अब ट्राफिक जरिवाना क्यूआर स्क्यानबाटै


  • सुरुवाती चरणमा ट्राफिक प्रहरीलाई वाग्मती प्रदेश सरकारले दियो क्यूआर कोड स्क्यान गर्ने १०४ थान स्मार्टफोन

काठमाडौँ — यसअघि ट्राफिक कारबाहीमा पर्दा प्रहरीले थमाउने गरेको चिट (कागजी रसिद) को विकल्पमा अब ई–चलानको प्रयोग सुरु हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा ट्राफिक प्रहरीलाई सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अनलाइन जाँच गर्ने डिभाइस हस्तान्तरण गरिएसँगै ई–चलान प्रयोगमा आउने भएको हो ।

नागरिक एपमा रहेको ‘ड्राइभिङ लाइसेन्स’ भित्र रहने क्यूआर कोड स्क्यान गरेर ट्राफिक प्रहरीले इलेक्ट्रोनिक चलान जारी गर्ने व्यवस्था वाग्मती प्रदेशबाट सुरु गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । वाग्मती प्रदेश सरकारले सुरुवाती चरणमा क्यूआर कोड स्क्यान गर्ने १०४ थान स्मार्टफोन ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ । ती स्मार्टफोनमा चालकको नागरिक एपभित्रको क्यूआर कोड स्क्यान गरेर विवरण हेर्ने र आवश्यक पर्दा जरिवाना तोक्ने सफ्टवेयर इस्टल गरिएको छ । यसमा अन्य कुनै एप्लिकेसन भने चलाउन नमिल्ने गरी ‘लक’ गरिएको छ ।

वाग्मती प्रदेशअन्तर्गतका सबै जिल्लामा थप ४ सय यस्ता डिभाइस उपलब्ध गराउने वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौलाले जानकारी दिए । ‘अब चालकहरूले लाइसेन्स बोकेर हिँड्नु नपर्ने भएको छ, प्रहरी जाँचमा नागरिक एपमा रहेको भर्चुअल लाइसेन्स देखाउँदा हुन्छ,’ निरौलाले भने, ‘ट्राफिक नियम उल्लंघन भए एपभित्रकै क्यूआर स्क्यान गरेर ट्राफिक प्रहरीले सोही स्थानमा जरिवाना गर्न सक्नुहुन्छ । सवारी चालकले पनि तोकिएको जरिवाना अनलाइन प्रणालीबाटै दाखिला गर्न सक्छन् ।’

अहिलेको चिट प्रणालीलाई हटाउने गरी ई–चलान लागू गर्न खोजिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन कार्कीले प्रतिक्रिया दिए । ‘हामीलाई उपलब्ध गराइएको स्मार्टफोनमा चालकको नागरिक एपमा भएको ड्राइभिङ लाइसेन्सको क्यूआर कोड स्क्यान गरेर ट्राफिक नियमन उल्लंघन गर्नेलाई त्यही स्मार्टफोनबाट जरिवाना र कारबाही अघि बढाउन मिल्छ,’ उनले भने, ‘यसबारे हाम्रा जनशक्तिलाई पनि तालिम दिन र सिस्टम अपडेट गर्न केही दिन समय लाग्छ । अब दुई–चार दिनपछि ट्राफिक प्रहरीको हातमा चिट काट्ने रसिद हुने छैन ।’

एपमा नियम उल्लंघनको विवरण र तथ्यांक पनि देखिन्छ । तोकिएको जरिवाना नतिरे क्यूआर कोड नदेखिने र कोड देखिने बनाउन जरिवाना तिर्नैपर्ने हुन्छ । यी स्मार्टफोनमार्फत स्क्यान गरिएको चालकको लाइसेन्ससम्बन्धी विवरण प्रहरीको ट्राफिक भायोलेसन रेकर्ड सफ्टवेयर (टीभीआरएस) प्रणालीमा पनि स्वतः अद्यावधिक हुने कार्यक्रममा जानकारी दिइएको थियो । यो प्रणालीको स्वागत गर्दै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आगामी दिनमा प्रहरीले लाइसेन्स जाँच गर्दा कागजी रसिद विस्थापित हुँदै जाने बताए ।

‘अहिलेलाई भौतिक रूपमा बोक्ने गरिएको स्मार्ट कार्ड वा रसिदबाहेक नागरिक एपभित्रको क्यूआर कोड स्क्यान गरेर विवरण यकिन गर्नेदेखि कसैले ट्राफिक नियमको उल्लंघन गरेमा एपबाटै जरिवानाको व्यवस्था गर्न सकिने भयो,’ कुँवरले भने, ‘पूर्ण रूपमा भर्चुअल माध्यमबाट लाइसेन्सको नियमन गर्न ट्राफिक प्रहरीलाई कुल तीन हजार स्मार्टफोनको आवश्यकता छ, तत्कालका लागि एक हजार फोन चाहिन्छ ।’ कार्यक्रममा उनले १०४ थान स्मार्टफोन ग्रहण गरेका थिए ।

छुटाउनुभयो कि ?

माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

काठमाण्डौ – आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गत...
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

काठमाण्डौ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएकोे छ । संस्थापन प...
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...