
काठमाडौं
दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्र (तिब्बत) मा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।
नाग्छु सहरको बाकेन काउन्टीमा बिहीबार राति १० बजेर ३३ मिनेटमा भूकम्प गएको नगरको आपत्कालीन व्यवस्थापन ब्युरोले जनाएको छ ।
भूकम्पमा परी घाइते भएकामध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ भने २१ जनालाई सामान्य चोट लागेको छ । शुक्रबार बिहान २ बजेर २५ मिनेटसम्मको विवरणअनुसार भूकम्पका कारण ३०० भन्दा बढी घर भत्किएका छन् ।
भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको अधिकारीहरूले जनाएका छन् । प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र पारिएको छ ।
उद्धार तथा राहतका लागि ३०० भन्दा बढी प्रहरी परिचालन गरिएको छ । त्यसैगरी, क्षेत्रीय अग्नि तथा उद्धार टोलीले प्रभावित क्षेत्रमा ३४७ जना जनशक्ति खटाएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतक तथा घाइतेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।