७० हजार नयाँ मतदाता थपिए, नाम दर्ता गराउने समय ३० कात्तिक सम्म


काठमाडौँ
तिहारको बिदा हुनु अघिल्लो दिनसम्म ७० हजार नयाँ मतदाता थपिएका छन् । अध्यादेशमार्फत कानुन संशोधन गरेर छुटेका व्यक्तिका लागि अतिरिक्त समय दिइएपछि मतदाता नामावलीमा नाम दर्ता गराउने क्रम जारी छ । सरकार तथा निर्वाचन आयोगले यथाशक्य छिटो मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन आग्रह गरेको छ ।
निर्वाचन आयोगले ९ असोजमा सूचना प्रकाशित गरेर मतदाता नामावली संकलन थालिएको भनेको थियो । त्यसयता २ कात्तिकसम्म ७० हजार ४ सय १५ जना व्यक्ति मतदाता नामावलीमा थपिएका छन् । त्यसमध्ये ४३ हजार १ सय ६५ पुरुष र २७ हजार २ सय ४४ महिला र ६ जना अन्यले नाम दर्ता गराएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए । अनुमान गरिएजस्तो नामावली संकलनमा उत्साहजनक सहभगिता नदेखिएको उनले उल्लेख गरे ।

सरकारले मतदाता नामावली ऐन संशोधन गरेर निर्वाचन घोषणा पछाडि पनि मतदाता नामावली संकलनको व्यवस्था गरेको हो । २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन घोषणा गरिएको छ । निर्वाचन घोषणा भएको मितिबाट मतदाता नामावली संकलन नगरिने कानुनी व्यवस्थालाई सरकारले संशोधन गरेपछि नामावली संकलनको बाटो खुलेको हो । त्यसअनुसार आयोगले ३० कात्तिकसम्म मतदाता सूचीमा नाम दर्ता गराउन सकिने समय दिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मताधिकार सुनिश्चित गर्न मतदाता नामावलीमा दर्ता हुन आह्वान गरेकी छन् । सामाजिक सञ्जाल ‘एक्स’ मार्फत उनले सरकारले निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ तयारी अघि बढाइरहेको भन्दै सबैलाई आफ्नो मताधिकार सुनिश्चित गर्न आग्रह गरेकी छन् ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदानको अधिकारबाट वञ्चित नरहन आग्रह गरेका छन् । ‘मतदाता नामावलीमा छुटेकाहरूका लागि कानुनमै संशोधन गरेर विशेष व्यवस्था गरिएको छ । यो अवसर उपयोग गर्न चुक्नु भएन,’ उनले भने, ‘नाम दर्ता गराउन, सच्याउन वा एक ठाउँबाट अर्को ठाउँमा नामावली सार्न ३० कात्तिकसम्मको समय छ ।’
२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनपछि २७ भदौमा प्रतिनिधिसभा विघटन गरिएपछि नयाँ निर्वाचनको घोषणा गरिएको छ । नयाँ निर्वाचनको घोषणा हुँदै गर्दा ठूलो संख्यामा युवाको नाम मतदाता नामावलीमा नरहेको आकलन गरेर कानुनमा संशोधन गरेर विशेष व्यवस्था गरिएको उनले बताए । देशैभरका निर्वाचन कार्यालयहरूमा मतदाता नामावली दर्ताको काम भइरहेकाले आफूलाई पायक पर्ने कार्यालय पुगेर नामावली दर्ताको प्रक्रिया पूरा गर्न भण्डारीले आग्रह गरे ।
आयोगका अनुसार गत असार मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गराएकाहरूको संख्या १ करोड ८१ लाख ६८ हजार २ सय ३० छन् । त्यसमा महिला मतदाता ८९ लाख १६ हजार ५ सय २, पुरुष मतदाता ९२ लाख ५१ हजार ५ सय ४१ र अन्य मतदाता १ सय ८७ छन् । अहिले दर्ता भइरहेका नाम थपिएपछि अन्तिम मतदाता नामावाली र संख्या तय हुनेछ । २०७९ को निर्वाचनको समयमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७७ मतदाता कायम थिए ।

मतदाता नामावलीमा दर्ता रहेका व्यक्तिहरूले आफ्नो नामावलीमा रहेका त्रुटि पनि ३० कात्तिकसम्म सच्याउन पाउँछन् । त्रुटि सच्याउने वा एक ठाउँबाट अर्को स्थानमा नामावली सार्ने कार्य पनि यस अवधिमा गर्न पाउने आयोगका सूचना अधिकारी घिमिरेले बताए । नामावली सार्नका लागि सम्बन्धित व्यक्तिले बसाइँ सराइको प्रमाणपत्र पेस गर्नुपर्ने उनले जानकारी दिए ।

छुटाउनुभयो कि ?

आन्दोलनरत मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले बनायो सचिव नेतृत्वको टोली

आन्दोलनरत मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले बनायो सचिव नेतृत्वको टोली

काठमाडौंसरकारले मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले वार्ता टोली बनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रध...
मानसिक स्वास्थ्य र समाधान

मानसिक स्वास्थ्य र समाधान

श्रीराम ज्ञवालीमानिसको जीवनमा शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण मानसिक स्वास्थ्य पनि हो। सामान्य भाषामा बुझ्दा, मनोरोग वा ...
विश्वकप फुटबल: अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा

विश्वकप फुटबल: अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौँअर्जेन्टिनाले अन्तिम पाँच मिनेटमा दुई गोल गर्दै इङ्ग्ल्यान्डमाथि २-१ को रोमाञ्चक जित निकाल्दै विश्वकप फुटबलको फाइनलमा...
मौसम पूर्वानुमान: लुम्बिनी सहित ६ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान: लुम्बिनी सहित ६ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर...