बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक : एसियास्तरको राजमार्गका रुपमा स्तरोन्नति गरिँदै


अमृत गिरी, बुटवल 

विसं.२०१८ सालमा निर्माण भएको महेन्द्र राजमार्ग (पूर्व–पश्चिम राजमार्गं) लाई अहिले विभिन्न खण्डमा विभाजन गरेर अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्ने काम सुरु भएको छ। त्यसको सुरुवात बुटवल–गोरुसिङ्गे खण्डबाट हुँदैछ। 

पूर्व–दक्षिण एसियाको यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमअन्तर्गत यो सडक अन्तर्राष्ट्रियस्तरमा विस्तार हुन लागेको हो। योसंगै राजमार्ग निर्माण भएको करिब ६२ वर्षपछि बुटवल– गोरुसिङ्गे–चन्द्रौटा सडकखण्डबाट राजमार्गलाई अन्तर्राष्ट्रियस्तरको मापदण्डमा स्तरोन्नति गर्ने कामको थालनी भएको छ। 

शहरी क्षेत्रमा सर्भिस लेन, फुटपाथ, साइकल लेनसहित छ लेनमा विस्तार हुनेछ  भने ग्रामीण अर्थात् वन क्षेत्रमा चार लेनमा स्तरोन्नति गरिनेछ। सहरी क्षेत्र, सेमी सहरी क्षेत्र र ग्रामीण क्षेत्र गरी तीन भागमा विभाजन गरेर अन्तर्राष्ट्रिय स्तरको राजमार्ग खण्ड बनाउन लागिएको हो।

यो खण्डमा सुरुमा २५÷२५ किमीको प्याकेजमा विभाजन गरेर विस्तार गरिने छ । जोइन्ट भेन्चर सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेशन लिमिटेड र आशिष निर्माण सेवा लिमिटेड र नेपाल सरकारबीच २०८१ असार ११ गते ठेक्का सम्झौता भएको थियो। 

sadak1739126238.jpg

सडक स्तरोन्नति गरिएपछि देखिने आकार (स्केचमा) । 

काम सुरु भएको मितिदेखि ३ वर्ष निर्माण सक्ने र पाँच वर्षसम्म मर्मत सम्भारको अवधि तोकिएको छ। यो सडक खण्डलाई ७ अर्ब ८९ करोड ४३ लाख ५३ हजार ९ सय ६३ रुपैयाँ ९८ पैसामा एक २५ किमीको एउटा खण्ड र ५ अर्ब ६६ करोड २२ लाख ४२ हजार ४ सय ७७ रुपैयाँ ९ पैसामा अर्को २५ किमीको खण्डलाई दुई प्याकेजमा काम गर्नेगरी ठेक्का सम्झौता भएको हो। 

साँघुरो, कमजोर र अतिक्रमित अवस्थाको सडकमा दुर्घटनाको जोखिम बढिरहेका बेला अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्नेगरी काम सुरु भएको छ। यो सडक खण्डमा पहिलो चरणमा एक साथ चारवटा पुलको निर्माणकार्यबाट काम थालिएको छ। बुटवलको तिनाउ नदीमा भने सिग्नेचर पुल बनाइनेछ। अन्तर्राष्ट्रिय स्तरका राजमार्ग, पुल र भौतिक संरचना निर्माणका लागि स्रो सुनिश्चित गर्नेदेखि निरन्तर पैरवी गर्ने काममा सुरुदेखि नै अर्थमन्त्री विष्णुप्रसाद पौडेल लागिरहेका छन्। 

बुटवल–गोरुसिङ्गे खण्डमा निर्माण हुने ३० वटा पुल हालका पुलसँग जोडेर चार र पाँच लेनमा विस्तार गरिनेछ। यहीँ खण्डमा साना ठूला सबै खाले गाडी नै वारपार हुनेगरी अलग्गै अण्डरपास र यात्रु पास हुने अण्डर तथा ओभर पासका अलग अलग करिब ३० वटा पुल नयाँ डिजाइनमा बन्नेछन्। 

बुटवल ढवाहास्थित सतुगढी–१, सतगढी २, सैनामैनाको बुद्धनगर स्थित इंगुरिया र कपिलवस्तुको बाणगंगा नदीमा एक साथ पुल निर्माणको काम सुरु गर्दै बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक विस्तारको काम सुरु भएको हो। गत माघ ११ गते बुटवल जितगढीबाट प्रधानमन्त्री केपी ओलीबाट यो सडक विस्तारको कामको शिलान्यास थियो। 

सडक आयोजना कार्यालयका प्रमुख इन्जिनियर कुशलता न्यौपानेका अनुसार अहिले सडक खण्डमा काम सुरु भएका प्रत्येक पुलमा ठेकेदारका तर्फबाट एक इन्जिनियर, दुईजना सबइन्जिनियर, एक जना मटेरियल इन्जिनियर, एक जना हाइवे इन्जिनियरसहित मजदुरहरु उपकरणसहित खटिएका छन्। 

Pul bandai 61739126213.jpg

भारतीय प्रतिष्ठित कम्पनी लाफा एसोशिएटले परामर्शदाताको काम गरिरहेको छ। परामर्शदाता कम्पनीका प्रमुख इन्जिनियर चन्द्र शेखरामलाई पुल तथा सडक क्षेत्रमा राम्रो दख्खल राख्ने अन्तर्राष्ट्रिय स्तरको इन्जिनियरका रुपमा लिइन्छ। उनकै नेतृत्वमा प्राविधिकहरु यो सडक खण्डलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने गरी डिजाइन भएको छ। उनको साथमा दुई इन्जिनियरसंगै आएका छन्। 

यस्तै सडक विभागबाट इन्जिनियरहरु अशोक पौडेल र जिगेशप्रसाद चौधरीको नेतृत्वमा प्राविधिक र मजदुरहरु फिल्डमा खटिएका छन्। अहिले बनिरहेका ती चारवटै पुल साविकको पुलदेखि चार मिटर तलबाट नयाँ बन्न लागेका हुन्। सहरी क्षेत्रमा नयाँ ३ लेन र पुराना दुई लेन गरी ६ लेनका र ग्रामीण अर्थात् वन क्षेत्रमा नयाँ दुई र पुराना दुई गरी चार लेनका पुल बन्नेछन्।

वनले समयमै सडक क्षेत्राधिकारका रुखको कटानको अनुमति दिइसकेको छ। यो खण्डको क्षेत्राधिकारमा परेका रुख काटिएबापत अन्यत्र करिब ७२ हजार नयाँ रुख रोपिने भएको छ। 

अहिले पुल बन्न लागिरहेका ठाउँमा पिल्लर मुनी पायल गाड्ने काम भइरहेको छ। सत्गढी–१ मा १५ वटा पायल, सत्गढी–२ मा २ वटा, बाणगंगा नदीमा १० वटा पायलिङका काम सम्पन्न भइसकेका छन् भने इंगुरियमा भरखर काम सुरु भएको छ। यीमध्ये बाणगंगाको चार लेनको बन्नेछ भने बाँकी सबै पुलहरु पाँच लेनका बन्ने छन्। 

पहिलेका पुल नहटाई त्यसको दायाँतिर चार मिटर परबाट दुईवटा पुल बनाइने र पुरानालाई मर्मत गरिने सडक विभागका तर्फबाट साइटमा खटिएका इन्जिनियर पौडेलले बताए। यो खण्डमा बन्ने नयाँ ३० वटा पुलहरु सबै नयाँ डिजाइनका बन्नेछन्। 

sketch 11739126215.jpg

यो सडक खण्डमा ६ वटा भेहिकल अन्डरपास, १२ वटा पैदलयात्रु अण्डरपास पुल, ११ वटा ओभरपास बन्नेछन्। यी सबै पुल ललितपुरको ग्वार्कोमा बनेको भन्दा केही नयाँ डिजाइनका हुन्। जितगढी, बेलबास चोक, नयाँगाउँ चोक, तामनगर चोक, सैनामैनाका मुर्गिया बजार र बुद्धनगर चोक तथा कपिलवस्तुको चार नम्बर जीतपुर चोकमा यस्ता ‘भेहिकल अण्डरपास’ बनाउने गरी काम सुरु भएको छ। त्यसका लागि माटो परीक्षणको काम भइसकेको छ। 

यस्तै सडक खण्डमा करिब १९ वटा अण्डर र ओभर पासका पुल पैदल यात्रुका लागि बनाइने छ। अहिले निर्माण कम्पनीले पुल बनाउने तिनै चोकहरुमा माटो परीक्षण गरिरहेको छ। सडक खण्डमा ११ वटा ठाउँमा मेजर जक्सन तोकिएका छन्। तीमध्येका दुई वटा प्रमुख चोकमा ट्राफिक लाइटसमेत जडान गर्नेगरी डिजाइन भएको छ। अहिले सडक खण्डमा ब्रिज इन्जिनियर, इन्जिनियर, ओभरसियर, ल्याब इन्जिनियर, मटेरियल इन्जिनियर, क्वालिटी इन्जिनियर, हाइवे इन्जिनियरसहितको टोली निरन्तर खटिएको आयोजना प्रमुख इन्जिनियर न्यौपानेले बताइन्।

राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको मोडालिटीमा अगाडि बढाउने गरी अर्थमन्त्री पौडेलको विशेष पहलमा स्रोत सुनिश्चित भएको हो। सडक विस्तारका लागि दुई खण्डमा गरी १३ अर्ब ५५ करोड ६५ लाख ९६ हजार ४ सय ४१ रुपैयाँको ठेक्का सम्झौता भई तीन वर्षभित्र योजना सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप र आशीष निर्माण सेवा नेपाल जेभीसँग सम्झौता भई काम सुरु भएको छ। 

जंगल क्षेत्रमा १९ वटा अन्डरपास बनाइने भएको छ । १९ मध्ये सालझन्डी पिपरा खण्डमा चारवटा बनाइने छ। कोइली, घेरुवा बनगाई–गोरुसिंगे जंगलमा १० वटा अन्डरपास बनाइनेछ। जंगल रहेको क्षेत्रमा सडकलाई २४ मिटरको बनाउने र ठाउँ ठाउँमा वन्यजन्तु वारपार गर्न अग्ला पुल बनाइनेछ। वन क्षेत्रका अतिरिक्त बस्ती भएका ठाउँमा भने सडक त्यसको दोब्बर फराकिलो हुनेछ।

Pul bandai 11739126151.jpg

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...