको बाटो हिँडेर कसैले केही हत्याइहाल्छु, भन्ने सपना देखेको छ भने त्यस्तो सपना नदेख्दा राम्रो,’ ओलीले भने, ‘पूर्वराजालाई लगेर सिंहासनमा बसाउने भन्ने, नारायणहिटीमा छिराउने भन्ने, के भन्या त्यो ? कुर्सीमा लगेर राख्दा शासक हुन्छ मान्छे ? मानिदिनु परेन ?’

प्रमुख प्रतिपक्षी माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राजावादीको गतिविधिलाई संकेत गर्दै पार्टीको अभियान रोकिनुपरेको बताएका छन् । ‘अहिले अभियानमा जनताको उत्साहपूर्ण सहभागिता रहँदै गर्दा हामीले केही दिनका लागि अभियान स्थगित गरी संसद् र स्ववियु निर्वाचनका काममा केन्द्रित हुने निर्णय गरेका छौं,’ दाहालले भने ।

सुर्खेतमा आइतबार आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हो भनेर केहीले भ्रम फैलाइरहेको र भ्रममा राजा हौसिन आवश्यक नभएको बताए । ‘आन्दोलन र क्रान्तिबाट फालिएका राजसंस्थाका राजाहरू उसै देशमा स्वतन्त्रतापूर्वक अधिकार उपभोग गरी बसेको इतिहास कमै छ, जनताले दिएको त्यो स्वतन्त्रता नबिर्सिन म आग्रह गर्छु’ उनले भने ।

पेसागत संघसंस्थाका नेता र विश्लेषक राजावादीको अभियानले गणतन्त्रवादी नेतालाई सचेत बनाएको र सच्चिएर जानुपर्ने पाठ दिएको बताउँछन् । सरकारको अस्थिरता, सुशासन र सेवा प्रवाहका मुद्दामा राजनीतिक दल गम्भीर नबन्दा राजावादी हौसिएको पूर्वप्रमुख निर्वाचन आयुक्त तथा विश्लेषक भोजराज पोखरेलले टिप्पणी गरे । ‘गल्ती नसच्चाउने र दोहोर्‍याउँदै जाने, सुशासन र सार्वजनिक सेवालाई बेवास्ता गर्दै जाने हो भने नेताले धेरै अप्ठ्यारो अवस्था सामना गर्नुपर्ने हुन्छ’ पोखरेलले भने, ‘सरकारले सुशासन र न्यायपूर्ण सेवालाई प्रभावकारी बनाउनुपर्छ ।’

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे गणतन्त्रमाथि संकट आएको नभई पूर्वराजा शाह कसैको उक्साहटमा हौसिएको बताउँछन् । ‘अहिले सडकमा शाहको जस्तो गतिविधि देखियो, त्यो राजनीति गर्ने अभिलाषाबाट प्रेरित छ’ उनले भने, ‘बरु, राजनीतिक दल खोल्दा राम्रो हुन्छ ।’ राजावादीको अभियानमा सडकमा देखिएको नागरिकको असन्तुष्टि भने मुलुकमा व्याप्त कुशासन र देशको बिग्रँदो अवस्थाको कारण रहेको उनको ठम्याइ छ । ‘एउटै व्यक्ति लामो समय शासनमा बस्ने, देशको अर्थतन्त्र सबल हुन नसक्ने, सुशासन कायम नहुने जस्ता कारणले पनि प्रदर्शनलाई मलजल गरेको छ’ उनले भने, ‘नागरिकले नेता र दलको विकल्प खोज्न सक्छन् तर गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन ।’

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई सरकारले सुशासन कायम गर्न नसक्दा विभिन्न रूपमा नागरिकको असन्तुष्टि प्रकट भइरहेको बताउँछन् । ‘प्रमुख राजनीतिक दलले सुशासनलाई बेवास्ता गर्दा नागरिकको असन्तुष्टि कहिले बालेन भएर प्रस्फुटित भएको छ त कहिले गोपी हमाल र हर्क साम्पाङ भएर प्रस्फुटित भएको छ’ उनले भने, ‘अहिलेको असन्तुष्टि ज्ञानेन्द्र शाह भएर प्रस्फुटित भएको मात्रै हो, तर त्यो भन्दैमा संविधान र कानुनबमोजिम राजतन्त्र स्थापना हुने कुनै सम्भावना छैन ।’

आइतबारको प्रदर्शनले छरिएका राजावादी दल र हिन्दुवादी संघ/संगठन एकत्रित हुन खोजिरहेको आभास दिएको विश्लेषक तुलानारायण साहले बताए । प्रदर्शनकारीले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर अंकित प्लेकार्ड बोेकेकाले पनि पूर्वराजाको सक्रियताप्रति हिन्दुवादी संघ/संगठनको गठजोड भएको उनको अनुमान छ । ‘राजा फर्काउनुपर्छ भन्ने स–साना शक्तिहरू संगठित भएको जस्तो देखिन्छ र यसका पछि कुनै नै कुनै शक्तिले काम गरिरहेको आभास हुन्छ’ साहले भने, ‘गणतन्त्र संकटमा जाने अवस्था नभए पनि देशमा कुनै न कुनै खालको अराजकता ल्याउन संकेत देखिन्छ । यसलाई गणतन्त्रवादी राजनीतिक दलहरूले गम्भीर ढंगले सोच्नुपर्ने देखिन्छ ।’

वाम विश्लेषक खगेन्द्र प्रसाईं विदेशी शक्तिको आडमा पूर्वराजा शाहको गतिविधि बढेको दाबी गर्छन् । भारतको एउटा शक्तिले नेपालका गणतन्त्रवादीलाई घुँडा टेकाउन र आफूले भनेजस्तो सम्झौता गराउन बाध्य पार्ने नियतबाट सडक प्रदर्शनलाई साथ दिन खोजेको उनको आरोप छ । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनेर प्रयास गरे पनि नेपालमा गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताइन् ।

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...