रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिट ‘हेर्दाहेर्दै’ मा, निर्णय आज


काठमाडौँ
रास्वपा सभापति रवि लामिछानेलगायतविरुद्ध दायर सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारी बरालको निर्णयविरुद्ध दायर रिट आइतबार बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको छ । समय नपुगेपछि इजलासले सोमबारका लागि रिटलाई हेर्दाहेर्दैमा राखेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र सुनीलकुमार पोखरेलको इजलासमा आइतबार रिट निवेदक र सरकारी वकिलले बहस गरेका थिए । महान्यायाधिवक्ता भण्डारी आफैं बहस गर्न आएकी थिइन् । रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू टीकाराम भट्टराई, दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारी र अनुपम भट्टराईलगायतले बहस गरेका थिए । महान्यायाधिवक्ताले अभियोगपत्र संशोधनको आवरणमा मुद्दा फिर्ता लिएको दाबी गर्दै उनीहरूले सर्वोच्चले न्यायिक हस्तक्षेप गर्नुपर्ने तर्क गरेका थिए । यसलाई मान्यता दिँदा महान्यायाधिवक्ताले अधिकार दुरुपयोग गर्ने अभ्यासको सुरुआत हुने उनीहरूको दाबी थियो ।

रिट निवेदकको बहस सकिएलगत्तै महान्यायाधिवक्ता भण्डारीले बहस गरेकी थिइन् । उनले आफ्नो निर्णयको बचाउ गर्दै राजनीतिक प्रतिशोध तथा थप प्रमाण भेटिएकाले अभियोगपत्र संशोधन गर्न अनुमति दिएको दाबी गरिन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार महान्यायाधिवक्ता बरालको बहसपछि समय नपुगेको भन्दै इजलासले ‘हेर्दाहेर्दै’ मा सोमबार टुंग्याउने प्रस्ताव राखेको थियो ।
अब सरकारका तर्फबाट नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीसहितको टोलीले बहस गर्नेछन् भने लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, रमणकुमार श्रेष्ठ र अधिवक्ता दीपेन्द्र झाले बहस गर्ने तयारी छ ।

महान्यायाधिवक्ता भण्डारीले लामिछानेविरुद्ध कास्की, काठमाडौं, रूपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दामा ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ को दाबी कायम नरहने गरी अभियोगपत्र संशोधन गर्ने निर्णय गत ३० पुस २०८२ मा गरेकी थिइन् । उक्त निर्णयमा लामिछानेमाथि राजनीतिक प्रतिशोधका आधारमा अभियोग लगाइएको र बचतकर्ताको हितलाई प्राथमिकता दिनुपर्ने तर्क प्रस्तुत गरिएको थियो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेलले दायर गरेको रिटमा महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई ‘प्रथम दृष्टिमै गैरकानुनी, बदनियतपूर्ण र स्वेच्छाचारी’ भन्दै बदर गर्न माग गरिएको छ । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३६ लाई अभियोग संशोधनको आधार बनाइए पनि यो व्यवहारतः ‘मुद्दा फिर्ता’ लिने कृत्य भएको रिट निवेदकको दाबी छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिन संहिताको दफा ११६ ले रोक लगाएको अवस्थामा उक्त निर्णयलाई ‘कानुनको कपटपूर्ण प्रयोग’ गरिएको तर्क रिटमा गरिएको छ ।
सम्पत्ति शुद्धीकरणजस्तो गम्भीर आर्थिक अपराधमा उन्मुक्ति दिँदा नेपाल अन्तर्राष्ट्रिय वित्तीय कारबाही कार्यदलको कालोसूचीमा पर्न सक्ने र यसबाट मुलुकलाई अपूरणीय क्षति पुग्ने रिटमा उल्लेख गरिएको छ । मिलापत्र गर्न नमिल्ने संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता मुद्दामा अभियोग संशोधन गर्दा हजारौं बचतकर्ताको न्याय पाउने अधिकार खोसिने जिकिरसमेत गरिएको छ ।

आइतबार बिहान इजलासमा बहस सुरु हुनुअघि वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले न्यायाधीशद्वय सुवेदी र पोखरेलले यो विवाद हेर्न नमिल्ने भन्दै प्रश्न उठाएका थिए । बेन्चमाथि उठेको प्रश्नमा करिब आधा घण्टा छलफल भएको थियो । त्यसपछि न्यायाधीशले मुद्दा हेर्ने भनेपछि वरिष्ठ अधिवक्ता भट्टराईले बहस सुरु गरेका थिए ।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...