चीन भ्रमणको आलोचना गर्नेप्रति प्रधानमन्त्री आक्रोशित


काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ देखि हुन लागेको आफ्नो चीन भ्रमणसम्बन्धी टिप्पणीमा असन्तुष्टि जनाएका छन् । शुक्रबार राजधानीको दरबारमार्गमा एमालेले गरेको ‘जागरण सभा’ मा चीन भ्रमणको विषयमा आलोचना गर्नेलाई ओलीले ‘वाहियात र कायर’ भएको टिप्पणी गरेका हुन् । 

प्रधानमन्त्री ओली आफ्नो पहिलो औपचारिक विदेश भ्रमणको रूपमा चीन जान लागेका छन् । धेरैजसो नेपाली प्रधानमन्त्रीले भारतबाट आफ्नो पहिलो विदेश भ्रमण सुरु गरेको विगत भएकाले अहिले ओलीले गर्न लागेको चीन भ्रमणको विषयमा टीकाटिप्पणी भएको हो । सभामा ओलीले नेपालका प्रधानमन्त्रीले कुन देशको भ्रमण गर्ने भन्ने कुनै नीति नभएको उल्लेख गर्दै भ्रमणको विषयमा भएका टिप्पणीप्रति असन्तुष्टि जनाए ।

‘कतिले के के न व्यवसाय भेट्टाएजस्तो गरेर पहिले कता जानुपर्ने ? कता गयो । अपरिपक्व भयो । कस्तो हुन्छ परिपक्व भन्या ?’ उनको भनाइ थियो, ‘धर्मशास्त्रमा लेख्या छ कि ? संविधानमा लेख्या छ कि ? कानुनमा लेख्या छ कि ? संयुक्त राष्ट्रसंघको बडापत्रमा छ कि ? कहाँचाहिँ बडा परिपक्वता भेट्टाउनुहुन्छ ? यी वाहियात, कायर कुरा हुन् ।’

छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्न केन्द्रित हुने उल्लेख गर्दै उनले आफ्नो चीन भ्रमण सफल हुने दाबीसमेत गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ बैंकबाट लिएको ऋण मिनाहाको चर्चा चलिरहेका बेला सरकारले सकेसम्म कतैको ऋण लिन नचाहेको ओलीले बताए । सबैको राय र सुझावका आधारमा संविधान संशोधन गरिने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले सरकार २०८४ को निर्वाचनसम्म टिक्ने दोहोर्‍याउँदै कांग्रेस–एमाले प्रतिस्पर्धी पार्टी भए पनि लोकतन्त्र र संविधानमाथि षड्यन्त्र हुन थालेकाले सहकार्य गरेको तर्क गरे । ‘सरकार बन्दै बन्दैन भनिन्थ्यो, बन्यो । विश्वासको मत पाउँदैन भनियो, त्यो पनि पायो । दसैं देख्दैन भनियो, मनायो । मंसिर देख्दैन, त्यो पनि कट्यो । भाका राख्दै छन् फागुन,’ उनले भने, ‘फागुन होइन ०८४ मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ ।’ आफ्नो कार्यकाल २०८३ असारसम्म र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा २०८४ को आम निर्वाचनसम्म प्रधानमन्त्री हुने उनले बताए ।

मुलुकको अर्थतन्त्रलाई खलबल्याउन कम्बोडियाको टेलिकममा आफ्नो लगानी रहेको अफवाह फैलाइएको भन्दै ओलीले आपत्ति जनाएका छन् । उनले यसबारे तथ्यसहित बहस गर्न चुनौती दिए । ‘भन्दिए त भयो नि, कम्बोडियामा ३२ हजार करोड, २१ हजार करोड डलर, स्विस बैंकमा यत्ति हजार ? तपाईंहरू त हेर्न जानुहुन्न । यस्ता फाल्तु कुराहरू गरेर केही छैन । देशको अर्थतन्त्र र मौद्रिक नीतिलाई खलबल्याउन र ध्वस्त बनाउन यस्ता कुराहरू भएका हुन्,’ उनले भने ।

ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंप्रति लक्षित गर्दै समाजमा भ्रम फैलाएको बताए । ‘बैंकको ऋण तिर्नुपर्दैन भनेर कोही कराएर हिँड्छन् । बैंकको ऋण लिएपछि तिर्नु पर्दैन ?’ उनले भने, ‘उद्यमी, व्यवसायी, मारवाडीलाई खेद्न अभियान चल्छ ?

यो केका लागि ? साम्प्रदायिक विद्वेष मच्चाउने, अर्थतन्त्र ध्वस्त पार्ने यस प्रयासका लागि ।’ प्रमुख प्रतिपक्ष दल माओवादीलाई संकेत गर्दै तथ्यका आधारमा बहस गर्न तयार रहेको उनले बताए । ‘कसले अकुत सम्पत्ति थुपारेर आज अर्बौंका मालिक कसले बनाएको छ ? बहस गर्न हामी तयार छौं,’ उनले भने ।

विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङप्रति संकेत गर्दै ओलीले विद्युत् महसुल उठाउन नसकेर लाइन काटेर उद्योग बन्द गराउने कार्य गरेको आरोप लगाए । ‘बक्यौता नउठाउने अनि विद्युत्का लाइन काट्ने ? अहिले सरकारले भनिरहेको छ, बक्यौता उठाऊ । विद्युत् आयोगले जे भनिरहेको छ टीओडी बिलअनुसार पैसा असुल गर,’ ओलीको भनाइ थियो, ‘लाल आयोगको प्रतिवेदन कार्यानन्वयन गरेर विद्युत् महसुल उठाऊ । त्यो नगर्ने ? देशका उद्योग बन्द गरिदिने ? मजदुर बेरोजगार गरिदिने । निर्यात बन्द गरिदिने । यस प्रकार षड्यन्त्र भइराख्या छन् ।’

ओलीले ठग र अपराधमा संलग्नहरूलाई कारबाही गरेरै छाड्ने बताए । सहकारी ठगीमा अनुसन्धानका लागि हाल प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै चोरले प्रहरी हाकिमलाई हप्काएजस्तो काम भइरहेको उनले दृष्टान्त दिए । ‘कुनै पनि खालको अपराध, अराजकताहरू जे पनि बोल्न, चरित्र हत्या गर्न पाइने, घृणा फैलाउन पाइने । यो कुरा नेपाली समाजलाई स्वीकार्य छैन । यहाँ त उल्टै सहकारीमा ठगेको कति–कति प्रमाणहरू छन् । आफैं सहकारी ठगी गर्ने, अरूलाई मुख छाड्ने ?’ उनले भने, ‘कुनै पनि प्रकारको भ्रष्टाचार सह्य हुने छैन । कुनै पनि प्रकारको ठगी सह्य हुने छैन । कुनै पनि प्रकारको मानव तस्करी सह्य हुने छैन ।’

सभामा एमाले महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण मुलुक नबनेको बताए । ‘बहुदलीय व्यवस्था स्थापनाका ३५ वर्षमा हामीले २८ भन्दा बढी प्रधानमन्त्री बेहोरिसकेका छौं । एउटा प्रधानमन्त्रीले औसतमा सवा वर्ष पनि काम गर्न पाउँदैन,’ उनले भने ।

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...