दुई महिनामा दुई अर्बको गलैंचा निर्यात


काठमाडौँ

चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै करिब २ अर्ब रुपैयाँ बराबरको गलैंचा निर्यात भएको छ । दुई महिनामा १ अर्ब ९९ करोड ९६ लाख रुपैयाँको ७० हजार ९६४ स्क्वायर मिटर गलैंचा निर्यात भएको भन्सार विभागको तथ्यांक छ । रकमका आधारमा यो गत आर्थिक वर्षको दुई महिनाको तुलनामा ५.४ प्रतिशतले बढी रहेको विभागको तथ्यांक छ । 

तर परिमाणका आधारमा भने गलैंचा निर्यात २.९१ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो दुई महिनामा १ अर्ब ८९ करोड ६४ लाख रुपैयाँको ७३ हजार ९७ मिटर गलैंचा निर्यात भएको विभागको तथ्यांक छ ।

सरकारको नीतिका कारण गलैंचा निर्यात घटेको नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघले जनाएको छ ।सरकारले आर्थिक वर्ष ०८०/८१ को बजेटबाट गलैंचाको ऊनी धागो कटाइ, रंगाइ, धुलाइ र बुनाइमा दिँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) छुट खारेज गरेको थियो । सरकारले चालु आर्थिक वर्षको बजेटमा पनि यही व्यवस्थालाई निरन्तरता दिएको छ । नेपाली गलैंचा, ऊनी धागो कटाइ, रंगाइ, धुलाइ र बुनाइमा मूल्य अभिवृद्धि कर ऐन ०५२ देखि पाइरहेको छुट सुविधा सरकारले खारेज गरेको भन्दै उक्त छुट सुविधालाई यथाशीघ्र स्थापित गर्न व्यवसायीले आग्रह गरेका छन् । सरकारले गलैंचाको कच्चापदार्थ ‘ऊन’ मा मूल्य अभिवृद्धि कर र तेस्रो मुलुकमा निर्यात गरी प्राप्त हुने आयमा ५० प्रतिशत छुट व्यवस्था खारेज गरेको थियो ।

सरकारले गलैंचा उद्योगलाई दिँदै आएको छुट सुविधा कटौती गरेपछि निर्यात रकममा ठूलो गिरावट नदेखिए पनि परिमाणमा गिरावट देखिन थालेको संघले जनाएको छ । ‘चालु आर्थिक वर्षको दुई महिनामा पनि परिमाणमा घट्यो, मूल्यमा बढ्यो,’ उनले भने, ‘सरकारको नीतिले गर्दा यस्तो भयो, मूल्य मात्र नभएर निर्यात हुने परिमाण पनि हेर्न जरुरी छ ।’

समग्र आर्थिक वर्षको तुलना गर्दा पनि रकमभन्दा परिमाण धेरै घटेको भन्सार विभागको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष ०७९/८० को तुलनामा आर्थिक वर्ष ०८०/८१ मा गलैंचाको निर्यात परिमाण १५.८५ प्रतिशत र रकम ८.११ प्रतिशतले घटेको छ । ०७९/८० मा ४ लाख ९२ हजार ३३५ स्क्वायर मिटर गलैंचा निर्यात भएको थियो । जब कि आर्थिक वर्ष ०८०/८१ मा ४ लाख १४ हजार २९२ मिटर मात्रै निर्यात भयो ।

सरकारको नीति, माग र आपूर्तिको बेमेल अनि यातायात लगायतको मूल्यवृद्धि हुँदा उत्पादन लागत १० देखि १५ प्रतिशतले वृद्धि भएको संघका महासचिव गुरुङले बताए । उत्पादनको मूल्यवृद्धि हुँदा अन्तर्राष्ट्रिय बजारमा नेपाली गलैंचाको प्रतिस्पर्धी क्षमता गुम्ने खतरासमेत देखिएको महासचिव गुरुङले सुनाए । ‘आयातलाई निरुत्साहित गर्ने भन्ने सरकारले यस्तो व्यवस्था ल्याएर निर्यातलाई निरुत्साहित गर्‍यो,’ उनले भने ।

सरकारको नीतिका कारण नेपाली गलैंचाको उत्पादन लागत बढेको र मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्न कठिनाइ रहेको व्यवसायीहरूले बताउँदै आएका छन् । निर्यात गरेपछि भ्याट फिर्ता हुने भए पनि उत्पादन प्रक्रियाको समय विश्लेषण गर्दा अधिकतम ७ महिना लाग्ने हुँदा उद्योगीहरूको लगानी बढिरहेको छ ।

कोभिड–१९ को प्रभाव, विभिन्न मुलुकमा भइरहेको युद्ध, विश्व अर्थतन्त्रलगायतको प्रभावमा गलैंचा उद्योग परिरहेका बेला सरकारको नीतिले झनै निरुत्साहित बनाएको उद्योगीको भनाइ छ । भारतमा उत्पादन बढ्दो क्रममा र उत्पादन लागत सस्तो छ । तर नेपालमा सरकारको नीतिले झनै महँगो बनाइरहेको छ । त्यसकारण अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादित गलैंचा प्रतिस्पर्धा गर्नै गाह्रो रहेको संघले जनाएको छ ।

धागो कटाइ र बुनाइ गर्ने काम राजधानीमा मात्रै नभई देशका विभिन्न दुर्गम गाउँ–ठाउँमा पठाइने भएकाले भ्याट लागू गर्न कठिनाइ हुने र मूल्य पनि बढ्ने उद्योगीको भनाइ छ । कटिङ गर्न आफ्नै उद्योगमा मात्र सम्भव नभएको समयमा देशका विभिन्न ठाउँमा गर्नुपर्ने भएकाले भ्याट लागू गर्न कठिनाइ हुने उनीहरूले बताए । सरकारका यस नीतिका कारण नेपाली गलैंचा उद्योगले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी क्षमता गुमाएको उद्योगीहरूको दाबी छ ।

भारतमा पनि गलैंचा उद्योगहरूलाई कच्चापदार्थमा भन्सार महसुल र भ्याट छुट, सहुलियतपूर्ण ब्याजदरमा ऋण र १० देखि १७ प्रतिशत नगद अनुदान दिने गरिएको छ । तर नेपालमा सुविधा थप्नुका सट्टा उल्टै हटाइएको उनीहरूको भनाइ छ । गलैंचा निर्यात गरेबापत पाइने नगद अनुदान आर्थिक वर्ष ०७९/८० देखि नपाएको उद्योगीको गुनासो छ ।

सरकारको नीतिका कारण निर्यातजन्य उद्योगलाई प्रत्यक्ष असर पर्न गई निर्यातमा कमी आउने, रोजगारीमा प्रभाव पर्ने साथै विदेशी मुद्रा आर्जनमा कमी आउने र देशको अर्थतन्त्रमा असर पर्ने भएकाले यी सुविधा यथाशीघ्र लागू गर्न उद्योगीहरूले आग्रह गर्दै आएको छ । नेपालमा उत्पादित गलैंचामध्ये ९९ प्रतिशत निर्यात हुने गरेको छ ।

आर्थिक वर्ष ०७९/८० मा ११ अर्ब ५० करोड ६६ लाखको ४ लाख ९२ हजार ३३५ स्क्वायर मिटर गलैंचा निर्यात भएको थियो । ०७८/७९ मा ९ अर्ब ५६ करोड ७७ लाख रुपैयाँको ४ लाख ९४ हजार ८६७ स्क्वायर मिटर तथा आर्थिक वर्ष ०७७/७८ मा ७ अर्ब ९७ करोड ६९ लाख रुपैयाँको गलैंचा निर्यात भएको थियो । आर्थिक वर्ष ०७६/७७ मा ६ अर्ब ६ करोड ८५ लाख रुपैयाँ बराबरको गलैंचा निर्यात भएको थियो । आर्थिक वर्ष ०७५/७६ मा ७ अर्ब २९ करोड ८२ लाख रुपैयाँ बराबरको गलैंचा निर्यात भएको थियो ।

छुटाउनुभयो कि ?

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

काठमाडौंऔषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ प...
बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...