श्रमिकलाई गन्तव्य मुलुकको हवाई टिकट पाउनै मुस्किल


काठमाडौँ

वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकमा जाने तयारीमा रहेका नेपाली श्रमिकहरू हवाई टिकट अभावले अलपत्र पर्न थालेका छन् । बिदामा आएर फर्कन लागेका र नयाँ श्रम स्वीकृति लिएका कामदारहरूले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको उडान कटौतीका कारण टिकट पाउन नसक्दा रोजगारदाता मुलुकतर्फ प्रस्थान अनिश्चित बनेको छ । अर्कातिर वायुसेवा कम्पनीले टिकटको मूल्य पनि अस्वाभाविक रूपमा बढाएका छन् । 

त्रिभुवन विमानस्थल कार्यालयले पूर्वाधार विस्तार तथा निर्माण कार्यका लागि भन्दै शुक्रबार रातिदेखि लागू हुने गरी राति १० बजेदेखि बिहान ८ बजेसम्म व्यावसायिक उडानमा रोक लगाएको छ । व्यावसायिक उडानमा दैनिक १० घण्टाको रोक चैत १८ सम्मका लागि हो । उडान अवधि घटेपछि अन्तर्राष्ट्रिय र आन्तरिक उडान ३० प्रतिशतले कटौती भएको छ । यही मौकामा वायुसेवा कम्पनीहरूले हवाई भाडा बढाएर तेब्बरसम्म पुर्‍याएका छन् । यसबाट नेपाली श्रमिकहरूको गन्तव्यमा जाने वा स्वदेश फर्कने खर्च बढेको छ ।

टिकट काटिसकेका कतिपय यात्रुकै उडान पनि अनिश्चित बनेको छ । काठमाडौंबाट सबैभन्दा बढी उडान भर्नेमध्येको कतार एयरवेजका एक अधिकारीका अनुसार टिकट काटिसकेका सयौं यात्रुको उडान रोकिएको छ । दिनमा चार उडान गर्न टिकट बेचेको कतार एयरवेजले शुक्रबारदेखि दैनिक दुई उडान मात्र गरिरहेको छ । ‘कतार एयरवेजले दिनमा करिब एक हजार यात्रु बोकिरहेको थियो, अहिले ५ सयमा झरेको छ,’ कतार एयरवेजका ती अधिकारीले कान्तिपुरलाई भने, ‘त्यही कारण हरेक दिन पाँच सय जना हाराहारीको उडान रोकिएको छ । पहिल्यै टिकट काटिसकेका यात्रुलाई समायोजन नगरेसम्म नयाँलाई टिकट दिने अवस्था छैन ।’

टिकट काटिसकेपछि पनि उड्न नपाएकाहरू काठमाडौं हात्तीसारस्थित कतार एयरवेजको कार्यालयमा धाइरहेका छन् । ‘मेरो शनिबार साँझ १८:४० को उडान थियो, रद्द भयो,’ कतारमा कार्यरत नवलपरासीका रिजन चौलागाईंले भने, ‘एक महिनाको बिदामा आएको थिएँ । आइतबारदेखि कम्पनीमा हाजिर गर्नुपर्ने थियो । कहिले उड्न पाउने हो, टुंगो छैन ।’ संयुक्त अरब इमिरेट्स (यूएई) बाट बिदामा आएका नानुकाजी अर्यालले टिकट नपाउँदा काठमाडौंमा थन्किनुपरेको बताए ।

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले टिकट अभावका कारण म्यानपावर कम्पनीहरूले श्रमिक पठाउनै नसकेको बताए । ‘टिकट नपाइएका कारण अधिकांश म्यानपावर कम्पनीले श्रमिकलाई काठमाडौं बोलाएका छैनन्,’ उनले भने, ‘रोजगारदाता कम्पनीलाई तुरुन्तै श्रमिक चाहिएको अवस्थामा महँगो दरमा टिकट काटेर पठाइरहेका छौं ।’

बिदामा आएर तत्काल फर्कनुपर्ने र नयाँ श्रम स्वीकृति लिएका ४५ हजार श्रमिक हवाई टिकट अभावका कारण समस्यामा परिसकेको महासचिव भुर्तेलको भनाइ छ । ‘मैले पठाउनुपर्ने श्रमिकका लागि जनवरीयताको टिकट पाएको छैन,’ उनले भने ।

व्यवसायीहरूले परराष्ट्रमन्त्री आरजु राणा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई शुक्रबार भेटेर उडान कटौतीपछि हवाई भाडामा भएको अस्वाभाविक वृद्धि नियन्त्रण गर्न तथा अन्तर्राष्ट्रिय उडानका लागि भैरहवा वा पोखरा विमानस्थललाई प्राथमिकता दिन माग गरेका थिए । हवाई भाडा अस्वाभाविक रूपमा अकासिएको गुनासो बढेपछि नागरिक उड्डयन प्राधिकरणले स्वदेशी र विदेशी सबै वायुसेवा कम्पनीलाई उपभोक्ता मर्कामा नपर्ने गरी टिकट उपलब्ध गराउन निर्देशन जारी गरेको छ । नेपाल सरकार र वायुसेवा सञ्चालकहरूबीच भएको सम्झौताको सर्तविपरीत महँगो हवाई भाडा लिए कारबाही गर्ने चेतावनी पनि प्राधिकरणले दिएको छ ।

सरकारले श्रमिकका लागि ‘फ्रि भिसा, फ्रि टिकट’ को नीति ल्याएको भए पनि सबै श्रमिकका लागि लागू हुन सकेको छैन । खाडी तथा मलेसियामा जानेमध्ये करिब चार प्रतिशत श्रमिकले मात्र शून्य लागतको सुविधा पाइरहेका छन् । अन्य श्रमिक भने गन्तव्य मुलुकमा जानुपर्दा महँगो हवाई भाडा दरका कारण मर्का पर्ने गरेका छन् ।

यहीबीचमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान गरेका छन् । थाई एयर एसियाले बैंकक, कुवेतको जजिरा एयरलाइन्सले भैरहवा–कुवेत, फ्लाई दुबई एवं नेपाल एयरलाइन्सले काठमाडौं–भैरहवा–दुबई उडान सुरु गरेका छन् । कतार एयरवेजले पनि मंगलबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान थाल्दै छ । यसले केही सहज भए पनि प्रमुख गन्तव्य देशका लागि अपुग हुने वैदेशिक रोजगार व्यवसायी संघका महासचिव भुर्तेलको भनाइ छ । ‘विकल्पमा भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान बढाउनुपर्छ,’ उनले थपे, ‘हामी भैरहवा र पोखरासम्म श्रमिक पुर्‍याउने जिम्मेवारी लिन्छौं । योभन्दा अर्को उत्तम विकल्प छैन ।’

उडान नबढाएसम्म हवाई भाडा कटौती गर्न प्राधिकरणले दिने कागजी निर्देशनले काम नगर्ने संघका महासचिव भुर्तेल बताउँछन् । टिकटको अवस्था सहज नभएसम्म श्रमिकहरू वैदेशिक रोजगारीमा जाने अवस्था नबन्ने उनको भनाइ छ । नेपालबाट दिनमा १५ सय हाराहारी युवा हवाई मार्गबाट वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

छुटाउनुभयो कि ?

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...
नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समिति...
कांग्रेसमा विद्रोह

कांग्रेसमा विद्रोह

काठमाडौंभदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्...