
काठमाडौँ
कोसी प्रदेशका अधिकांश स्थानमा मनसुनी वायु सक्रिय भइसकेको छ भने देशका बाँकी ठाउँमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ।
मौसम पूर्वानुमान महाशाखाले आज शनिबार बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार देशभर विभिन्न स्थानमा पानी पर्ने तथा कोसी र मधेस प्रदेशमा भारी वर्षासमेत हुने सम्भावना छ।
आज दिउँसो: कोसी प्रदेशका केही स्थान, मधेस प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।
आज राति: कोसी प्रदेश र मधेस प्रदेशको केही स्थान तथा बाँकी पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।
मनसुनका कारण कोसी प्रदेशका एक-दुई स्थानमा गएराति पनि भारी वर्षा भइसकेको मौसम महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।
यस्तै केही स्थानमा वर्षा भन्नाले सम्बन्धित भूभागको ५० प्रतिशत, थोरै स्थान भन्नाले २५ देखि ३० प्रतिशत र एक-दुई स्थान भन्नाले २५ प्रतिशतभन्दा कम ठाउँमा वर्षा हुन्छ भनेर बुझ्न सकिने मौसमविद् बताउँछन्।