
बुटवल, भदौ २४। बुटवल उपमहानगपालिकाले सडक क्षेत्राधिकार भित्र गरिएका व्यापार व्यवसाय र अव्यवस्थीत पार्किङ खाली गर्न ब्यवसायीहरुलाई ३ दिने अल्टिमेटम दिएको छ। आफ्नो प्रशासनिक कार्यालय अगाडीको सडक समेत कब्जा गरि व्यापार व्यवसाय गरेकाहरुलाई नहटाएको भन्दै आलोचना बढेपछि बुटवल उपमहानगरपालिकाले सक्रियता देखाएको हो।पछिल्लो समय काठमाण्डौं र पोखरा महानगरपालिकाले सार्वजनिक स्थल, सडक र फुटपाथमा गरिएको अतिक्रमण संगै सरकारी भवन समेत हटाएर प्रशंसा बटुलेपछि अन्य नगरपालिकाहरुलाई दवाव परेको हो।बिहिवार मात्रै तिलोत्तमा नगरपालिकाले असोज ५ गतेभित्र सार्वजनिक स्थलको अतिक्रमण हटाउन अल्टिमेटम दिएपछि भने चौतर्फी सडक अतिक्रमण भएको बुटवल उपमहानगरपालिकालाई थप दवाव परेको थियो।उपमहानगरपालिकाले शुक्रवार सूचना जारी गर्दै तिनदिन भित्र सडक क्षेत्राधिकारभित्र अव्यवस्थित रुपमा राखिएका निर्माण सामग्री, पसल, ठेला, सवारी पार्किङ तथा वर्कशपहरु हटाउन अल्टिमेटम दिएको छ।
बुटवल उपमहानगरपालिका मौन बस्दा बुटवलका सडक किनार र फुटपाथ मात्रै होईन कतिपय सडकको मध्यभाग सम्मै फुटपाथ ब्यापारीहरुले कब्जा जमाएका छन्। बिशेषगरी कालिकापथको तिनकुने क्षेत्र, राजमार्ग चौराह र मिलनचोक सम्मको क्षेत्र, बसपार्क,नेपालगन्जराेड, श्रवणपथ लगायतका क्षेत्रका सडक ब्यवसायीहरुको ब्यापार गर्ने थलो बनेको छ।
उपमहानगरपालिकाका अधिकृत डोलराज पौडेलले हस्ताक्षर गरि सार्वजनिक गरिएको उक्त सूचनामा गोलपार्क देखि योगिकुटी, रामनगरदेखि तामनगर, भित्री सडकहरुमा समेत सडक पेटी, चोक चौराहमा अव्यवस्थीत रुपमा राखिएका ठेला, ट्यांकी, बजार, निर्माण सामग्री, सवारी पार्किङ, वर्कसप लगायतको अवरोध हटाउन अनुरोध गरिएको छ।

‘बुटवल उपमहानगरपालिकालाई सफा, सुन्दर र बस्नयोग्य बुटवल शहर बनाउनका लागि गोलपार्कदेखि योगीकुटी, रामनगरदेखि तामनगरसम्म र भित्री सडकहरु समेतमा सडकको क्षेत्राधिकार, सडक पेटी चोक चौराहामा अव्यवस्थित रुपमा रहेका ठेला, टंकी, बजार, निर्माण सामग्री, सवारीपार्किङ, वर्कसप लगायतका सामानहरु राखि अवरोध गर्ने गरेको देखिएकोले आजका मितिले ३ दिन भित्र खाली गरिदिनुहुन अनुरोध छ।’–जारी सूचनामा उल्लेख गरिएको छ।
उपमहानगरपालिका कार्यालयको मुखैमा रहेको साप्ताहिक हाटबजार, अमरपथ, ट्राफिकचोक, तिनकुने चोक, देविनगर, दिपनगर, अस्पताल लाईन, नयाँ बसपार्क, मिलनचोक, राजमार्ग चौराह, पुरानो बसपार्क लगायतका क्षेत्रमा फुटपाथ र सडक समेत कब्जा गरि ठेला राख्ने मात्र होईन हाटबजार समेत संचालन गर्दै आएका छन्।
एकातर्फ निर्माणको क्रममा पारिएको अस्तव्यस्त सडक र अर्कोतर्फ फुटपाथ र सडक नै कब्जा गरि व्यापार व्यवसाय संचालन गरिदा सवारी चालक र फुटपाथमा पैदल यात्रा गर्ने यात्रुहरुले समेत सास्ती भोग्दै आएका छन्। अहिले फुटपाथ नै व्यापारीहरुको कब्जामा राख्ने गरेका छन्। जसले गर्दा यात्रुहरु भिडमा जोगिएर हिड्न निकै सकस हुने गरेको छ।
लुम्बिनी प्रादेशिक अस्पतालको पुर्व र उत्तरतर्फका दुबै गेटसम्म पुगेर एम्बुलेन्सलाई आवतजावत गर्न समेत असुविधा हुने गरि व्यवसायीले ठेला र भुईमै बिच्छाएर पसल थाप्ने गरेका छन्।
बुटवल उपमहानगरपालिकाले फुटपाथमा रहेका ठेला र भुईमै पसल थापेका व्यवसायीसँग समेत ठेकेदार मार्फत दैनिक कर असुल गरेको भन्दै आलोचना हुने गरेको थियो। भुई र ठेलामा व्यवसाय गर्नेहरु मात्र होईन सटर भाडामा लिएर व्यवसाय संचालन गरेकाहरुले पनि सडक र फुटपाथमा सामान राखेर कब्जा गर्दै आएका छन्।