बिग्रियौं, सच्चिन चाहन्छौं : पुष्पकमल दाहाल


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन सरकार ढाल्ने खेलमा आफूहरू नलागेको बताएका छन् । काठमाडौंमा भएको खबरदारी सभालाई सम्बोधन गर्दै उनले कांग्रेस र एमालेसँग सहकार्य नगर्ने दाबीसमेत गरेका छन् ।

सरकार ढाल्ने खेलमा माओवादी लागेको भन्ने आरोपको खण्डन गर्दै अध्यक्ष दाहालले सत्तामा जान आफूहरूलाई हतार नभएको बताए । ‘माओवादीले सडकबाट सरकार ढाल्ने हतारो गरेको छ भनेर बुझ्नुभएको छ भने तपाईंहरू भ्रममा हुनुहुन्छ । अब हामीलाई मन्त्री, प्रधानमन्त्री बनाइदिनुस् भनेर आउने छैनौं । ढुक्कसँग सरकार चलाए हुन्छ,’ उनले भने ।

कांग्रेस र एमालेसँग विगतमा सत्ता सहकार्य गर्नु गल्ती भएको माओवादी अध्यक्ष दाहालको भनाइ छ । ‘केही समय सहकार्य गरेर गल्ती गर्‍यौं । तपाईं (कांग्रेस–एमाले) को रोग अलि–अलि हामीलाई सर्‍यो भन्ने गम्भीर आत्म समीक्षामा छौं,’ उनले भने, ‘हामीलाई बेलैमा निकालिदिएर जनतातिर फर्काइदिनुभयो । त्यसकारण हामीले धन्यवाद भनिराख्या छौं । भ्रष्ट पार्टी र जाली नेताहरूसँग लागेकामा जनतासँग आत्मालोचना गरेर भन्नेछौं– अलि बिग्रियौं, सच्चिन चाहन्छौं ।’ उनले अब जनतासँगको सम्बन्ध सुधारमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका दाहालले सरकारलाई खबरदारी गर्न आयोजित कार्यक्रमलाई लोकतन्त्र र संविधानविरोधी भन्नु आपत्तिजनक भएको बताए । ‘खबरदारी सभा घोषणा गर्नेबित्तिकै सत्तापक्षमा आतंक देखापर्‍यो । सरकार आजै ढल्छ, भोलि ढल्छ भनेका छैनौं । खबरदार, तपाईंहरू सरकार ढल्छ भन्ने डरले अझ बढी बेथितिमा नजानुहोला,’ उनले भने । सरकार परिवर्तन गर्नु आफूहरूको मुख्य काम नभएको उनको भनाइ छ ।

प्रतिपक्षी दलहरूले संसद्को विशेष अधिवेशन माग गर्ने संकेत माओवादी अध्यक्ष दाहालले गरेका छन् । ‘जरुरी पर्‍यो भने, सरकारले निहुँ खोज्यो भने सदनभित्र विशेष अधिवेशनको माग गर्नेछौं । विशेष अधिवेशन माग गर्ने संख्या विपक्षीसँग छ,’ उनले भने, ‘संसद्मा भद्र तरिकाले जवाफ मागिन्छ । धेरै अभद्र भयो भने घिसारेर सडकमै अभद्र तरिकाले जवाफ मागिनेछ ।’

संवैधानिक तरिकाले संघर्षमा जाँदा सरकार गम्भीर नभए विशाल विरोधसभा र आन्दोलन हुने उल्लेख गर्दै दाहालले त्यसप्रति हेक्का राख्न सरकारलाई चेतावनी दिएका छन् । सरकारका गलत कार्यविरुद्धको आन्दोलन शान्तिपूर्ण हुने उल्लेख गर्दै उनले भने, ‘फेरि एउटा क्रान्तिको नेतृत्व गर्न सक्छु भन्ने आँट छ ।’

माओवादी अध्यक्ष दाहालले सहकारी ठगीसम्बन्धी अनुसन्धानका लागि पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई बचाउन खबरदारी सभा नगरेको बताए । बरु अघिल्लो सरकारका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले लामिछानेलाई बचाउन खोजेको आरोप लगाए । ‘रवि लामिछानेलाई मुद्दाबाट बचाउन प्रचण्डले यो खबरदारी सभा राखेको भनेर प्रचार गरिँदै छ । दोषी कोही बच्न हुँदैन, निर्दोष कोही फस्न हुँदैन,’ उनले भने, ‘मैले विगतमा छानबिन समिति बनाउन उचित हुन्छ भनेको हुँ । दोषी भए कारबाही हुन्छ, निर्दोष भए उन्मुक्ति पाउनुहुन्छ भनेको हो । सहकारी छानबिन समिति बन्नु हुँदैन भन्ने ओलीजी हो । रविलाई हरहालतमा बचाउनैपर्छ भन्ने ओलीजी हो ।’

‘बेथिति, भ्रष्टाचार, महँगी र सरकारको जनविरोधी कदम’ विरुद्ध माओवादी केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको खबरदारी सभाका क्रममा निकालिएको र्‍याली । तस्बिर : दीपक केसी/कान्तिपुर

सरकारले सहकारी ठगीसँग जोडिएका कांग्रेस र एमालेका नेताहरूलाई अनुसन्धान नगरेको भन्दै अध्यक्ष दाहालले आपत्ति जनाए । ‘सरकारले अपनाएको रबैयामा हाम्रो आपत्ति छ । त्यही प्रतिवेदन (सहकारी छानबिन) मा नाम उल्लेख भएका एमालेसँग सम्बन्धित व्यक्तिलाई गिरफ्तार गर्नु नपर्ने, कांग्रेसका नेताको पनि नाम छ,’ उनले भने, ‘राजनीतिक पूर्वाग्रहले प्रतिपक्षलाई मात्रै गिरफ्तार गर्ने तरिका बेठिक छ ।’

नक्कली भुटानी शरणार्थी, गिरिबन्धु टी–इस्टेट लगायतका अनियमिततामा ओली सरकारले अनुसन्धान नगरेको दाहालले टिप्पणी गरे । ‘सय दिनमा प्रमाणित भइसकेको छ, बाढीपहिरो पीडितलाई राहत दिन सरकार देखिँदैन । कुलमान घिसिङ (विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक), उपसभामुख (इन्दिरा राना मगर) हटाउन देखिन्छ । दल विभाजन गर्न देखिन्छ सरकार,’ दाहालको सरकारप्रति व्यंग्य थियो, ‘कहाँ पुग्यो भुटानी शरणाथी काण्ड ? कहाँ पुग्यो बाँसबारी जग्गा प्रकरण ? कहाँ पुग्यो गिरिबन्धु टी–इस्टेट, कहाँ पुग्यो बालमन्दिर जग्गा काण्ड ? यो सरकार यी काण्ड खोतल्न होइन, काण्ड मिलाउन आएको सरकार हो ।’

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एमाले मुख्यालय दानमा बनाइदिन लागेको विषयमा पनि अध्यक्ष दाहालले टिप्पणी गरे । ‘दुई चार वर्षअघिदेखि भाटभटेनी प्रचण्डको हो भनियो । मैले होइन भन्दा पत्याउने कसैले होइन । हाम्रो नेतृत्वको सरकारले गिरफ्तार गर्दा पनि यो प्रचण्डकै हो भनेका थिए,’ उनले भने, ‘अहिले कपीजीले क्लियर गर्नुभयो । धन्यवाद केपीजी । त्यसको सेयरहोल्डर तपाईं रहेछ ।’

कांग्रेस र एमालेले सरकार निर्माणका बेला संविधान संशोधन गर्ने बताए पनि अहिले त्यो विषय अघि नबढाइएको दाहालको टिप्पणी थियो । ‘संविधान संशोधन एउटा बहाना थियो, उद्देश्य भ्रष्टाचारीलाई जोगाउनु थियो,’ उनले भने । माओवादी फुटाएर कमजोर बनाउन दुई ठूला पार्टी लागेको आरोप लगाउँदै उनले भने, ‘प्रचण्ड रहिरह्यो भने शान्ति पाउने भएनौं भनेर माओवादी पार्टी सिध्याउन लाग्नुभएको छ । माओवादीलाई फेरि फुटाउन सकिन्छ कि भनेर षड्यन्त्र गरिरहनुभएको छ । नेतृत्वलाई बदनाम गर्न षड्यन्त्र गरिरहनुभएको छ ।’

माओवादी अध्यक्ष दाहालले आगामी निर्वाचनमा गठबन्धन नबनाई प्रतिस्पर्धा गर्ने उद्घोष गरे । ‘आगामी निर्वाचनमा हामी जति ल्याए पनि एक्लै लड्छौं । हामीले बीचमा गल्ती गर्‍यौं, जनतासँगको सम्बन्ध कमजोर भयो,’ उनले भने, ‘माओवादी फेरि एक हुन्छ, बनाइन्छ । एक्लै चुनाव लडेर कांग्रेस–एमालेलाई जनताकै तहबाट सजाय दिइनेछ ।’

अध्यक्ष दाहालले मुलुकमा सुशासन कायम गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख उपयुक्त हुने बताए । ‘शासकीय प्रणाली गलत भयो भने भ्रष्टाचार रहिरहन्छ । जबसम्म चुनाव लड्नका लागि करोडौं खर्च गर्ने प्रणाली रहन्छ, तबसम्म भ्रष्टाचार रोकिँदैन,’ उनले भने, ‘जनताद्वारा निर्वाचित कार्यकारी प्रमुख भयो र उसले विज्ञलाई मन्त्री बनाउने व्यवस्था भयो भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ । निर्वाचन प्रणाली पूर्ण समानुपातिक बनाइयो भने पनि भ्रष्टाचार हुँदैन ।’

कांग्रेस–एमाले संविधान संशोधनको बाटोमा अघि बढे प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा जाने माओवादीको तयारी छ ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...